Health TV Online
Health TV Online

त्यो शिशुले मलाई यसरी हेर्‍याे, मानौँ भनिरहेछ, ‘म मर्न चाहन्न, मलाई बचाउनुस्’

त्यो शिशुले मलाई यसरी हेर्‍याे, मानौँ भनिरहेछ, ‘म मर्न चाहन्न, मलाई बचाउनुस्’

एक महिनाअघि स्याङ्जाको एक दुर्गम गाउँबाट तीन महिनाको एक शिशु ‘रिफर’ भएर साँझ हाम्रो ‘इमर्जेन्सी’मा आइपुग्यो। शिशुको अवस्था जटिल भएकोले त्यो दिनको ‘अन कल ड्युटी डाक्टर’ निरजलाई बोलाइयो।

शिशुको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै डा. निरजले उपचार सुरु गरिहाल्नुभयो। बच्चामा गम्भीर प्रकारको निमोनिया थियो। दुईथरीको सुई दिनासाथ बालकको अवस्था सोचेभन्दा छिटो सुधार भयाे। बच्चाकी अामा हाम्रै अस्पतालमा भर्ना गर्न सहमत भइन्।

बच्चाका बुबा वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका रहेछन्। ‘भर्ना गर्न घरमा सासु ससुरालाई सोध्नुपर्छ’ भन्दै अकमकाउँदै थिइन्। तर तत्काल अन्यत्र जान उनी न आर्थिक रूपमा  समर्थ थिइन् न अरू हिसाबले नै। स्याङ्जा जिल्ला अस्पताल आइपुग्नु नै उनको ठूलो साहस थियो। म बाल रोग विशेषज्ञ भएर यहाँ आइसकेपछि सकेसम्म कास्कीको पोखरामा पाइने उपचार यहाँ दिने प्रयास गरेको छु। हामीकहाँ आउने गरीब बिरामीका लागि हामीले यो सुविधा यहीँ दिनुपर्छ भन्ने उद्देश्यका साथ  काम गरिरहेका छौँ। यहाँबाट ‘रेफर’ गर्नु परे काठमाडौं मात्र हो।

राति एउटा जटिल सुत्केरी केस आएकाले म लगायत चिकित्सकको टोली ‘लेबर’ रूममा केन्द्रित थियौँ। फर्किने क्रममा अघि भर्ना भएको शिशुलाई एक नजर हेरौँ भनेर डा.निरज र म वार्डमा प्रवेश गर्यौँ। थकित आमा शिशुको छेउमा  सुतेकी थिइन्। बाटोको थकान अनि मानसिक तनावले सायद उनि धेरै नै गलेकी थिइन्। तर जब छेउमै रहेको शिशुमा नजर पुग्यो, हामी त्रसित भयौँ।

जुन जटिल अवस्थामा शिशु इमर्जेन्सीमा भर्ना भएको थियो त्यो भन्दा पनि बिग्रिएको महसुस हामीलाई भयो। हतार हतार आमालाई उठायौँ। ‘शिशुको अवस्था पहिलेभन्दा पनि बिग्रेको छ’ भन्दा उनीसँग हामीलाई सोध्ने न प्रश्न थियो न अरु जस्तै उनले हामीसँग आक्रोश पोख्न सकिन्। उनी अवाक् भइन्।

ऊ आमाको काखमा थियो। उसका दुवै आँखाबाट आँसु बगिरहेको थियो। त्यो उसलाई दुखेको संकेत थियो। उसले मलाई यसरी हेर्‍यो, मानाैँ,   भनिरहेछ, ‘म मर्न चाहन्न, मलाई बचाउनुस्।’ उसको हेराइले मलाई झनै भावुक बनायो। यतिखेर मलाई म डाक्टर भएकोमा झन् पीडाबोध भयो। म जादु पनि गर्न जान्दिन, न त छोएर निको पार्न सक्छु। मलाई त्यो अबोध शिशुको हेराइले झन् झन् कमजोर बनाउँदै थियो।

हामीले पनि हालको विकृत समयको प्रवृत्तिले डाक्टर र बिरामीबीच उत्पन्न खाडल अनि त्यसबाट जोगिन गरिने कुनै औपचारिक संवाद गरेनौँ। हाम्रो एकमात्र उद्देश्य त्यो अबोध बालकको प्राण रक्षा गर्नु थियो, हामी त्यसमै केन्द्रित भयौँ।

आमाका आँखाबाट आँसुका थोपा मेरो हातमा तप्प झरे। उनलाई थाहा थियो, उनको शिशुलाई हामीले पीडा दिएको होइन तर, आमाको मन हाे। केही बेर उसको श्वासनलीको ‘सेक्रेसन’ सफा गरेपछि सायद शिशुलाई आराम भयो, उसले सहजताका साथ श्वास फेर्न थाल्यो। ऊ आमाको काखमा थियो। उसका दुवै आँखाबाट आँसु बगिरहेको थियो। त्यो उसलाई दुखेको संकेत थियो। उसले मलाई यसरी हेर्‍यो, मानाैँ,   भनिरहेछ, ‘म मर्न चाहन्न, मलाई बचाउनुस्।’ उसको हेराइले मलाई झनै भावुक बनायो। यतिखेर मलाई म डाक्टर भएकोमा झन् पीडाबोध भयो। म जादु पनि गर्न जान्दिन। न त छोएर निको पार्न सक्छु। मलाई त्यो अबोध शिशुको हेराइले झन् झन् कमजोर बनाउँदै थियो।

उपचारको एउटा पद्धति हुन्छ, जसलाई म पालना गर्दै थिए, तर अहिले सबै चिकित्सकीय ज्ञान र सिप बिर्सेर मलाई पनि उसको आमालाई जस्तै छिटो निको पार्ने हतार भइरहेछ। आमाको दूध खाएपछि उसलाई फेरी श्वास फेर्न गाह्रो भएको थियो ,यस पटक उसको छाती बजेको बाहिरबाटै सुनिन्थ्यो। उसलाई सास फेर्न धेरै कठिन भइरहेको अनि कडा रूपमा कोखा हानि रहेको थियो। रगतमा अक्सिजनको मात्रा अत्यन्त न्यून भई उसका ओठ र हात खुट्टा नीला भइसकेका थिए।

वार्डमा उपचार सम्भव नहुने देखेर हामीले उसलाई विशेष शिशु उपचार कक्षमा सार्यौँ। दुई चिकित्सक र नर्सको टोलीले हरसम्भव कोशिश गर्यौँ। उसको फोक्सोमा अक्सिजन आवश्यक मात्रामा पुर्याउन कठिन भइरहेको थियो। त्यही नै उसको अहिलेको मुख्य समस्या थियो। सामान्य रूपमा दिइने अक्सिजनले नभए पछि उसको ‘कोल्याप्स’ हुँदै गरेको फोक्सोलाई पुनः काम गर्न सक्ने अवस्थामा फर्काउन एउटा विशेष उपकरण आवश्यक पर्थ्याे जुन जिल्ला अस्पतालमा विरलै उपलब्ध हुन्छ। यो अञ्चल वा सो भन्दा माथिका अस्पतालमा पाइने सुविधा हो।

आफ्नो अध्ययनको क्रममा र पछि धेरै चिकित्सक साथीहरूलाई तालिम दिने क्रममा मैले कसरी स्थानीय उपलब्ध साधनहरूबाट सो उपकरण झैँ काम गर्ने सजिलो उपकरण बनाउने भन्ने सिप सिक्न र सिकाउन पाएको थिएँ। आज त्यही सिप र ज्ञानले यो बालकको उपचारमा सहयोग पुग्यो।

उपचारकै लागि अबको केही दिन उसलाई हामीले मुखबाट खान नदिने निर्णय गर्यौँ, तर उसका लागि आमाको दूधभन्दा उत्तम आहारा केही थिएन। त्यसैले हामीले अर्को बाटो रोज्यौँ, खानाको नली नाकबाट पेटसम्म पुर्याएर त्यसैबाट आमाको दूध खुवाउने। होशमा रहेको तीन महिने हृष्टपुष्ट बच्चाले यो प्रकृयामा हामीलाई असहयोग गर्नु स्वाभाविक थियो। तर यसको अर्को विकल्प थिएन।

एन्टिबायोटिक र अरु थप उपचारले अब शिशुलाई आराम हुँदै थियो तर, दूध खाएपछि हुने उसको श्वासप्रश्वासको गडबडीका कारण हामी अझै खोज्दै थियौँ। रोगको निदानका लागि चाहिने उपकरणको सीमितताका बाबजुद हामीले कुनै गम्भीर रोगको आशंका गरेका थियौँ, जसको पुष्टि हुनु जरुरी थियो। यो अवधिमा ‘भाइबर’को माध्यमबाट कुबेतमा रहेको उसको बुबासँग हाम्रो सम्पर्क भयाे। थप जाँचपडताल र उपचारका लागि उसलाई काठमाडौं लैजाने कुरामा उनले सहमति जनाए।

हामीले हाम्रो अस्पतालमा रहँदाको सम्पूर्ण उपचार खर्च निःशुल्क भएको कुरा सुन्दा उनी कृतज्ञ भए। नाकबाट छिराएको खानाको नलीले शिशुलाई गाह्रो पारे पनि अब हामी नजिक आउँदा ऊ हास्न थालिसकेको थियो। उसलाई आराम हुँदै थियो। कति पटक उसलाई काखमा राखेर वार्डमा डुलाउँदा ऊप्रति अचम्मको सामीप्य बढेको थियो। अब उसको उपस्थितिले त्यो वार्ड नै उज्यालो भएको थियो। बडो मीठो मुस्कान छ उसको, सँगै बसेर खेलिरहौँ जस्तो।

सबै व्यवस्था मिलाएर हामीले उसलाई काठमाडौंको कान्ति बाल अस्पताल रिफर गर्यौँ। उसको बारेमा मैले त्यहाँ फोन मार्फत जानकारी गराएको थिएँ। शुरु शुरुमा उनीहरूलाई असहज भयो। थोरै बिरामी हुँदा जुन माया अनि स्याहार उसले हामीकहाँ पायो त्यो त्यहाँ पाउन सम्भव थिएन। यो कुरा उसका आमा र परिवारले बिस्तारै बुझे। पाँच दिनको उपचारपछि ऊ घर फर्कियो रे! फोनमा कुरा भएको थियो।

उसलाई लिएर छिटै उसकी आमा हामीलाई भेट्न आउँदैछिन्। हामी सबै उसको प्रतीक्षामा छौँ।

थप समाचार