विभिन्न राेगले एक वर्षमा २७ कैदीकाे मृत्यु
काठमाडौं : चालू आर्थिक वर्ष २०७५\७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ। विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन्।
कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताए। ‘रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको मृत्यु भएको हो’, उनले भने । सरकारले कैदीको उपचारका लागि केन्द्रीय कारागारभित्र ३० शय्याको अस्पतालसमेत निर्माण गरेर सेवा दिइरहेको छ।
कारागार अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल र गङ्गालाल अस्पतालमा पठाउने गरिएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा. भगतलाल श्रेष्ठले जानकारी दिए।
हाल देशभर झण्डै २१ हजार कैदी छन्। करीब तीन हजार कैदी केन्द्रीय कारागारमा छन्। कारागार अस्पतालमा चालू आर्थिक वर्षमा मात्रै झण्डै पाँच हजार नयाँ तथा पुराना कैदीको उपचार गरिएको छ।
आव २०७४\७५ मा ३२ हजार नयाँ तथा पुराना कैदीको सो अस्पतालमा उपचार गरिएको थियो। मुलुकभर हाल ७२ जिल्लामा ७४ कारागार छन्। चौबीसै घण्टा कैदीको स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएको कारागार अस्पतालले केन्द्रीय कारागारका बिरामीबाहेक देशभरका बिरामीको रोगको प्रकृति हेरेर उपचार गर्दै आएको छ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य