Health TV Online
Health TV Online
Health TV Online

पाेखरा महानगर ‘हेल्दी सिटी’ बन्छ : महानगरप्रमुख जिसी

पाेखरा महानगर ‘हेल्दी सिटी’ बन्छ : महानगरप्रमुख जिसी

पोखरा : पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नगरलाई ‘हेल्दी सिटी’ बनाउने अभियानका साथ अघि बढ्ने बताएका छन्।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ कार्यान्वयन विषयक अन्तरक्रियामा नगरप्रमुख जिसीले पोखरालाई हेल्दी सिटी बनाउनका लागि पहिलो अभियान स्वरूप सुर्तीजन्य पदार्थको सेवन नियन्त्रण गर्ने बताए। ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र न्यूनीकरण गर्न हामी लागिपरेका छौँ’,उनले भने ‘त्यसका लागि जनप्रतिनिधिलाई खटाएर विशेष अभियान शुरु गर्दैछौँ।’

उनले पोखरामा मौलाएको हुक्का संस्कृतिलाई पनि निश्चित स्थानमा मात्र प्रयोग गर्न सकिने बनाउन पहल गर्ने बताए। महानगरपालिकाले सार्वजनिकस्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग निषेध गर्ने र निश्चित क्षेत्रमा मात्रै सुर्तीजन्य पदार्थ बेचबिखन गर्न पाउने योजना तत्काल शुरु गर्ने उनको भनाइ छ।

अन्तरक्रिया कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पर्यटकीय नगरी पोखराबाट सुर्तीजन्य पदार्थको विकृति हटाउन सबै जनप्रतिनिधि लाग्नुपर्ने बताए। उनले नयाँ पुस्तालाई नसर्ने रोगबाट जोगाउन सुर्तीजन्य पदार्थ नियन्त्रणको नेतृत्व पोखराले लिनेपर्ने धारणा राखे।

कार्यक्रममा द युनियनका एसिया प्यासेफिक क्षेत्रीय उपनिर्देशक  डा. तारासिंह बमले ऐन कार्यान्वयनमा नेतृत्वदायी भूमिका लिन स्थानीय राजनीतिकर्मीसँग आग्रह गरे।

‘पहिलो चरणमा सार्वजनिक स्थलमा चुरोट बन्द गर्ने कामबाट शुरु गरौँ’, उनले भने, ‘पोखरालाई अन्तर्राष्ट्रियस्तरको हेल्दी शहर बनाउन सम्भव छ। यो नमूना शहर बन्नसक्छ।’

कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू सहभागी थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार