Health TV Online
Health TV Online

गुलरियाका सबै विद्यालयहरुमा सुर्तीजन्य पदार्थ विरुद्धको कार्यक्रम सञ्चालन गछौं : उपमेयर गौतम

गुलरियाका सबै विद्यालयहरुमा सुर्तीजन्य पदार्थ विरुद्धको कार्यक्रम सञ्चालन गछौं : उपमेयर गौतम

हेल्थ टिभी अनलाइन : बर्दिया जिल्लाको गुलरिया नगरपालिकाकी उप मेयर सावित्रा गौतमले आफनो नगरपालिकाका सबै विद्यालयहरुमा सुर्तीजन्य पदार्थ विरुद्धको कार्यक्रम सञ्चालन गर्ने जनाएकी छिन् ।

गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र तथा आउटरिच मिडिया प्रालिले आयोजना गरेको कार्यक्रममा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न विद्यालयहरुमा कार्यक्रम गर्ने बताएकी हुन् । उनले कार्यक्रममा बोल्दै भनिन, ‘विद्यालयका किशोरावस्थाका विद्यार्थीहरु बढी सुर्तीजन्य पदार्थको लतमा परेको देखिन्छ, अब सुरुमा उनीहरुलाई नै सचेत गराउन पर्ने देखिएकाले हामीले यो कार्यक्रम विद्यालयहरुबाट सुरु गर्न खोजेका हौं । यसलाई अभियानकै रुपमा लिएर सशक्त ढंगबाट सुर्तीजन्य पदार्थको हानीबाट हुने क्षति कम गर्न लाग्ने कोशिशमा छौं ।’ उनले यसका लागि विद्यालय व्यवस्थापन, शिक्षक शिक्षिका तथा अन्य सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि बताइन ।

यसैगरी कार्यक्रममा गुलरिया प्रहरी कार्यालयका डीएसपी तुलसीराम अर्यालले गुलरियामा सुर्तीजन्य पदार्थको सेवन अत्यधिक गर्ने पाइएको र यसलाई नियन्त्रण गर्न बेला बेलामा विभिन्न कार्यक्रम गर्ने गरेको समेत जिकीर गरे । उनले प्रहरी कार्यालयमा आउने जोकोहीलाई पनि यदि पान, गुट्खा, सुर्ती खाएको पाएमा उनीहरुलाई त्यो गेटमै फालेर मुख पानीले कुल्ला गरेर मात्र आउन भन्दै सूचना टाँस गरेको र यो केही प्रभावकारी पनि देखिएको बताए । उनले जिल्ला प्रशासन , स्थानीय निकाय सबै मिलेर सुर्तीजन्य पदार्थको सेवन नियन्त्रण गर्न लागेमा प्रहरी सधैं साथमा रहेको भन्दै सबैको तदारुकता आवश्यक रहेको जिकीर गरे ।

यसैगरी कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गुलरियाका प्रशासकीय अधिकृत राजेश यादवले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन कार्यान्वन गर्न गरिनुपर्ने नियमन हुन नसकेको भन्दै नगरपालिकालाई बेला बेलामा अनुगमन गर्न आग्रह समेत गरे । अनुगमनबाट व्यापारी र सेवनकर्ता सचेत हुने भन्दै यसको तिब्रता बढाउन नगरपालिकालाई आग्रह गरे ।

विभिन्न सरोकारवाला निकाय तथा  सञ्चारकर्मीको समेत उपस्थिती रहेको कार्यक्रममा स्वास्थ्य पत्रकार तथा आउटरिच मिडिया प्रालिकी निर्देशक कल्पना आचार्यले नेपालमा सुर्तीजन्य पदार्थ सम्बन्धी कानून र यसको कार्यान्वयन पक्षका बारेमा प्रस्तुती दिएकी थिइन ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार