ड्रग रेसिस्टेन्ट क्षयरोग : क्षयरोग अन्त्यमा ठूलो चूनौती बन्दै

हेल्थ टिभी अनलाइन : क्षयरोग अन्त्यका लागि औषधिले नछुने अर्थात् औषधि प्रतिरोधी क्षयरोग (ड्रग रेसिस्टेन्स टीबी) ‘डीआर टीबी’ ठूलो चूनौती बन्दै गएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । क्षयरोगमा काम गर्ने अन्तराष्ट्रिय संस्था स्टप टीबी पार्टनरशिपले आयोजना गरेको वेभिनारमा विज्ञहरुले यस्तो बताएका हुन् ।
वेभिनारमा बोल्दै स्टप टीबी पार्टनरशिपकी कार्यकारी निर्देशक डा लुचिका डुटीले क्षयरोगको उपचारमा अहिले ब्याक्टेरियामा औषधि विरुद्ध प्रतिरोधक क्षमता विकास हुनु ठूलो चुनौती भएको बताइन । उनले क्षयरोगमा देखिएको यो चुनौती कम गर्न राजनैतिक प्रतिवद्धतासँगै लगानी पनि बढाउनुपर्नेमा जोड दिइन । उनले आगामी सेप्टेम्बरमा हुने यूएन हाइ लेबल मिटिङमा राजनैतिक प्रतिवद्धतासहितको घोषणापत्र आउनुपर्ने जनाइन ।
यसैगरी पार्टनरशिपकै सह निर्देशक डा सुभानन्द साहुले एन्टी माइक्रोबियल रेसिस्टेन्सबाट मृत्यु हुनेमा क्षयरोगका बिरामी अर्थात डीआर टीबीका बिरामी प्रमुख भएको अध्ययनले देखाएको बताए । उनले सन् २०२२ मा एन्टी माइक्रोबियल रेसिस्टेन्सबाट ४ लाख १० हजारमा डीआर टीबी विकास भएकोमा तीमध्ये १ लाख ६० हजारको मृत्यु भएको पनि जानकारी दिए । उनले यो संख्या निकै ठूलो भएको भन्दै यसको रोकथामका लागि धेरै काम गर्नुपर्नेमा जोड दिए ।
यसैगरी कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा टेरेजाले डीआर टीबी मानिसले ले बनाएको महामारी भएको भन्दै यसबारे निकै जनचेतना जगाउन आवश्यक रहेको जनाइन । उनले क्षयरोगमा प्रयोग हुने औषधिको प्रयोगमा लापरवाही तथा ओभर युजका कारण ब्याक्टेरिया औषधिभन्दा बलियो भएर कामै गर्न छोडेको बताइन । औषधिले काम गर्न छोडेपछि कडा औषधि चलाउनुपर्ने त हुन्छ नै समय धेरै लाग्ने र निको नहुने सम्भावना पनि बढी हुन्छ । डीआर टीबीमा मृत्युदर पनि बढी देखिएको छ ।
नेपालमा पनि डीआर टीबी ठूलो चूनौती बनेको छ । डीआर टीबीका नयाँ बिरामी वार्षिक २ हजार ९ सय जनाको दरले थपिएको तथ्यांक छ । उनीहरुको उपचार असाध्यै जटिल र महंगो हुने गर्छ । यसैगरी २ हजार जति डीआर टीबीका बिरामी उपचारभन्दा बाहिर छन् । उनीहरु पनि अर्को चुनौती हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार एन्टी माइक्रोबियल रेसिस्टेन्स विश्वमा १० ठूला स्वास्थ्य चुनौतीमध्येमा पर्छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्