यस्तो छ वुहानबाट आएका नेपाली बस्ने ‘क्वारेन्टाइन’, एउटा कोठामा तीन बेड

भक्तपुर : सरकारले कोरोना भाइरस (कोभिड १९) प्रभावित चीनको वुहानबाट आउने नेपालीलाई १५ दिनसम्म राख्न खरिपाटीस्थित क्वारेन्टाइनको सबै तयारी पूरा भएको जानकारी दिएको छ।
क्वारेन्टाइनस्थलमा शनिवार सरकारी सञ्चारमाध्यम सञ्चारकर्मीसँग कुरा गर्दै शहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यान्वयन काठमाडौँका सहसचिव कुमार घिमिरेले तयारीबारे जानकारी दिएका हुन्। विद्युत् प्राधिकरणको भवनमा बनाइएको क्वारेन्टाइनमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै ‘आइसोलेसन वार्ड’मा हुने जतिकै सुविधाको व्यवस्था गरेको उनले बताए।
नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षादेखि सरसफाइसम्मका पूर्वाधार व्यवस्थापनमा सघाउ पुर्याउँदै छ दिनभित्र सम्पूर्ण तयारी पूरा गरेको घिमिरेको दाबी छ। क्वारेन्टाइनमा जस्ताले वरिपरि बार लगाउनुका साथै प्राधिकरणको चारवटा भवन प्रयोग गर्नेगरी व्यवस्थापन गरिएको छ। ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी बस्नेगरी चारवटा भवनमा सबै संरचना जडान गरी व्यवस्थापन गरिएको छ।
भवनमध्ये ब्लक ए मा ८६, ब्लक बीमा ८९ र ब्लक सीमा २५ जना गरी २०० जना क्षमता रहेको क्वारेन्टाइन तयार पारेको सचिवालयका उपसचिव विदुर खड्काले जानकारी दिए। वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात ‘क्रु मेम्बर’, एक इन्जिनियर, एक प्राविधिक र एक ‘डिस्पास्चर’ गरी १७ चिकित्सकसहितको टोली लिएर चीन गएको छ। विमानमा चीनबाट पुरुष १४३, महिला ४२ र विदेशी नागरिक होण्डुरसकी एक महिला गरी १८६ जनालाई चीनबाट आइतबार बिहान ३ बजेसम्ममा त्रिभुवन विमानस्थल ल्याइपुर्याउने छ।
त्रिभुवन विमानस्थल ल्याएपछि स्वास्थ्य परीक्षण गराई पाँच बसमा राखेर र एम्बुलेन्ससँगै सुरक्षाका सम्पूर्ण माध्यम अपनाएर खरिपाटीस्थित क्वारेन्टाइनमा लगेर तोकिएको कोठामा प्रवेश गराइनेछ। क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसीक्यामेरा, आठ टेलिभिजन, सबै ब्लकमा स्पीकर जडान गर्नुका साथै तीनवटा वासिङ मेसिन, ओछ्यान, टावेल, चप्पल, साबुन, मन्जन, ब्रस, माक्स र औषधिलगायत सबै सामग्री प्रत्येक शय्यामा पुर्याइएको छ।
एक कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीन शय्या रहने गरी कोठाको व्यवस्थापन गरिएको छ। शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ। मनोरञ्जनका लागि दुई ब्याडमिन्टन कोड निर्माण गरिएको छ भने क्यारेमबोर्ड, लुडो र बच्चाका लागि बललगायतका खेल सामग्री व्यवस्था गरिएको छ । कोठाभित्रै बस्ने नभई कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ।
दुईवटा स्वास्थ्य टोली चौबिसै घण्टा रहनेछन्, जसमध्ये नेपाली सेनाका क्याप्टेन डा. नविन फुयालको नेतृत्वमा नर्ससमेत स्वास्थ्य टोली क्वारेन्टाइनभित्र रहनेछ। नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीसहितको संयुक्त चिकित्सक टोली तयारी अवस्थामा बाहिर रहनेछ। क्वारेन्टाईनमा पुगेको २४ घण्टाभित्र र १४ दिनमा स्वास्थ्य जाँच एवं रगत संकलन गरिनेछ । अरु दिन व्यक्ति स्वयंले गर्न मिल्ने थर्मोमिटरका माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुईपटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नुपर्नेछ।
कुनै कुरा आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ। जाँच शङ्कास्पद देखिए क्वोन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल तथा सशस्त्र प्रहरी अस्पतालमा अबिलम्ब स्थानान्तरण गर्नेछ। सरकारले विभिन्न अस्पतालमा १४७ आइसोलेसन वार्ड तयार पारेको छ।
क्वारेन्टाइनमा रहँदा अभिभावकसँग प्रत्यक्ष रूपमा भेटघाट गर्न पाइने छैन। क्वारेन्टाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ । प्रत्येक दिन बिहानको नास्ता, ११ः०० बजे खाना, ३ः०० बजे खाजा र साँझ ७ः०० बजे खानाको व्यवस्था गरिएको छ। छ वटा खाना संकलन केन्द्रमा राखिएपछि कन्ट्रोल रुमबाट माईकमार्फत जानकारी गराएपछि खाना लिने व्यवस्था गरिएको छ।
पत्रकारका लागि क्वारेन्टाइन बाहिर सञ्चारकर्मी कक्षको व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा उनीहरुले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्याङ्कीदेखि बढी भएको खाना व्यवस्थापन गर्ने जमिनमुनि छुट्टै संरचना बनाइएको छ । चौविसै घण्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ । क्वारेन्टाइन बाहिर रहेको कन्ट्रोल रुमबाट २४ सै घण्टा अनुगमन गरिनेछ ।
चीनबाट फर्कने नेपालीलाई लिन जाने पाइलट, को–पाइलट, परिचारिका र सफाइ गर्ने स्विपरलाई भने चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित खानेपानी तालिम केन्द्रको अर्को क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ। सबै व्यवस्थापनका लागि करिब छ करोड रुपैयाँ खर्च हुने भएको छ।
स्थानीयबासिन्दाका लागि संयुक्त सुरक्षा निकायका चिकित्सकसहितको स्वास्थकर्मी टोलीले प्रत्येक दिन खरिपाटी घुमाउनेस्थित सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरण गर्ने छ। सरकारले कोरोना भाइरसको संक्रमण नभएका, स्वस्थ्य व्यक्तिलाई ल्याएर १५ दिन क्वारेन्टाइनमा राखेर स्वस्थ्य प्रमाणित भएपछि घर फर्काउने भएकाले नआत्तिन र त्रासमा नरहन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव नाराणप्रसाद विडारीले आग्रह गरे।
रासस
नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एउटै व्यक्तिमा कलेजो र मिर्गौला प्रत्यारोपण
१८ देखि ३८ वर्षका महिलामा थाइराइडको समस्या बढी
नेपाल क्यान्सर अस्पतालको वाकाथन कार्यक्रम
नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा निर्वाचित
जलवायु परिवर्तन र एएमआर सम्बन्धी भिडियो प्रतियोगिता