मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
हेल्थ टिभी अनलाइन : नेपाल मेडिसिटी अस्पतालमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण गरिएको छ । पोखरा निवासी ५६ वर्षिय ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई उनका २६ वर्षिय छोरा आयुष कार्कीले कलेजो दान गरेका हुन् । उनीहरुको प्रत्यारोपण जेठ ८ गते सम्पन्न भएको हो ।
कलेजो प्रत्यारोपण संसारकै जटिल प्रत्यारोपण मध्ये एक पर्दछ भने निकै ठूलो मल्टिडिसिप्लिनरी टोलीको आवश्यकता पर्दछ । प्रत्यारोपण गर्दा कलेजो दाता (डोनर) को झण्डै ९ घण्टा र कलेजो प्राप्तकर्ता (रिसिभर) को १३ घण्टा लागेको अस्पतालले जनाएको छ । भारतको अमृता अस्पतालसँग सहकार्य गरी नेपाल मेडिसिटीका चिकित्सकहरुको नेतृत्वमा प्रत्यारोपण गरिएको हो ।
कलेजो दाता आयुष कार्कीले आफूहरु दुईपटक भारत गएको र नेपालमै उपचार गर्दा सजिलो हुने भएकाले पुन नेपालमै आएर यहाँ प्रत्यारोपण गरेको बताए । उनले भने, ‘नेपालमै सम्भव हुने उपचारका लागि हामी भारत धाउन पर्यो । यदि पहिले नै यहाँ परामर्श लिएको भए हाम्रो समय र पैसा दुबै खर्च हुने थिएन ।’
‘नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण पहिलो पटक भएको छ । हामीसँग मल्टिडिसिप्लिनरी टिम भएका कारण जटिल शल्यक्रिया सम्भव भएको हो,’अस्पतालका अध्यक्ष डा. उपेन्द्र महत्तोले बताए । ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा. उमिद कुमार श्रेष्ठका अनुसार बिरामीको कलेजो तथा मिर्गौला दुबै बिग्रिसकेको थियो । निकै जटिल स्वास्थ्य अवस्थामा रहेका उनको सफल कलेजो प्रत्यारोपण गरिएको छ ।
कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार देखिएको छ । कलेजो प्रत्यारोपण सर्जन डा.रामबाबु साहले बिरामीमा निकै चुनौतीका बावजुद प्रत्यारोपण गरिएको र सफल भएको बताए ।
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य