काठमाडौं महानगरका वडाहरुमा आजदेखि नि:शुल्क क्यान्सर परीक्षण शिविर

हेल्थ टिभी अनलाइन : काठमाडौं महानगरपालिकाले मंगलबारदेखि महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर तथा प्रजनन अस्वस्थताको परीक्षण सुरु गरेको छ । कार्यक्रमको पहिलो दिन मंगलबार राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य जाँच गरेर यो शिविरको आरम्भ गरिएको हो । महानगरपालिकाका शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी यो शिविर सञ्चालन हुने महानगरले जनाएको छ ।
कार्यक्रम थालनी गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सुरुवाती अवस्थामै क्यान्सर पहिचान गर्न सके रोकथामको सम्भावना रहने भएकोले महानगरपालिकाले आयोजना गर्ने वडास्तरीय निःशुल्क शिविरमा आएर स्वास्थ्य जाँच गराउन आव्हान गरिन् । उनले भनिन, हामी चाहन्छौं कसैले पनि कुनै उपचार नै सम्भव नहुने अवस्थामा क्यान्सरसँग जुध्न नपरोस् । सुरुमै पत्ता लगाएर उपचार गर्न सकियोस र रोग भए नभएको पत्ता पनि लागोस भने हामीले प्रजनन उमेरका महिलाहरुमा क्यान्सर जाँचको शिविर राखेका हौं । यसमा सबैको सहभागितको अपेक्षा गरेका छौं । उनले थपिन, ‘अहिलेको सानो प्रयासले उपचारमा लाग्ने खर्च र पारिवारिक तनाव घटाउन सक्छौं की भन्ने हाम्रो प्रयास हो । यसकारण प्रजनन उमेरका महिलाहरुलाई आफ्नो वडामा हुने शिविरमा गएर जाँच गराउन अनुरोध गर्न चाहन्छु । यो परीक्षण रोगका लक्षण देखिएपछि डाक्टरकोमा जाने खालको होइन । प्रजनन उमेरका सबै महिलाले यो विषयलाई हेलचेक्र्याइँ गर्नु हुँदैन ।’
शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने पनि महानगरपालिकाले जनाएको छ ।
आज बुधबारदेखि वडास्तरीय निःशुल्क क्यान्सर परीक्षण शिविर सुरु भएको छ । यस क्रममा वडा नं ३१ भीमसेनगोलामा बुधबार र विहीबार गरी २ दिन शिविर चल्नेछ । ७ गते शुक्रबार, ९ गते आइतबार र १० गते सोमबार इनबहालमा वडा नं २५ र २७ को संयुक्त शिविर हुनेछ । ११ गते मंगलबार र १२ गते बुधबार वडा नं ३ महाराजगञ्जमा हुनेछ । १४ गते शुक्रबार वडा नं २६ लैनचौरमा, १६ गते आइतबार वडा नं २० भीमसेनस्थानमा, १७ गते सोमबार, वडा नं २१ यंगालमा, १८ गते मंगलबार वडा नं २३ ओमवहालमा शिविर हुनेछ ।
यसैगरी वैशाख २० गते बिहीबार र २१ गते शुक्रबार वडा नं। १५ मा, २४ गते सोमबार वडा नं। २ लाजिम्पाटमा, २५ गते मंगलबार वडा नं २४ मखनमा, २६ गते बुधबार वडा नं। २२ टेवहालमा, २७ गते बिहीबार वडा नं १८ नरदेवीमा, २८ गते शुक्रबार वडा नं १९ कंकेश्वरीमा, ३० गते आइतबार र ३१ गते सोमबार वडा नं ३२ पाल्पाकोट छाप्रे कोटेश्वरमा शिविर हुने तालिका छ । महानगरले जेठ महिनामा हुने शिविरको जानकारी अर्को सूचना मार्फत जानकारी दिने पनि जनाएको छ ।
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्