आँखा अस्पतालमा उपचार केन्द्रमा अधिकांश भारतीय बिरामी
चितवन : नेपाल नेत्रज्योति संघ चितवनले पर्साको ठोरीमा सञ्चालन गरेको आँखा उपचार केन्द्रमा सेवा लिन आउने बिरामी अधिकांश भारतीय नागरिक रहेका छन्। संघले २०७२ देखि आँखा उपचार केन्द्र ठोरीको नाममा आँखा अस्पताल सञ्चालन गर्दै आएको छ।
अस्पतालमा दैनिक ५० देखि ६० उपचारका लागि आउने र तीमध्ये ९५ प्रतिशत भारतीय नागरिक रहेको भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार अस्पतालमा उपचारका लागि भारतका विभिन्न ठाउँबाट बिरामी आउने गरेका छन् ।
अस्पताल रहेको ठाउँबाट भारतीय सीमा तीन किलोमिटर टाढा पर्छ, जहाँ दैनिक सरदर पाँच जनाको शल्यक्रिया हुँदै आएको छ। गौतमनगरमा रहेको विद्यालयको भवन भाडामा लिई सेवा दिँदै आएकाेमा केही दिनमै अस्पतालको आफ्नै भवनबाट सेवा दिने तयारी गरिएको छ। अस्पतालमा एक नेत्र विशेषज्ञसहित नौ प्राविधिक कर्मचारीले काम गर्दै आएका छन्।
नेपाल नेत्रज्योति सङ्घका सभापति कृष्णराज धरेलका अनुसार भारतको बिहारभन्दा सेवा राम्रो र सस्तो भएकाले भारतीय नागरिक उपचारका लागि ठोरी आउने गरेका छन्। यस्तै बाराको सिम्रौनगढमा पनि आँखा उपचारका लागि आउने बिरामीको सङ्ख्यामा ३० प्रतिशत भरतीय नागरिक रहेको धरेलले जानकारी दिए।
भरतपुर आँखा अस्पतालमा उपचार गराउन आउनेमध्ये तीन प्रतिशत विदेशी नागरिक छन्। अस्पतालले विभिन्न सेवाकेन्द्रमार्फत वार्षिक एक लाख ५० हजार बढी बिरामीलाई सेवा दिँदै आएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण