Health TV Online
Health TV Online
Health TV Online

बैतडीमा बन्दै स्वास्थ्य संस्थाका दुई दर्जन भवन

बैतडीमा बन्दै  स्वास्थ्य संस्थाका दुई दर्जन भवन

बैतडी : जिल्लाका विभिन्न भागमा स्वास्थ्य संस्थाका करिब दुई दर्जन नयाँ भवन निर्माण हुने भएका छन्। चालू आर्थिक वर्षमा १४ सुरक्षित प्रसूति सेवा केन्द, तीन सामुदायिक स्वास्थ्य एकाइका भवन र दुई शहरी स्वास्थ्य क्लिनिक भवन र दुई स्वास्थ्यचौकीका नयाँ भवन बन्न लागेका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेटबाट सुरक्षित प्रसूति सेवा केन्द्रका भवन निर्माण गरिने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिए। त्यसका लागि २० लाख रूपैयाँका दरले बजेट विनियोजन भए पनि भवन निर्माण कार्यविधि भने अझै आइपुगेको छैन।

चालू आर्थिक वर्षमा दशरथचन्द नगरपालिको वडा नं १० स्थित रातामाटामा, वडा नं ५ को करकटट्यामा, पाटन नगरपालिकाको वडा नं १ पदमपुरमा, सुर्नया गाउँपालिका ३ को बिजुलमा, शिवनाथ गाउँपालिका २ को पोखर र वडा नं ३ को बछलामा, दोगडाकेदार गाउँपालिकाको वडा नं १ गोरङ, वडा नं २ को कफलकोट र वडा नं. ७ को चडेपानीमा ती केन्द्र निर्माण गरिने भएको हो।

यसैगरी डिलाशैनी गाउँपालिका वडा नं ६ को गोकुलेश्वर ७ को धामीगाउँमा, पुरचौँडी नगरपालिका ४ को सिबाबोमा, पञ्चेश्वर गाउँपालिका २ र सिगास गाउँपालिका ७ न्वाघरमा पनि उक्त केन्द्र निर्माण गरिने भएको छ।

यस्तै चालू आर्थिक वर्षमै तीन सामुदायिक स्वास्थ्य एकाइ निर्माण हुनेछन् । सुर्नया गाउँपालिका ४, डिलाशैनी–५ नगराउँ र पञ्चेश्वर–४ निङलाडमा सामुदायिक स्वास्थ्य एकाइका भवन निर्माण हुने उक्त कार्यालयले जनाएको छ । सामुदायिक स्वास्थ्य एकाइका लागि १५ लाख रूपैयाँका दरले बजेट विनियोजन गरिएको छ।

यसैगरी दशरथचन्द नगरपालिका–१ सौडेखोला र पाटन नगरपालिका ज्यापुमा शहरी स्वास्थ्य क्लिनिक भवन पनि निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ। डिलाशैनी गाउँपालिका–१ र सिगास गाउँपालिका वडा नं ३ मा स्वास्थ्यचौकी भवन निर्माण चालू आर्थिक वर्षमै शुरु हुने बताइएको छ।

स्वास्थ्य एकाइ नहुँदा यहाँका बासिन्दा उपचारका लागि घण्टौँ हिँडेर स्वास्थ्य कार्यालयमै आउनुपर्ने बाध्यता छ। देश सङ्घीय संरचनामा गइसकेपछि पनि जिल्लाका विभिन्न वडा स्वास्थ्य एकाइ बनेका छैनन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार