सयाैं बिरामीको ‘टाउको खोलेकी’ डा. रेशा भन्छिन्, गणित र न्यूराे सर्जरी एउटै हाे

राजधानीको अन्नपूर्ण न्यूरो अस्पतालमा कार्यरत डा. रेशा श्रेष्ठ कर्माचार्य नेपालमा औँलामा गन्न सकिने न्यूरो सर्जनमा पर्छिन्। उनी काठमाडौं विश्वविद्यालयकी एमबीबीएस पहिलो ब्याचकी विद्यार्थी हुन्।
महिलाले एमबीबीएस पढाइ सकेपछि विशेषज्ञता अलि सहज हुने विषयमा गर्नुपर्छ भन्ने मान्यता घरपरिवारको हुन्छ। तर उनले एमबीबीएस सकेपछि जटिल मानिने न्यूरो सर्जरी रोजिन्। महिलाले ‘गाइने’मात्र पढ्न पर्छ भन्ने उनलाई लाग्दैन। महिला पनि जटिल खालका सर्जरीमा अब्बल हुनसक्छन् भन्ने उनले प्रमाणित गरिदिइन्।
सन् २०१२ मा एमएस सकेकी उनी काठमाडौं विश्वविद्यालयमा प्राध्यापन र अन्नपूर्ण न्यूरो अस्पतालमा कन्सल्ट्यान्ट न्यूरो सर्जनका रूपमा कार्यरत छिन्।
डा. रेशाले न्यूरो सर्जरीमा चीनको सियान युनिभर्सिटीबाट विशेषज्ञता ‘एमएस इन न्यूरो’ सर्जरी गरेकी हुन्। काठमाडौंको बालुवाटारस्थित चिल्ड्रेन मोडर्न स्कुलबाट एसएलसी गरेकी उनी कक्षामा कहिल्यै दोस्रो नभएको बताउँछिन्।
‘चिकित्सा विज्ञानमा रुचि भने परिवारका कारण बढ्यो’, उनी भन्छिन्, ‘बुवा जवाहरलाल पलाञ्चोके पीएचडी डाक्टर हुनुहुन्छ। आमाचाहिँ त्रिवि शिक्षण अस्पतालकी रिटायर्ड मेट्रोन। उहाँहरूकै कारण ममा चिकित्सक हुने रहर सानैदेखि बढेको हो’, रेशा भन्छिन्। पढाइमा तीक्ष्ण रेशा ७ नम्बर नपुगेर एसएलसीमा बोर्ड फर्स्ट हुनबाट वञ्चित भइन्। प्लस टुमा उनले छात्रातर्फ नेपाल टप गरी ऐश्वर्या विद्यापदक समेत हात पारिन्।
उनलाई गणित असाध्यै मनपर्ने विषय थियो। ‘गणित र न्यूरो सर्जरी ठ्याक्कै मिल्छ नि’। उनी भन्छिन्, ‘गणितमा जसरी ‘एक्ज्याक्ट’ हुन्छ न्यूरो सर्जरीमा पनि त्यस्तै हो। क्याल्कुलेसन गरेर काम गर्दा फरक नै पर्दैन र रिजल्ट पनि शतप्रतिशत आउँछ।’ उनलाई मनपर्ने र सजिलो लाग्ने विषय पनि गणित थियो, जसमा उनी सयमा सय ल्याउँथिन्।
एमबीबीएस सकेपछि आमाले न्यूरोमा गाह्रो हुन्छ भनेर अन्य विषय पढ्न सुझाव दिएकी थिइन्। तर रेशाको रुचिको विषय नै न्यूरो सर्जरी थियो। त्यही रुचिका कारण उनले एमबीबीएस सकेपछि दुई वर्ष वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तसँग काम गरिन्। पन्तको संगतले उनमा न्यूरो सर्जरीमा अझ बढी लगाव बढ्दै गयो। उनी सन् २००९ मा न्यूरो सर्जरीमा ‘पोष्ट ग्राज्युयट गर्न चाइना गइन्। उनका ‘रोलमोडेल’ नै डा. पन्त हुन्।
न्युरो सर्जन नै बन्ने सपना देख्नुको कारण रुचि नै हो भन्छिन् उनी। न्यूरो सर्जरीमा विशेषज्ञता गरेर आएपछि नै रेशाले अन्नपूर्ण न्यूरो अस्पतालमा काम गर्न शुरु गरिन्। अब त बिरामीको टाउको खोल्न उनलाई सजिलो लाग्छ। ‘लगन हुनुपर्छ कुनै पनि काम गाह्रो छैन’, उनी भन्छिन्। उनले हालसम्म ५०० भन्दा बढी बिरामीको टाउको खोलेकी छिन्, अर्थात् शल्यक्रिया गरेकी छिन्।
डा. रेशा फन्क्सनल न्यूरो सर्जरीमा फेलोसिप गर्ने नेपालबाट पहिलो डाक्टर हुन्। उनले जापानको टाेकियो मेडिकल युनिभर्सिटीबाट ‘फेलोसिप’ गरेकी छिन्। सन् २०१४ मा जापानी प्राध्यापक डा. तायरा, डा. पन्त र डा. रेशा मिलेर नेपालमै पहिलोपटक कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया डीबीएस प्रविधिमार्फत गरेका थिए।
त्यसपछि भने उनी निरन्तर डिस्टोनिया, पार्किन्सन्स, कम्पन आइरहने लगायतका समस्यामा शल्यक्रिया गर्ने र पेसमेकर राख्ने काम गर्दै आएकी छिन्।
‘डिस्टोनिया’, कम्पन भइरहने नशाका बिरामीको अवस्था अत्यन्त कष्टकर हुन्छ। उनीहरू सबैलाई यो सेवाका बारेमा थाहा नै छैन। वर्षौँँसम्म पनि निको हुने समस्या लिएर बस्न बाध्य छन्। त्यो देख्दा साह्रै नरमाइलो लाग्छ। यसको बारेमा जनचेतना पनि फैलाउनुपर्छ साथै यो सेवाको विस्तार पनि गर्न जरुरी छ, भन्छिन् उनी।
महिला डाक्टरले शल्यक्रिया गर्दैछ भनेर कानेखुशी गरेको कहिलेकाहीँ सुन्ने गरेको भए पनि सबैले विश्वास गरेको बताउँछिन् उनी। विश्वमा हुने सबै खालका जटिल प्रकारका न्यूरो सर्जरी हामी नेपालमा गर्न सक्छौँ भन्छिन् डा. रेशा। ‘साइको सर्जरी’ भने शुरु भएको छैन। त्यो पनि छिट्टै शुरु हुने उनको विश्वास छ। आफ्नै लगन, परिवार र टिमको सहयोगका कारण आफू यहाँसम्म पुग्न सफल भएको रेशा सगर्व सुनाउँछिन्।
काठमाडौंमा वायु प्रदूषण : स्वास्थ्य मन्त्रालयद्धारा सतर्कता अपनाउन आग्रह
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३३ औं कलेजो प्रत्यारोपित डिस्चार्ज
कस्ता छन् असुरोका औषधीय गुण ? जानी राखौं
म्याचिङ प्रक्रियालाई रोकी पूर्वनिर्धारित सिट अनुसारको सूचना निकाल्न चिकित्सक संघको माग
राजावादीको आन्दोलनमा घाईते भएका १३ जना अझै पनि उपचारमा