Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रायोजन गर्न नपाइने कानून मिचेर ‘नेपाल लिट्रेचर फेस्टिभल’मा आफनो ब्राण्डिङ गर्दै सूर्य टोबाको

पूर्व प्रधानन्यायाधीश, मन्त्री, सांसदहरु नै गुमराहमा

प्रायोजन गर्न नपाइने कानून मिचेर ‘नेपाल लिट्रेचर फेस्टिभल’मा आफनो ब्राण्डिङ गर्दै सूर्य टोबाको

हेल्थ टिभी अनलाइन : सूर्तिजन्य पदार्थको प्रचारप्रसार, विज्ञापन तथा प्रायोजन गर्न नपाइने कानून देशमा हुँदाहुँदै सूर्य नेपालले पोखरामा हुन लागेको नेपाल लिट्रेचर फेस्टिभल २०२४ मा स्पोन्सर मात्र गरेको छैन् जताततै आफनो लोगो प्रयोग गरेर चुरोट कम्पनीको ब्राण्डिङ गरेको पाइएको छ । फागुन ३ देखि ७ गतेसम्म सम्म पोखरामा हुन लागेको नेपाल लिट्रेचर फेस्टिभलको नाम नै ‘सुर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल २०२४’ राखिएको छ । जुन सरासर नेपालको सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐनको दफा नं १० विपरित  छ ।

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ को दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने भनेर स्पष्ट उल्लेख छ । जहाँ भनिएको छ, ‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।’ यहाँ अन्तरक्रिया कार्यक्रम भनेर स्पष्ट उल्लेख भएका, लोगो र चिह्न वा संकेत समेत प्रयोग गर्न रोक लगाइएको स्पष्ट रुपमा उल्लेख छ ।

प्रायोजन शब्दलाई सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ ले अझ प्रष्ट पारेको छ । जहाँ भनिएको छ, “प्रायोजन” भन्नाले सूर्तिजन्य पदार्थको उत्पादन, आयात, बिक्रीवितरण तथा सेवन कार्यलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले प्रबद्र्धन एवं विज्ञापन हुने गरी कुनै गतिबिधि, क्रियाकलाप वा कार्यक्रम संचालन गर्नु वा व्यक्तिगत रुपबाट त्यस्तो गतिबिधिलाई सकारात्मक योगदान पुर्याउने कार्य सम्झनु पर्छ ।

जनस्वास्थ्यका लागि हानिकारक वस्तु उत्पादकलाई संस्थागत सामाजिक उत्तरदायित्वका नाममा काम गर्न समेत रोक लगाइएको छ। कसैले पनि उत्पादक लगायतले प्रदान गर्ने आर्थिक, भौतिक र संरचनागत सहयोग ग्रहण गर्न पाउनेछैन र उत्पादक लगायतले पनि यस्तो सहयोग गर्न पाउने छैन् ।’

यी माथिका कानूनमा स्पष्ट रुपमा व्यवस्था भए पनि सूर्य नेपालले उच्च पदस्थ प्यक्तिहरुको फोटोसहित आफनो प्रायोजनको कार्यक्रम अघि सारिरहेको छ । लिटरेचर फेस्टिभलमा उक्त कानूनको कार्यान्वयनको उच्च पद सर्वाेच्च अदालतका प्रधानन्यायाधीश समेत बनिसकेका कल्याण श्रेष्ठ पनि सहभागी हुने भन्दै प्रचार गरिएको छ । यो कार्यक्रमको प्रायोजक सुर्य नेपाल प्रालिले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ बिरुद्ध दायर गरेको मुद्दामा सूर्तीजन्य उद्योगको स्वास्थ्य भन्दा नेपाली जनताकोे स्वास्थ्य ठूलो हो भन्दै जनस्वास्थ्यका विषयमा संसारकै उत्कृष्ट फैसला गरेका सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई गुमराहमा राखी प्रचार गरिनु आफैंमा अनौठो विषय बनेको छ । कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ मात्रै नभइ कानुन निर्माता र कार्यान्वयनकर्ताको समेत उपस्थिति हुने भनिएको छ ।

यस विषयमा हेल्थ टिभी अनलाइनले पूर्व प्रधानन्यायाधीश श्रेष्ठसँग कुराकानी गर्दा उनले आफूलाई नेपाल लिट्रेचर फेस्टिभलको सहभागिका लागि निम्तो आएको र सो स्विकार गरेको तर सूर्य नेपाल प्रायोजक भएको भन्ने थाहा नभएको बताए । उनले देशको कानून सबैले मान्नुपर्ने भन्दै उक्त कार्यक्रममा जाने नजाने निर्णय अहिले नै भन्न नसक्ने बताए ।

प्रचारमा आए अनुसार अर्थमन्त्री डा प्रकाशशरण महत, सांसद एवं अर्थशास्त्री डा स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृङ्खला खतिवडा, पूर्व अर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डे, नेता सीके राउत, लेखक खगेन्द्र संग्रौला, प्राडा. कुन्दन अर्याल, पत्रकार विजय कुमार, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवं उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल, पूर्व बैंकर अनिलकेशरी शाह, प्रा. कुसुम शाक्य, नेत्री समीक्षा बास्कोटालगायत सहभागी हुनेछन् ।

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ अनुसार सार्वजनिक निकायका पदाधिकारीहरुलाई सूर्ति उद्योगबाट प्रदान गरिने कुनै पनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सूर्ति उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सूर्ति उद्योगको सहयोगमा वा सूर्ति उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन।’

यसैगरी दफा २४ मा सार्वजनिक निकायका पदाधिकारीहरुको आचरणका विषयमा प्रस्ट पारिएको छ । जहाँ सार्वजनिक निकायका पदाधिकारीहरुले सूर्ति उद्योगको कुनै पनि क्रियाकलापमा सहभागिता जनाउनु नहुने, सार्वजनिक निकायका पदाधिकारीले सूर्तिजन्य पदार्थ वा सो सेवन गरेको दृष्यलाई कुनै पनि संचार माध्यम वा तरिकाबाट प्रकाशन, प्रशारण र प्रदर्शन गर्नु गराउन नहुन र सार्वजनिक निकायका पदाधिकारीले सूर्ति उद्योगसंग सम्बन्धित व्यक्तिहरुसंग सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी विषयहरुमा अन्तरक्रिया वा बैठक वा संचार गर्दा पादरर्शी तवरबाट दुई भन्दा बढी व्यक्ति वा संचार माध्यमका प्रतिनिधिहरुको सहभागितामा मात्र गर्नु पर्ने उल्लेख छ ।

यहीवीच सुर्तीजन्य पदार्थ विरुद्धको अभियानका काम गर्दै आएको एक्सन नेपालले आयोजक संस्था बुकवर्म फाउन्डेसनलाई देशको कानून विपरित कार्यक्रम नगर्न तथा सार्वजनिक निकायका व्यक्ति लेखक, साहियत्कार कानून निर्माता तथा सरोकारवालाई यस्ता कार्यक्रमलाई साथ नदिन ध्यानाकर्षण गराएको छ ।

स्मरण रहोस, धूम्रपान तथा सूर्तिसेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक छन् । यसको सेवनले नेपालमा हरेक वर्ष ३७ हजार पाँच सय व्यक्तिको अल्पआयुमै मृत्यु हुन्छ । जुन नेपालमा हुने कुल मृत्युको झण्डै १९.४% हो । सन् २०१९ मा स्वास्थ्य मन्त्रालयले गरेको सर्वेक्षण अनुसार हाल नेपालमा कुल जनसंख्याको झण्डै २९% मानिस धूम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्दछन् । त्यस्तै एक्सन नेपालले हालसालै गरेको सूर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान तथा उपचार सेवामा आउने बिरामीको आर्थिक भार सम्बन्धी अध्ययनले १६% बिरामीले उपचारका लागि आफ्नो घरखेत बेच्ने गरेको देखाएको छ । यी रोगहरुबाट बचाउन सरकारले सूर्तिजन्य पदार्थको सेवन न्युनिकरण, नियन्त्रण तथा नियमन गरी सर्वसाधारण जनताको स्वास्थ्य र आर्थिक हितको अभिवृद्धि गर्न सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८, नियमावली २०६८ तथा निर्देशिका २०७१ समेत ल्याई कार्यान्वयनमा समेत आइसकेको छ ।

 

थप समाचार