क्यान्सरको उपचारमा ‘प्यालिएटिभ केयर’

हेल्थ टिभी अनलाइन : क्यान्सर उपचारमा ‘प्यालिएटिभ केयर’को महत्त्वपूर्ण भूमिका हुन्छ। प्यालिएटिभ केयर भन्नाले बिरामीलाई हुने असजिलोपना, दुखाइ, पीडा आदिबाट मुक्त वा कम गराउनु हो। बिरामीको रोगसँगै आउने समस्यालाई कम गराउँदै जानु हो।
क्यान्सरका बिरामीको उपचार शुरु भएदेखि नै प्यालिएटिभ केयरको आवश्यकता पर्दछ । तर रोगले थलिएर अन्तिम अवस्थामा पुगेका बिरामीका लागि यो अनिवार्य केयर हो। क्यान्सरको उपचारमा दिइने केमोथेरापी, रेडियोथेरापीका कारण ‘साइड इफेक्ट’का रूपमा थुप्रै समस्या आउन सक्छन्। यसलाई कम गर्न सहज बनाउन पनि यो केयरको आवश्यकता पर्छ।
दीर्घकालीन रोग लागेपछि बिरामीलाई अनेक किसिमका तनावले सताउँछ। यसले उनीहरू मानसिक रूपमा पनि कमजोर बन्न पुग्छन्। उनीहरू ‘दीर्घरोग लाग्यो अब मरिहालिन्छ’ भन्ने सोचेर झनै कमजोर बन्न पुग्छन्। यो अवस्थामा उनीहरूलाई मनोसामाजिक परामर्श समेत आवश्यकता पर्छ। प्यालिएटिभ केयरमा उनीहरुलाई परामर्श समेत दिने गरिन्छ।
बिरामीको शारीरिक, मानसिक र सामाजिक रूपमा अवस्थामा हेरविचार गरी गुणस्तरमा सुधार ल्याउनु नै प्यालिएटिभ केयरको मुख्य उद्देश्य हो। क्यान्सर अन्तिम अवस्थामा पुग्दा बिरामीमा दुखाइ, पीडा, तनाव, चिन्ता, थकाइ, बान्ता र अनिन्द्रा जस्ता समस्याले सताउने गर्छ। यस्ता लक्षणका आधारमा औषधि दिने र जीवन सहज बनाउने काम प्यालिएटिभ केयरमा गरिन्छ।
बिरामी जति दिन बाँच्छन त्यसमा सहज बनाइदिन जरुरी हुन्छ । उनीहरुको रोगले गाँजेको जीवनलाई सहज बनाउने काम यस सेवामा पर्दछ । प्यालिएटिभ केयरमा बिरामीको इच्छालाई प्राथमिकता दिइन्छ । क्यान्सरको अन्तिम ‘स्टेज’मा पुगे बिरामी यस्ता बिरामी धेरै नबाँच्ने हुनाले जति बाँच्छन् उनीहरुकै इच्छा बमोजिम सहज तरिकाले बाँच्न दिइन्छ।
बिरामीको मृत्यु नजिकिंदै गर्दा पीडा बढी हुँदै जान्छ र यस्तो अवस्थामा बिरामीलाई स्वास्थ्यको ख्याल गर्दै सेवा दिइन्छ । यो केयरले अन्तिम अवस्थामा जीवनलाई जति सक्दो राम्रोसँग जिउन र मृत्युको सहजतामा मद्दत पुर्याउँछ।
बिरामीका यी असहजता र अप्ठ्याराहरूको उपचार गर्ने विधि नै प्यालिएटिभ केयर हो। यो केयर अस्पतालमा मात्र होइन बिरामीको घरमै गएर पनि दिने गरिन्छ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्