Health TV Online
Health TV Online
Health TV Online

डिजिटल एक्सरे नहुँदा उपचारमा समस्या

डिजिटल एक्सरे नहुँदा उपचारमा समस्या

जाजरकोट : जाजरकाेट अस्पतालमा डिजिटल एक्सरे नहुँदा  उपचारमा समस्या भएको छ।

बिरामीलाई तत्काल सेवा प्रवाह गर्नका लागि र रोग पत्ता लगाउन डिजिटल एक्सरेको आवश्यकता पर्ने भए पनि जाजरकोट अस्पतालमा सो नहुँदा दैनिक समस्या भएको जाजरकोट अस्पतालका प्रमुख राजेन्द्र लामाले बताए।

पचास शय्याको अस्पतालको स्तरोन्नतिसँगै बिरामीको चाप बढे पनि सोअनुसारको सामग्री नहुँदा उपचारमा समस्या आएको छ।

अस्पतालमा चिकित्सक भए पनि उपकरण अभावमा भने जति सेवा प्रवाह गर्न नसकिएको उनकाे भनाइ छ। उपचारमा आएकामध्ये ७० प्रतिशत बिरामीको एक्सरे गर्नुपर्ने अवस्था भए पनि पुराना र छिटो, छरितो सेवा प्रवाह गर्न सक्ने खालका उपकरण नहुँदा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताइन्।

२०२७ मा निर्माण भएका पुराना भवनमा सेवा दिँदा समस्या भएको अध्यक्ष बस्नेतको भनाइ छ। ‘डिजिटल एक्सरे भएमा बिरामीलाई तत्काल समस्या पत्ता लगाउन सकिन्छ र अन्य एक्सरेभन्दा स्पष्ट देखिन्छ’, अस्पताल प्रमुख लामाले भने। भिडियो एक्सरे भए पनि पुरानो भएकाले काम गर्दा समस्या आउने गरेका अस्पताल प्रशासनले बताएको छ।

त्यस्तै सुत्केरी सेवा दिनका लागि पर्याप्त ठाउँ नहुँदा सास्ती हुँदै आएको छ। ठाउँ, ठाउँमा चिरा परेको पुराना भवनमा सेवा प्रवाह गर्दा गाह्रो भएकोे अध्यक्ष बस्नेतले जानकारी दिए। भवनकै अभावमा चिकित्सकलाई राम्रो आवासको व्यवस्था गर्न सकिएको छैन।

जाजरकोट अस्पतालको फार्मेसी सेवा प्रभावकारी नहुँदा दुःख पाएको बिरामीले बताएका छन्। औषधि बिक्री भएको रकमसमेत नियमित जम्मा नहुँदा र जसलाई चाहिन्छ, उसैले लिने गरेको पाइएको छ। तीन वर्ष अघि टिकट काटेको रकम अहिलेसम्म अस्पतालको खातामा जम्मा हुन सकेको छैन।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार