स्टार अस्पतालमा २ सय जनाको सफल जोर्नी प्रत्यारोपण

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको सानेपामा अवस्थित स्टार अस्पतालले गत ५ वर्षमा २ सय जना बिरामीको जोर्नी प्रत्यारोपण गरेको छ । डा दीर्घराज आरसीको नेतृत्वमा डा सुमन मरहठ्ठा र डा राम ईश्वर यादवको टिमले स्टार अस्पतालमा २ सय जोर्नी प्रत्यारोपण गरेको हो ।
अस्पतालले नेपालमा निजी क्षेत्रको अस्पतालमध्ये सबैभन्दा धेरै जोर्नी प्रत्यारोपण गर्न सफल भएको दाबी गर्दै सोही उपलक्ष्यमा आज विशेष समारोह गरेको हो । उक्त समारोहमा बोल्दै अस्पतालका कार्यकारी अध्यक्ष किशोर महर्जनले डाक्टरहरुको उत्कृष्ट टिम, अस्पतालका कर्मचारीको सहयोग एवम विरामीको विश्वासका कारण यति छोटो समयमा २ सय जना बिरामीको जटिल मानिने जोर्नी सफल प्रत्यारोपण गर्न सकिएको बताए । उनले यो सेवालाई अझ चुस्तदुस्त बनाउन के कस्ता प्रविधि चाहिन्छन् थप्दै जाने बताए । उनले स्टार अस्पताललाई नेपालमै जोर्नी प्रत्यारोपणको क्षेत्रमा उत्कृष्ट सेन्टर बनाउने समेत जिकीर गरे ।
यसैगरी कार्यक्रममा स्टार अस्पतालका वरिष्ठ जोर्नी प्रत्यारोपण विशेषज्ञ डा दीर्घराज आर सीले एउटा प्राइभेट अस्पतालमा यति धेरै जोर्नी प्रत्यारोपण हुनु सानो कुरा नभएको बताए । उनले आफनो टिमले १३ वर्षको अवधिमा २ हजारको हाराहारीमा जोर्नी प्रत्यारोपण गरेकोमा २ सय स्टार अस्पतालमा गरेको जिकीर गरे । उनले नेपालमा जोर्नी प्रत्यारोपण गर्ने बिरामीको संख्या धेरै भए पनि आर्थिक अभाव, जनचेतनाको कमी, उपचारमा पहुँच नहुँदा धेरै बिरामी अपांग जस्तै भएर बस्न बाध्य भएको भन्दै यसबारे सरकारले सोच्नपर्नेमा जोड दिए । उनले भने, ‘सरकारले जसरी मुटुरोग, मिर्गौला रोगमा बिरामीलाई सहुलियत दिएको छ त्यसरी नै जोर्नी प्रत्यारोपणमा पनि सहुलियत दिन जरुरी छ । यसले यो सेवामा सबैको पहुँच पुग्छ ।’
नेपालमा झण्डै ३० हजार बिरामी जोर्नी प्रत्यारोपण गर्ने अवस्थामा रहेको भए पनि हाल वर्षेनी ७ सयदेखि हजार जना बिरामीको मात्र जोर्नी प्रत्यारोपण हुने गरेको बताइएको छ ।
कार्यक्रममा अस्पतालका अर्का जोर्नी प्रत्यारोपण विशेषज्ञ डा सुमनबाबु मरहठ्ठाले नेपालमा प्राइभेट अस्पतालमा छोटो समयमा २ सय जोर्नी प्रत्यारोपण हुनु गर्वको विषय रहेको बताए । उनले जोर्नी विशेष गरेर घुँडा र हिप यी दुबैको सुरुकै अवस्थामा प्रत्यारोपण गर्ने नभई पहिले औषधि, एक्सरसाइज तथा फिजियोथेरापी गरेर हेरिने र अन्तिम अवस्थामा मात्र प्रत्यारोपणको सल्लाह दिइने जनाए । उनले भने, यो लाइफ चेन्जि अपरेशन हो । घुँडा दुखेर थला परेका बिरामी शल्यक्रिया लगत्तै मजाले हिडन सक्छन् ।
कार्यक्रममा स्टार अस्पतालमा घुँडाको जोर्नी प्रत्यारोपण गराएकी उमा कार्कीले आफनो उपचार सुनाउँदै आफूलाई अहिले धेरै नै सहज भएको बताइन्। उनले हिंडडुलमै समस्या भएर अब यत्तिकै होकी क्याहो भनेको बेला जोर्नी प्रत्यारोपण पछि आफू पहिले भन्दा बढी सक्रिय भएको भन्दै डाक्टरको टिमलाई धन्यवाद दिइन् । यसैगरी सोही अस्पतालमा घुँडाको जोर्नी प्रत्यारोपण गराएका ८७ वर्षीय दिग्वम्बर शमशेर राणाले पनि आफूलाई जोर्नी प्रत्यारोपणले जीवन निकै सहज बनाएको बताए । उनले अहिले आफू आफनो काम आफै गर्न सक्ने भएको बताए ।
घुँडा तथा हिपमा धेरै नै समस्या भएर हिंडडुलमै समस्या भएमा जोर्नी प्रत्यारोपणलाई उत्तम विकल्प मानिन्छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल