बालबालिकाको शारीरिक निष्क्रियता : ठूलो समस्या
संसारभरका ८० प्रतिशत ११ देखि १७ वर्षका बालबालिका र युवाहरूले आवश्यक शारीरिक गतिविधि नगर्ने गरेको एउटा अध्ययनले देखाएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले यसका कारण बालबालिका र युवाको स्वास्थ्य खराब हुनुका साथै मस्तिष्क विकास र सामाजिक सीपमा समेत असर गरिरहेको बताएको छ।
अध्ययनले धनी र गरीब सबैखाले देशमा बालबालिका र युवाहरूले प्रतिदिन एक घण्टा पनि शारीरिक व्यायाम नगर्ने गरेको बताएको छ।
अध्ययन गरिएका १४६ देशहरूमध्ये चारबाहेक अन्य देशमा बालकहरूभन्दा बलिकाहरू शारीरिक रूपमा कम सक्रिय रहेको पाइएको छ।
कुन गतिविधि व्यायाम हो?
मुटुको धड्कन बढ्ने र फोक्सोले तेज स्वास फेर्ने सबै गतिविधि व्यायाममा गनिन्छ।
व्यायाम हुनसक्ने केही गतिविधिहरूस्
दौडनु
साइकल चलाउनु
पौडी खेल्नु
फुटबल खेल्नु
उफ्रिनु
डोरी खेल्नु
जिम्न्यास्टिक
बालबालिका र युवाहरूका लागि लक्ष्य कम्तीमा दैनिक एक घण्टा व्यायाम हो। ‘यो कुनै असम्भव लक्ष्य हो जस्तो मलाई लाग्दैन’,डब्ल्यूएचओकी डा. फियोना बुल भन्छिन्,‘राम्रो स्वास्थ्य र विकासका लागि यो तथ्यमा आधारित लक्ष्य हो।’
व्यायाम सामान्यदेखि गार्हो तहसम्म गर्नुपर्ने बताइन्छ। गाह्राे व्यायाम भन्नाले गरिसकेपछि केही क्षण कुराकानी गर्न नसक्ने गरी श्वास फेर्नुपर्ने अवस्थामा पुग्नु हो।
व्यायाम किन महत्वपूर्ण?
व्यायाम महत्वपूर्ण हुनुको खास कारण तत्काल र भविष्यको स्वास्थ्यका कारणले हो। अल्पकालीन रूपमा सक्रिय हुनुको अर्थ–
स्वस्थ मुटु र फोक्सो हुनु हो।
बलियो हड्डी र मांशपेशी हुनु हो।
राम्रो मानसिक स्वास्थ्य हुनु हो।
र, कम तौल हुनु हो।
‘सक्रिय बालबालिका र युवाहरू पछि गएर सक्रिय रहन्छन्’, डब्ल्यूएचओका डा. रेजिना गुट्होल्ड भन्छन्। जीवनभर सक्रिय हुनेहरूमा धेरै रोगको खतरा कम हुन्छ।
तर अध्ययनकर्ताहरूले सक्रिय हुँदा मस्तिष्कको विकास हुने तथ्यहरू संकलन गर्न थालेका छन्।
के बालबालिका अल्छी भएका हुन्?
के यो अध्ययनले मौका पाउने बित्तिकै सोफामा ढल्किने हामी सबैको बानी प्रतिबिम्बित गर्छ?
‘बालबालिकाहरू अल्छी हुँदैनन्’, डा. बुल भन्छिन्।
किन बालबालिका र युवाहरू व्यायाम गर्दैनन् भन्ने प्रश्नको एउटा उत्तर छैन। तर केही सम्भावनाहरू छन्।
तीमध्ये एउटा शारीरिक स्वास्थ्यभन्दा शिक्षामा दिइएको प्राथमिकता हो।
‘यो उमेर समूहका मानिसहरूलाई परीक्षामा राम्रो गर्न मेहनत गर्न प्रोत्साहन गरिन्छ’, एक अध्ययककर्ता लिन रिले भन्छन्।
‘उनीहरू लामो समय विद्यालयमा बिताउँछन् र घरमा पनि गृहकार्यमा समय दिन्छन् त्यसैले सक्रिय हुने मौका पाउँदैनन्।’
अध्ययनकर्ताहरूले सुरक्षित, सहज र सस्तो खेलकुद वा व्यायामका सुविधाहरू उपलब्ध नहुनुलाई पनि यसको कारक देखाएका छन्।
असुरक्षित सडक भएका कारण साइकल चलाउने वा विद्यालय जाँदा हिँडेर जाने अवस्था छैन।
साथासाथै ‘डिजिटल खेल’ बढ्दै गएको छ। फोन, ट्वाबलेट र कम्प्युटरमा खेल्ने र रमाइलो गर्ने धेरै कुरा उपलब्ध हुँदा उनीहरू घर बाहिर निस्कँदैनन्।
देशहरूको अवस्था के छ?
डब्ल्यूएचओका अनुसार यस्तो असक्रियता अफगानिस्तानदेखि जिम्बाबेसम्म नै समस्या हो।
बाङ्ग्लादेशमा सबैभन्दा कम असक्रियता छ यद्यपी ६६ प्रतिशत बालबालिकाहरू दैनिक एक घण्टा व्यायाम गर्दैनन्।
अध्ययनका अनुसार फिलिपिन्सका ९३ प्रतिशत बालक र दक्षिण कोरियाका ९७ प्रतिशत बालिकाहरू सक्रिय छैनन्।
नेपालमा ८१.८ प्रतिशत बालक र ८६.८ प्रतिशत बालिकाहरूमा शारीरिक व्यायाम नपुग्ने अध्ययनमा उल्लेख छ।
के यो अवस्था झन् बिग्रिँदै छ?
होइन। यो केही सुध्रिँदै छ। द लान्सेटमा प्रकाशित यो अध्ययनले सन् २००१ र सन् २०१६ को तथ्यांक हेरेको थियो।
यो १५ वर्षको अवधिमा असक्रियता बालकमा ८० बाट घटेर ७८ प्रतिशतमा र बालिकाको भने ८५ प्रतिशतमा यथावत् रहेको छ।
विज्ञ के भन्छन्?
क्यानाडाका डा. मार्क ट्रेम्बले भन्छन्, ‘विद्युतीय क्रान्तिले मानिसहरूको हिँडडुलको तरिका फेरिदिएको छ। हामी कसरी बस्छौँ, सिक्छौँ, काम गर्छौँ, खेल्छौँ र यात्रा गर्छौँ भन्ने कुरा फेरिएको छ र हामी धेरैजसो समय घरभित्रै बसेर बिताउछौँ।’




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य