दुर्गम गाउँमा सुविधासम्पन्न स्वास्थ्यचाैकी
म्याग्दी : भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ।
शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीले दुई करोड छ लाख रुपैयाँ लगानीमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले पक्की भवन निर्माण गरेको हो। मंगलबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र जग्गादाता सुखबहादुर तिलिजा पुनले उद्घाटन गरे। भवन निर्माणपछि सेवा प्रवाहमा सहज भएको स्वास्थ्यचौकीकी प्रमुख चाँदनी गुरुङले बताइन्।
यसअघि राम्चेस्थित सामुदायिक भवनको दुई साँघुरो कोठामा स्वास्थ्यचौकी सञ्चालन हुने गरेको थियो। नयाँ भवनमा प्रशासनिक, खोप, गर्भजाँच, क्षयरोग, परिवार नियोजन, ड्रेसिङ, स्वास्थ्य परीक्षण, नाम दर्ता, औषधि भण्डारण, औजार निर्मलीकरण, प्रसूति, औषधि वितरणलगायत ११ कोठा छन्।
सभाहल र दुई परिवार कर्मचारीका लागि तीनतीन कोठा छन्। स्वास्थ्यचौकीले इन्टरनेटको प्रयोग गरेर टेलिमेडिसीन सेवा पनि सञ्चालन गरेको छ। अपाङ्गमैत्री भवन निर्माणका लागि दुई परिवारले छ रोपनीभन्दा बढी जग्गा उपलब्ध गराएको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए।
राम्चे अन्नपूर्ण गाउँपालिकाको विकट बस्ती हो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’