क्षयरोग अन्त्य गर्न पहिले क्षयरोगीको सही निदान हुन आवश्यक छ
एक घण्टामै क्षयरोग भए -नभएको पत्ता लगाउने ट्रुनट टेस्ट

हेल्थ टिभी अनलाइन : क्षयरोग माइकोव्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणुवाट अत्यन्त छिटो सर्ने सरुवा रोग हो। यो रोग श्वासप्रस्वासको माध्यमबाट सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । नेपालमा क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ। यसले वर्षेनी हजारौंको ज्यान लिने भए पनि समयमै सही निदान र पूरा अवधिसम्म उपचार पाएमा निको हुने रोग हो। नेपालमा मृत्युको प्रमुख कारणमध्येमा क्षयरोग पनि पर्छ ।
क्षयरोगका किटाणुले जुनसुकै उमेरका व्यक्तिलाई र रोगसँग लड्ने क्षमता कम भएकालाई सजिलै आक्रमण गर्दछ। क्षयरोग लागेका विरामीको इम्युनिटी पावर कम हुने भएकाले उनीहरुलाई एचआईभीबाट सजिलै संक्रमण हुन सक्छ। साथै अन्य रोगहरुले पनि आक्रमण गर्ने हुन्छ । जसले गर्दा बिरामीलाई गाह्रो हुनुकासाथै अकालमा मृत्युसमेत हुने हुन्छ ।
नेपाल सरकारले २०७५ \७६ मा पहिलो पटक गरेको क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणको नतिजाले नेपालमा वार्षिक ६९ हजार नयाँ क्षयरोगी थपिने देखाएको थियो। अहिले पनि त्यही हाराहारीमा बिरामी थपिने गरेका छन् । यसैगरी प्रत्येक वर्ष रोग पहिचान भएर पनि ४० प्रतिशत बिरामीलाई उपचारको दायरामा ल्याउन नसकिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ बताउँछन् । उनले भने, क्षयरोग अन्त्यका लागि अहिले हाम्रो ठूलो चुनौती भनेकै रोग बोकेर बसेका तर उपचारमा आउन नसेकका बिरामी नै हुन् । अहिले हाम्रो प्रयास त्यसमा केन्द्रित छ । उनले भने, ‘एक त लक्षण बिना बिरामी मलाई क्षयरोग छ की भनेर आउँदैनन् अर्को कुरा सबै तिर हामीले यसलाई सहज पहुँचमा पुराउन पनि सकेका छैनौं जसले गर्दा बिरामी परीक्षण नै गराउन जाँदैनन् । गएका पनि उपचारमा आउन खोज्दैनन् ।’
शनिबार क्षयरोग लगायतका विभिन्न संक्रामक रोगहरुको परीक्षण गर्ने मेशिनहरु उत्पादन गर्ने कम्पनी मोलबियो डायग्नोस्टिकले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा श्रेष्ठले आफूहरुले अब नेपालमा पनि सहज रुपमा परीक्षण गर्न सकिने मोलिक्युलर परीक्षण ट्रुनट पीसीआर मेशिन मार्फत सम्भावित क्षयरोगीको मास परीक्षण गर्ने योजनामा रहेको जिकीर गरे । मेशिनका बारेमा प्राविधिक तथा अन्य जानकारी दिन मोलबियोले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा मोलबियो डायग्नोस्टिकका ग्लोबल सेल्स एण्ड मार्केटिङका प्रेसिडेन्ट सुमित मित्राले ट्रुनट टेस्ट पीसीआर मेशिनबाट क्षयरोग भए नभएको एक घण्टामै पत्ता लाग्ने र यसका लागि छुट्टै ल्याबको सेटअप नचाहिने बताएका थिए । ट्रुनट उपकरण विश्व स्वास्थ्य संगठनद्धारा मान्यताप्राप्त र सिफारिस गरेको भारतमा बनेको मोलिक्युलर परीक्षण प्रविधि हो । मित्राले नेपाल जस्तो भौगोलिक दृष्टिकोणले जटिला भएको देशमा ट्रुनट असाध्यै उपयोगी हुने बताए । उनका अनुसार यस मेशिन सानो ब्रिफकेसमै राखेर यता उता लान मिल्ने पोर्टेबल भएकाले दूरदराजमा गएर पनि अन द स्पट क्षयरोग परीक्षण गर्न सकिन्छ । साथै यो ब्याट्राीबाट चल्ने भएकाले सबै ठाउँमा बिजुली नै हुनुपर्छ भन्ने पनि छैन् उनले भने ।
मित्राले भने, ‘अहिले नेपालमा जसरी र जुन प्रविधिबाट क्षयरोगको परीक्षण भइरहेको छ त्यो भन्दा सस्तोमा नै यो परीक्षण सम्भव हुन्छ र विश्वस्नीय पनि बढी हुन्छ ।’ ४० देशभन्दा बढीमा यो प्रविधि प्रयोग भइसकेको भन्दै नेपालमा पनि यो प्रविधि क्षयरोगी पत्ता लगाएर उपचारमा ल्याउन सहयोगी हुनसक्ने आफूले विश्वास लिएको उनले जिकीर गरे ।
डा श्रेष्ठले छिटै नै सात प्रदेशमा ट्रुनट पीसीआर मेशिन राखेर क्षयरोगीको पहिचान गर्न सुरु गर्ने र बिस्तारै यो सेवालाई बढाउँदै लाने जानकारी दिए । सरकारले सन् २०३० सम्ममा क्षयरोगको अन्त्य र सन् २०५० सम्ममा पूर्ण निवारण गर्ने लक्ष्य लिएको छ । तर पहिचान नभएका र पहिचान भएर पनि उपचारको पहुँचमा आउन नसक्दा समुदायमा क्षयरोग सर्ने खतरा पनि त्यतिकै छ । साथै सरकारको क्षयरोग निवारण गर्ने लक्ष्य माथि समेत चुनौती थपिएको छ । यो प्रविधिको प्रयोग गरेर धेरै भन्दा धेरै व्यक्तिहरुमा क्षयरोग भए नभए परीक्षण गरेर सरकारले फाइदा लिन सकेमा क्षयरोग अन्त्यमा याे केही सहयोगी सिद्ध हुनसक्छ की ?
नेपालमा क्षयरोगको नियन्त्रण र अन्त्य गर्ने हो भने अहिलेका समस्या र चुनौतीलाई सम्बोधन गर्दै केही नयाँ र समाजमै गएर कोही नछुटुन् भनेर योजना बनाउँदै परीक्षण गर्न आवश्यक छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल