Health TV Online
Health TV Online
Health TV Online

समयमै सचेत भए निकाे हुन्छ पाठेघरकाे क्यान्सर

समयमै सचेत भए निकाे हुन्छ पाठेघरकाे क्यान्सर

चितवन : पाठेघरको मुखको क्यान्सर निको भएका बिरामीले रोग लुकाउन नहुने बताएका छन्। भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बुधबार गरेको पाठेघरको मुखको क्यान्सर विजेताहरूको जमघटमा सहभागी महिलाले यस्तो बताएका हुन्।

माडी नगरपालिका–७ कीर्तनपुर निवासी ४६ वर्षीया गोमालक्ष्मी आचार्यलाई २०७२ माघमा पाठेघरको मुखमा क्यान्सर देखिएको थियो तर अहिले उनलाई यो रोग निको भएको चिकित्सक बताउँछन्। आफूमा रोग देखिँदै गर्दा महिनावारी हुने समयभन्दा अघि नै रगत आउने, पेट दुख्ने, पिसाब गन्हाउने भएपछि अस्पताल आएको आचार्यले बताइन्।

समयमै अस्पताल आएकाले रोग पत्ता लागेर नियमित चिकित्सकको सल्लाहअनुसार उपचार गर्दै जाँदा अहिले पूरै निको भएको भन्दै उनी खुशी देखिन्थिन्। उपचारका क्रममा बाहिरी सेकाइ २३ पटक र भित्री सेकाइ तीन पटक गरेको उनले बताइन्। आचार्यले समस्या लुकाएर बस्नुभन्दा चाँडो समाधान गर्दा जितिने बताइन्। ‘रोग लागेपछि लुकाएर बसेको भए म आज यहाँ हुन्थे कि हुन्थिनँ तर अहिले सबैका अगाडि छु’, उनले भनिन्।

रोग लागेको थाहा भएपछि परीक्षण गरे क्यान्सरजस्तो रोग पनि निको हुने उनको भनाइ छ। भरतपुर महानगरपालिकाको फूलबारी निवासी ७० वर्षीया खुमाया आलेले पनि समयमै यो रोगबारे थाहा हुँदा आफू बच्न सकेको बताइन्। आलेलाई आजभन्दा चार वर्षअघि पाठेघरको मुखको क्यान्सर देखिएको थियो। सुरुमा त उनी डराइन्। अब मरिन्छ कि भन्ने पनि भयो तर उपचारका क्रममा निको हुँदै गएर अहिले आनन्द भएको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका–१२ बसोबास गर्दै आएकी ४९ वर्षीया देवीकुमारी तामाङ अहिले पहिलेको जसरी नै घरमा काम गर्दै आएकी छिन्। उनलाई गत वर्ष भदौमा पाठेघरको मुखको क्यान्सर देखिएको थियो। अहिले रोग निको भएको छ।

आफू बिरामी हुँदा गाउँलेले आश्वासन दिनुभन्दा पनि अब बाँचिदैन भन्ने गरेको सम्झिँदै उनले भनिन्, ‘समयमै रोग पहिचान भयो भने निको हुँदोरहेछ। कसैले पनि रोग लुकाएर नराख्नुस् । रोग लुकाएर राखे ज्यान गुमाउनुपर्छ।’ आफू बिरामी हुँदा घरपरिवारको सहयोग मिलेको भन्दै उनले परिवार पनि सहयोगी भए जस्तोसुकै रोगबाट बच्न सकिने बताइन्।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले पाठेघरको मुखको क्यान्सर निको हुने रोग भएकाले यसबारे जनचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको बताए। महिलामा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर देखिए पनि समयमै उपचार गरे निको हुने उनको भनाइ छ।

अस्पतालको क्यान्सर रोगथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख भोला सिवाकोटीले अस्पतालमा सन् २०१७ मा चार हजार ९७५ नयाँ क्यान्सरका बिरामी थपिएकामा ५४४ लाई पाठेघरको मुखको क्यान्सर देखिएको बताए। उनका अनुसार सन् २०१६ मा चार हजार ७७५ मध्ये ६०५ मा यो समस्या देखिएको थियो भने सन् २०१५ मा चार हजार ५८१ बिरामीमध्ये ५४४ लाई क्यान्सर देखिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार