स्वास्थ्य मन्त्रालयद्धारा सातवटा अस्पताल अनुगमन, अधिकांशमा जनशक्तिको अभाव

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ । सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले अनुगमन गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पताल व्यवस्थित गर्नका लागि मन्त्रालयले अनुगमन गरेको बताए । अनुगमन टोलीले अस्पतालको जिन्सी अभिलेख व्यवस्थापन, औषधि उपकरणको अभिलेख, खरिद योजना तथा एक वर्षभित्रको खरिदको अभिलेख, औषधि मौज्दात विवरण, आपूर्ति व्यवस्थापन, औषधि तथा उपकरणको अद्यावधिक विवरणको अनुगमन गरेको थियो ।
उपत्यकामा रहेका वीर अस्पताल, कान्ति बाल अस्पताल, शहिद गंगालाल ह्दय केन्द्र, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भक्तपुर क्यान्सर अस्पताल र मानसिक अस्पताल पाटनमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा अधिकांश अस्पतालमा जनशक्तिको अभाव रहेको पाइएको थियो । सबै अस्पतालमा मौज्दात स्वास्थ्य सामाग्रीको लिपिबद्ध नगरेको, खरिद योजना नगरेको, औषधि भण्डारणको व्यवस्थापन नभएको पाइएको थियो । चालु आर्थिक वर्षको योजना नभएको, कति औषधि तथा उपकरण खरिद गरेको र कति बाँकी छ भन्ने एकिन नभएको पाइएको थियो । गंगालाल अस्पतालमा मौज्दात औषधि नभएको पाइएको थियो । फोहोरमैला व्यवस्थापन राम्रो नभएको , खरिदको योजना नभएको, महामारी संक्रामक रोग सम्बन्धि अस्पताल भएपनि आकस्मिक रुपमा महामारी फैलदा त्यसको व्यवस्थापन गर्ने तयारी नभएको पाइएको थियो ।
वीर अस्पतालको उपचार सेवामा सुधार देखिएको, विरामीको संख्या बढेको, शैया संख्या बढेको पाइए पनि त्यहाँको मेडिकल स्टोर, जनरल स्टोर, फार्मेसी अस्तव्यस्त पाइएको छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले मेडिकल स्टोर र फार्मेसी अस्तव्यस्त भएको स्विकार्दै बजेट अभावले मेडिकल स्टोरमा चाहिएको सामान किन्न नसकिएको र फार्मेसीमा जनशक्ति अभावले व्यवस्थित हुन नसेकेको बताएका थिए ।
सातवटै अनुगमन टोलीले आफुहरुले अनुगमनका क्रममा देखेका समस्याका बिषयमा स्वास्थ्य मन्त्री बस्नेतलाई रिपोर्ट गरेका थिए । अनुगमन टोलीको अध्ययन प्रतिवेदन सुनिसकेपछि मन्त्री बस्नेतले सात वटै केन्द्रिय अस्पतालहरुलाई कमि कमजोरी सुधार गर्न निर्देशन सहितको पत्र तयार पारेर सबै अस्पताललाई पठाउन र तोकिएको समय सिमाभित्र पनि सुधार नगरे कडा कारवाही गरिने बताए ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल