‘महिला माथि हुने हिंसाले मानसिक स्वास्थ्य समस्या बढ्दो’

हेल्थ टिभी अनलाइन \काठमाडौं : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले महिला माथि हुने सबै खालका हिंसाले महिलामा कुनै न कुनै मानसिक समस्या सिर्जना गरिरहेको भन्दै यसलाई रोक्न सबै लाग्नुपर्ने बताए । उनले मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्नुमा एउटा कारण महिलामाथि हुने हिंसा पनि रहेको भन्दै यसमा गम्भीर भएर लाग्नुपर्ने बेला आएको जिकीर गरे ।
शुक्रबार सञ्चारिका समूह र कोशिश नेपालको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा मन्त्री आचार्यले महिलाले सहनु परेको हिंसाले मानसिक समस्या ल्याउने र पहिले नै मानसिक समस्या भएका महिलामा हिंसा हुने सम्भावना बढी हुने देखिएको समेत बताए ।उनले महिला माथि हुने हिंसा कम गर्नका लािग विभिन्न नीति तथा रणनितीहरु भए पनि व्यवहारमा अझै पनि त्यसलाई लागू गर्न नसकिएको भन्दै यसमा सबैमा व्यापक सचेतना आवश्यक रहेको जिकीर गरे ।
कार्यक्रममा मनोचिकित्सक डा अरबिन्द भुसालले मानसिक समस्या भएका हिंसामा परेका महिलाहरुमा डराउने, तर्सिने, खुलेर कुरा नगर्ने जस्ता समस्या देखिने बताउँदै उनीहरुले आफनो कुरा भन्न पनि नसक्ने अन्य शारीरिक समस्याका लक्षणहरु समेत लिएर आउने बताए । उनले मानसिक समस्याको पनि उपचार गरेर निको हुन्छ भन्ने धेरैमा अझै पनि जानकारी नै नभएको बताए ।
यसैगरी कार्यक्रममा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका कोशिश नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले हिंसामा परेका महिलामा विभिन्न खालका समस्याहरु देखिने हुँदा उनीहरुलाई तुरुन्तको उपचारले मात्र निको गराएर नपुग्ने भन्दै उनीहरुको पुनस्र्थापनामा पनि ध्यान दिन आवश्यक रहेको बताए । सरकारले नै यसको जिम्मेवारी लिनुपर्ने उनको भनाई थियो ।
यसैगरी कार्यक्रममा स्वास्थ्य पत्रकार कल्पना आचार्यले मानसिक स्वास्थ्यको समस्या विकराल भए पनि यो विषय अझै पनि सरकारको प्राथमिकतामा पर्न नसकेको बताइन्। उनले मानसिक स्वास्थ्यका विषयमा बहस, छलफल नै कम भएकाले मिडियामा पनि यी विषय कम आउने गरेको जिकीर गरिन ।
कार्यक्रममा ललितपुर जिल्ला प्रहरीका प्रहरी उपनिरीक्षक नवराज कार्कीले हिंसामा परेर उजुरी गर्न आउनेमा विभिन्न खालका मानसिक समस्या देखिने गरेको पाएको बताए । उनले आफूहरुले त्यस्ता महिलाका लागि छुट्टै महिला प्रहरी खटाएर उनीहरुको कुरा सुन्ने गरेको बताए ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला मानसिक स्वास्थ्यका कारण पनि महिलामाथि हिंसा हुनसक्छ र यसलाई रोक्न जरुरी छ भन्दै उक्त कार्यक्रम गरिएको हो । कार्यक्रम सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाको अध्यक्षतामा भएको थियो ।
,
,
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै