Health TV Online
Health TV Online
Health TV Online

प्रशोधन केन्द्र बन्द हुँदा जडीबुटी व्यवसायी मारमा

प्रशोधन केन्द्र बन्द हुँदा जडीबुटी व्यवसायी मारमा

जाजरकोट : डोल्पामा १८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा यहाँका जडीबुटी व्यवसायी समस्यामा परेका छन्। जिल्लामै जडीबुटी प्रशोधन गर्ने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने खातीज्युलामा २०५५ मा स्थापना गरिएको त्रिपुरासुन्दरी जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र बन्द हुँदा डोल्पाली जडीबुटी व्यवसायी समस्यामा परेका हुन्।

विश्व वन्यजन्तुकोष नेपाल, बीएसपी न्युएरा र साविकको त्रिपुराकोट गाविसको आर्थिक सहयोगमा १९ लाखको लागतमा स्थापना गरिएको जडीबुटी प्रशोधन केन्द्रले स्थापनाको दुई वर्षसम्म जिल्लामा अत्यधिक मात्रामा पाइने जटामसी, समायो, पिरे घाँसलगायतका जडीबुटी प्रशोधन गर्दै आएको थियो।

जिल्लामा पाइने भुल्ते, समायो र पिरे घाँसलगायतका महत्वपूर्ण जडीबुटी सङ्कलन तथा प्रशोधन जिल्लामै गरिने थालेपछि यातायात र बजारको अभावमा समस्यामा परेका व्यापारीलाई सहज भएको थियो।  दाउराबाट प्रशोधन गरिने हुँदा वनजङ्गल मासिएर सखाप हुने अवस्था आएपछि इन्धनको विकल्प खोजी गरी उद्योग सञ्चालन गरिने बताउँदै इन्धनको अभावमा प्रशोधन केन्द्र बन्द भएको थियो।

जिल्लाकै ऐतिहासिक उद्योग बन्द भएको १८ वर्ष बितिसकेको छ। सिंदरबारको अधिकार गाउँघरमा आइसकेको अवस्था छ। पहिला उद्योग सञ्चालनका लागि वैकल्पिक इन्धनको रूपमा विद्युत् खोजी गरियो। उद्योग नजिकै स्थापना भएको हाइड्रोपावरले उद्योग चल्ने अवस्था भए पनि स्थानीय सरकारले सञ्चालनका लागि खासै चासो नदेखाएको नगरपालिका–१ का दानबहादुर खत्रीले बताए।

‘जिल्लामै प्रशोधन केन्द्र सञ्चालन हुँदा जडीबुटी पनि खरिद गरिने गरिएकाले थोरै लगानीमा घरमै बसेर जडीबुटीबाट मुनाफा कमाइन्थ्यो तर लामो समयसम्म बन्द उद्योग सञ्चालनमा नआउँदा अनेकौँ झन्झट व्यहोरेर जिल्ला बाहिर जडीबुटी लैजाँदा समस्या  परेको छ’, जडीबुटी व्यापारी कन्नबहादुर शाहीले भने।

नगरपालिकाका मेयर ओमबहादुर बुढाले बन्द उद्योग सञ्चालनका लागि अहिले प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेकाले आवश्यक उपकरणलगायतको व्यवस्था गरी आर्थिक वर्ष २०७६\७७ बाट नियमितरूपमा सञ्चालनमा ल्याइने तयारी भइरहेको जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार