पाँचथरका सुत्केरीले पाएनन् यातायात खर्च
फिदिम : पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराएका महिलाले यातायात खर्चबापतको रकम पाउन छाडेको दुई महिना बित्यो। प्रदेश सरकारले पर्याप्त बजेट निकासा नगर्दा अस्पतालमा सुत्केरी हुने आमाले विगत दुई महिनादेखि यातायात खर्चबापतको रकम नपाएका हुन्।
नेपाल सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरीलाई एक हजार ४०० यातायात खर्च दिन्थ्यो। चालू आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमार्फत सरकारले उक्त यातायात खर्च दोब्बर पारिएको घोषणा गर्यो। सोहीअनुसार स्वास्थ्य संस्थामा परिपत्रसमेत जारी गर्यो तर, घोषित नीतिअनुसार बजेट निकासा नहुँदा पाँचथर जिल्ला अस्पतालमा सुत्केरी गराउन आउने महिलाले गत मङ्सिरदेखि यातायात खर्चबापतको रकम प्राप्त गर्न नसकेको पाँचथर जिल्ला अस्पतालका प्रमुख, मेडिकल सुपरिटेण्डेण्ट डा. बुद्धिबहादुर थापाले जानकारी दिए।
माथिल्ला निकायको परिपत्रअनुसार अस्पतालले गत साउनदेखि अस्पतालमा सुत्केरी गराउन आउने महिलालाई दुई हजार ८०० रूपैयाँ यातायात खर्च दिन थालेको थियो। पछि निकासा हुने विश्वासमा अस्पताल विकास समितिको बजेटबाट समेत सुत्केरीलाई यातायात खर्च वितरण गरिएको थियो।
अस्पतालले चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा सुत्केरी गराएबापत महिलालाई दुई हजार ८०० का दरले रकम वितरण गरेको थापाले बताए। प्रदेशबाट विनियोजित बजेट सकिएपछि मङ्सिरदेखि सुत्केरी आमालाई यातायात खर्च प्रदान गर्न नसकिएको उनकाे भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण