Health TV Online
Health TV Online
Health TV Online

आसफाल्ट प्लान्टले मानव स्वास्थ्यमा प्रतिकूल असर

आसफाल्ट प्लान्टले  मानव स्वास्थ्यमा प्रतिकूल असर

ललितपुर : ललितपुर महानगरपालिका ४ बागडोलस्थित मलपोखरीका स्थानीय बासिन्दले गैरकानूनी रूपमा मानवबस्तीमा सञ्चालित आसफाल्ट (अलकत्रा पगाल्ने) उद्योग बन्द गराउन माग गरेका छन्।

उद्योगले निकाल्ने धुवाँ र ध्वनि प्रदूषणका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका हुन् । स्थानीयवासीले महानगरपालिकाको कार्यालयमा उजुरी दर्ता गराउँदै त्यस्ता उद्योग हटाउन माग गरेका छन्।

ब्रह्मायणी महिला समूह बाग्डोलकी अध्यक्ष जयमाला ढुङ्गानाले आसफाल्ट प्लान्ट सञ्चालनका कारण प्रदूषण भएको, बच्चा बिरामी भइरहने गरेको गुनासो पोखे । हावा चलेका बेला कालो धुलो आउने, सुकाएका लुगा सबै मैला हुने गरेको छ। बिहान उठ्दा घाँटी दुख्ने, बच्चालाई टाउको दुख्ने समस्या आएको स्थानीय रूपा दङ्गालले गुनासो गरिन्।

गुनासो सुनेपछि महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अवैध आसफाल्ट प्लान्ट बन्द गराउने प्रतिबद्धता व्यक्त गरे। वडा अध्यक्षको समन्वयमा महानगरपलिकाले स्थानीयवासीको साथ लिएर मानवबस्तीमा कम्पनी सञ्चालन गर्न नदिने आश्वासन दिए।

बाग्डोल विकास सेवा समाजका अध्यक्ष राजेश कार्कीले सो स्थानमा सञ्चालित आसफाल्ट उद्योगका कारण मानव स्वास्थ्यमा नकारात्मक असर परेको दाबी गरे। अस्पताल खोल्ने भन्दै झुक्याएर आसफाल्ट प्लान्ट खोलिएको बताए। उद्योग विभागबाट साविक कीर्तिपुर गाविसमा दर्ता भएको उद्योगले ललितपुरमा बाग्डोलमा प्लान्ट राखेको छ।

२०५३ पुस ९ गते काठमाडौँमा दर्ता भएको नेपाल आदर्श कम्पनीले कीर्तिपुरमा वर्कसप तथा ग्यारेज राख्नका लागि अनुमति लिएको थियो। उद्योग दर्ता प्रमाणपत्रमा तोकिएको स्थानभन्दा बाहिर बाग्डोलमा आसफाल्ट उद्योग सञ्चालन गरी कानून उल्लङ्घन गरेको स्थानीय बासिन्दाको भनाइ छ।

२०७१ माघमा मन्त्रिपरिषद्को निर्णयअनुसार कम्पनीलाई पाँच लाख रूपैयाँ जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ। कम्पनीले सरकार र सम्बन्धित निकायले दिएको निर्देशनसमेत अवज्ञा गर्दै आएको छ। वातावरण विभागबाट अनुगमन हुँदा गैर कानूनीरूपमा उद्योग सञ्चालन गरेको र वातावरण प्रदूषण गरेको भन्दै ५० हजार रूपैयाँ जरिवानासमेत गराइएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार