औषधि हाे जमरा तर, अन्धाधुन्द प्रयाेग नगर्नुस्

औषधि हाे जमरा तर, अन्धाधुन्द प्रयाेग नगर्नुस्

नेपाली सनातन धर्मावलम्बीहरू आश्विन शुक्ल प्रतिपदाका दिन घरघरमा घटस्थापना गरी नौ दिनसम्म शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्। घटस्थापना गरिएको ठाउँमा जौ वा गहुँलगायत अन्य अन्न रोप्ने वा छर्ने परम्परा छ। त्यही जमरा विजयादशीको दिन नवदुर्गाको प्रसाद टीकासहित शिरमा लगाउने चलन छ।

वैदिक ग्रन्थहरूमा रोग दूर गर्ने, प्राण पुष्ट पार्ने, बल प्रदान गर्ने ओज वस्तुको रूपमा जाैकाे महत्त्व बताइएको छ। श्रीमद्भागवत महापुराणमा वामन अवताररूपी भगवान् विष्णुको पूजा गर्दा लोकपालहरूले जमरा चढाएको प्रसंग आउँछ।

दशैँमा शिरमा लगाइने जमरा आजभोलि खानका लागि प्रयोग हुन थालेको छ। नौ दिनसम्म घाम नदेखार्इ राखिएको जमरा स्वास्थ्यका लागि लाभदायक हुने पुष्टि भएको छ। अचेल यसको जुस (रस)को व्यापार समेत भइरहेको छ।

आयुर्वेद विभागका महानिर्देशक डा.बासुदेव उपाध्याय जमराको जुसले पाचनप्रणालीमा सहयोग गर्ने बताए। ‘कलेजोमा भएको विषाक्त पदार्थ हटाउन जमराकाे जुसले मद्दत गर्छ’, उनले भने, ‘साथै रगत सफा गर्न पनि मद्दत गर्छ।’

यसैगरी यसमा पाइने भिटामिनले ‘फुड सप्लिमेन्ट’को रुपमा काम गर्छ। यसले रोग प्रतिरोध क्षमता बढाउन समेत मद्दत गर्छ। ‘तर याद गर्नु पर्ने कुरा के हो भने’, उपाध्याय भन्छन्, ‘जमरा कस्तो ठाउँमा उमारिएको छ?’

जमरा उमार्दा सरसफाइमा पनि ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन्। जमरा उत्पादन गरी रस बेच्न बाटोमा बस्ने र विश्वासमा पिउनेहरूले यो विषय ख्याल नगरेको उनीहरूको भनाइ छ।

आजभोलि यसलाई फेसनको रुपमा लिन थालिएकोमा चिन्ता व्यक्त गर्छन्, डा. उपाध्याय। भन्छन्,‘जमरा आफैँमा राम्राे भए पनि यसलाई जथाभावी प्रयोग गर्न हुँदैन।’ फाइदा हुन्छ भन्दैमा विचार नै नपुर्याई खान नहुने उनको तर्क छ। कुन राेगका लागि खाने भन्ने यकिन नहुँदा वा चिकित्सककाे सल्लाहविनै अन्धाधुन्द रूपमा पिउँदा अरू समस्या बल्झिन सक्ने चिकित्सकहरू बताउँछन्।

अमेरिकाको विज्ञान प्रविधि स्रोत अनुसन्धना संस्थाले केही समयअघि गरेको अनुसन्धानअनुसार जमरा भिटामिन, खनिजले भरिपूर्ण हुन्छ। यसमा पालुंगोभन्दा ३.३ गुणा बढी भिटामिन पाइन्छ। त्यसैगरी गाईको दूधभन्दा ३० गुणा बढी भिटामिन पाइने अनुसन्धानले देखाएको छ।