Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘क्षयरोगमुक्त नेपाल अभियान’ लाई शसक्त बनाइँदै

पालिकास्तरीय अभियान २५ बाट १२५ पुर्‍याइयो

‘क्षयरोगमुक्त नेपाल अभियान’ लाई शसक्त बनाइँदै

हेल्थ टिभी अनलाइन : नेपालमा क्षयरोग अन्त्यका लागि यसविरुद्धको कार्यक्रमलाई शसक्त ढंगबाट अघि बढाइँदैछ । सरकारको क्षयरोगमुक्त नेपाल नामक अभियानलाई देशव्यापी बनाउँदै क्षयरोगका बिरामी पत्ता लगाउने र उपचारमा ल्याउने कार्य तीब्र गतिमा रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले जानकारी दिए । उनले भने, ‘नेपालले अन्तराष्ट्रिय रुपमा सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने र सन् २०५० सम्म क्षयरोग उन्मुलन गर्ने प्रतिवद्धता गरे बमोजिम सो लक्ष्य हासिल गर्नका लागि विभिन्न गतिविधिहरु अघि सारेका छौं । त्यो मध्ये सरकारको उच्च प्राथमिकतामा परेको क्षयरोगमुक्त नेपाल अभियान एक हो । यो अभियानलाई हामी अब क्रमस ७५३ स्थानीय निकायमा लैजाँदैछौं । पहिलो चरणमा २५ वटा स्थानीय निकायमा यो कार्यक्रम थियो भने अहिले दोस्रो चरणमा सय स्थानीय थप गरी १२५ स्थानीय तहसम्म यो कार्यक्रम पुराएका छौं ।’

दोस्रो चरणको कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गत शुक्रबार सिन्धुपाल्चोकको चौताराबाट गरेका थिए । योसमेत गरी क्षयरोगमुक्त नेपाल अभियान अब ६६ जिल्लाका १ सय २५ स्थानीय तहमा बिस्तार भएको छ।

उनले यो कार्यक्रम अबको केही वर्षमै ७५३ वटै स्थानीय निकायसम्म पुराउने लक्ष्य रहेको पनि जानकारी दिए । यसरी अभियानका लागि स्थानीय तह तोक्दा क्षयरोगको भार बढी भएका प्रदेशमा बढी केन्द्रित भएर कार्यक्रम तय गरिएको पनि उनले जानकारी दिए । नेपालमा सबैभन्दा बढी क्षयरोग मधेश प्रदेशमा रहेको तथ्यांक छ भने दोस्रोमा बागमती र तेस्रोमा लुम्बिनी प्रदेश रहेको छ ।

डा श्रेष्ठका अनुसार यसरी स्थानीय निकायलाई बजेट र जिम्मेवारी दिंदा स्थानीय तहमा लुकेर बसेका क्षयरोगका बिरामी पत्ता लगाउन सजिलो हुनेछ । उनले भने, ‘बजेट, तालिम र गाइडलाइन्स हामीले उहाँहरुलाई केन्द्रबाट पठाउने हो अरु सबै कार्य उहाँहरु आफैले गर्नुहुन्छ । आफनो पालिका क्षयरोगमुक्त बनाउन उहाँहरु नै लाग्नु हुन्छ यसले सरकारको क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्यमा निकै सहयोगी सिद्ध हुने अपेक्षा गरिएको छ ।’

नेपालमा प्रत्येक वर्ष ६९ हजार नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक छ । तर यीमध्ये ३७ हजार ३५३ जना मात्र उपचारको दायरामा आएका छन्। ३१ हजार ६४७ जना भने उपचार बाहिर रहेका छन् । अर्थात उनीहरु सरकारको क्षयरोग नियन्त्रण कार्यक्रमबाट बाहिर छन् । नि शुल्क निदान र उपचार गर्दा पनि यति ठूलो संख्यामा बिरामी उपचारमा नआउनु नै नेपालको क्षयरोग नियन्त्रणको ठूलो चुनौतीका रुपमा रहेको छ । यो चुनौतीलाई अब स्थानीय निकायले नियमित शिविर गरेर आफनो वरपर भएका र लुकेर बसेका क्षयरोगी पत्ता लगाउन सक्ने र केही वर्ष केस बढ्ने सम्भावना बढेको पनि डा श्रेष्ठले जानकारी दिए । उनले भने अब एक दुई वर्ष केस बढ्नसक्छ सबै उपचारमा आउन थालेपछि यो क्रम फेरि घट्नेछ ।

यसका साथै डा श्रेष्ठले यो आर्थिक वर्षमा केही जीन एक्सपर्ट र एक्सरे मेशिन खरिद गर्ने योजना रहेको समेत जिकीर गरे । ‘केही मेशिनहरु त एक महिनाभित्रै आउने र स्थानीय तहमा हस्तान्तरण गर्ने कार्यक्रम पनि छ,  उनले भने । यसरी हामी यो वर्षदेखि अलि आक्रामक रुपमै क्षयरोगमुक्त नेपालका लागि काम गर्न तयार भएका छौं । यसरी बढी नै केन्द्रित भएर काम गरिएन भने क्षयरोगलाई तोकिएको समयमा अन्त्य गर्न असम्भव पनि छ ।’ तीनै तहका सरकार र समुदायको समन्यवय र प्रयासमा क्षयरोग अन्त्य गर्न सजिलो हुने उनको भनाई छ ।

नेपालमा क्षयरोग अझै पनि एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाको कारण लाग्ने सरूवा रोग हो। उक्त जीवाणुबाट प्रभावित मानिसले खोक्दा वा हाछ्युँ गर्दा निस्किने स साना कणबाट अन्य व्यक्तिमा सजिलै सर्ने हुन्छ । नेपालमा क्षयरोगको निदान तथा उपचार पूर्ण रुपमा नि:शुल्क रहेको छ ।

 

थप समाचार