Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आर्थिक अभावमा उपचार गर्न नसकेका २७ जना बिरामीको नि:शुल्क शल्यक्रिया

आर्थिक अभावमा उपचार गर्न नसकेका २७ जना बिरामीको नि:शुल्क शल्यक्रिया

हेल्थ टिभी अनलाइन \काठमाडौं : आर्थिक अभावकै कारण वर्षौसम्म मिर्गौलामा पत्थरी भएर पनि उपचार गर्न नसकेका २७ जना बिरामीले निशुल्क शल्यक्रिया सेवा पाएका छन्। ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले विपन्न बिरामीहरुका लागि निशुल्क शल्यक्रिया शिविर गरेको हो । जुन शिविरमा आर्थिक रुपले अति नै विपन्न बिरामी जसले पैसा अभावकै कारण उपचार गर्न सकिरहेका थिएनन् उनीहरुको निशुल्क त्यो पनि अत्याधुनिक अपरेसन थियटरमा नयाँ र असाध्यै प्रभावकारी मानिएको मिनी पीसीएनएल विधिमार्फत शल्यक्रिया गरिएको हो । जुन विधिबाट शल्यक्रिया गर्दा बिरामीमा कुनै ठूलो चिरफार गर्न पर्दैन भने दुखाई पनि कम हुने इन्स्टिच्युटका मेडिकल डाइरेक्टर डा सन्जय खड्गी बताउँछन्।

उनले आफूले उपचार गर्ने क्रममा  थुप्रै बिरामी आर्थिक अभावकै कारण उपचारबाट वञ्चित भएको कुरा देख्ने गरेको भन्दै यही समस्यालाई मध्यनजर गर्दै उनीहरुकै लागि नि:शुल्क शल्यक्रिया शिविर राखिएको बताए । उनले यस शिविरमा ३० देखि ४० जनाको उपचार गर्ने लक्ष्य राखिएको भए पनि कति बिरामीलाई शल्यक्रिया गर्नुअघि ज्वरो आएका कारण र कतिमा कोरोना पोजेटिभ देखिएकाले तीन दिनमा २७ जनाको शल्यक्रिया गर्न सफल भएको जनाए ।

उनले फेरि पनि कोही बिरामी म आर्थिक रुपमा कमजोर छु भनेर आएमा उनीहरुलाई पैसा नभएकै कारण उपचारबाट वञ्चित नगराइने जिकीर गरे । डा खड्गीले आफूले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरु गर्दै आएको बताए । शिविरमा काठमाडौं लगायत चितवन, नवलपरासी, दोलखा, धनगढीसम्मका बिरामीहरुले सेवा लिएका छन्। धनगढीबाट आएकी ३५ वर्षीया एक बिरामी भन्छिन्, मेरो लागि त यो शिविर र सेवा वरदान नै सावित भयो । मैले कहिले पनि आफनो मिर्गौलाको शल्यक्रिया गर्न सकुँला जस्तो लागेको थिएन। उनी र उनका श्रीमान पहिलो पटक काठमाडौं आएको बताउँछन्। हाम्रा लागि त यो सेवा सपनाभन्दा बाहिरको हो । उनले भनिन्।अर्काको मजदुरी गरेर ५ जनाको परिवार पाल्ने उनीहरुले काठमाडौंसम्म आउनका लागि १० हजार रिण लिएर आएको बताउँछन। उनीहरुले धनगढीमै उपचार गर्न नखोजेका भने होइनन् तर एक लाखसम्म खर्च लाग्ने भनेपछि उनीहरु फर्केर घर गएको बताउँछन्।

उनी जस्तै जनकपुरबाट आएकी सुनिता ठाकुरको पनि त्यस्तै व्यथा छ । उनी गृहीणी हुन् भने उनका श्रीमान कपाल काट्ने काम गर्छन्। उनले यसअघि दाहिने मिर्गौलामा आएको पत्थरीको शल्यक्रिया १४ वर्ष अघि गरेकी थिइन्। फेरि पनि उनको दुइटै मिर्गौालमा पत्थरी आएपछि निकै तनावमा थिईन्। उनले दुई महिना मात्रै रिण खोजेर एउटा मिर्गौलाको पत्थरी त निकालिन तर अर्को मिर्गौलाको शल्यक्रिया आर्थिक अभावकै कारण गर्न नसकेको बताउँछिन्। शिविरमा निशुःक शल्यक्रिया हुने थाहा पाएपछि उनी एक्लै आइन्। उनीसँग कुरुवा पनि कोही छैनन्। उनी एक जना साथी लिएर आउँदा बस्ने खाने समस्या हुने भएकाले आफू एक्लै आएको बताउँछिन्।

उनीहरु त प्रतिनिधी पात्र मात्रै हुन् । उनीहरु जस्ता शिविरमा आएका सबै बिरामीको उस्तै व्यथा छ । सामान्य रुपमा एक जना बिरामीको पत्थरीको मिनी पीसीएनएल प्रविधिबाट शल्यक्रिया गर्दा कम्तीमा पनि ८० देखि १ लाखसम्म लाग्ने गर्छ । जुन विपन्न बिरामीका लागि पहुँचभन्दा बाहिरको कुरा हो । खड्गी इन्स्टिच्युटले अति विपन्नका लागि प्रत्येक दिन ४ जना बिरामीका लागि सरकारी शुल्कमै शल्यक्रिया गर्दै आएको छ ।

डा खड्गीले आगामी दिनमा पनि विपन्न बिरामीका लागि निशुल्क शिविर गर्ने योजना रहेको बताएका छन्। उनलाई यो शिविरमा रेड क्रसेन्ट अफ कुवेतले सहयोग गरेको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि