स्वास्थ्य मन्त्रालयले समयमै बजेट पठाउन नसक्दा ‘आमा सुरक्षा’ कार्यक्रम प्रभावित
काठमाडौं : स्वास्थ्य मन्त्रालयले समयमै बजेट पठाउन नसक्दा ‘आमा सुरक्षा’ कार्यक्रम प्रभावित भएको छ। यो वर्ष झण्डै दुई अर्ब रुपैयाँ विनियोजन गर्नुपर्नेमा एक अर्ब ७५ करोड रुपैयाँ मात्र पठाएपछि देशभरकै ‘आमा सुरक्षा’ कार्यक्रम प्रभावित भएको हो।
बजेट अभाव भन्दै सयभन्दा बढी स्वास्थ्य संस्थाले सुत्केरीले पाउने रकम समेत दिन नसक्ने भन्दै निवेदन पठाएका छन् । स्वास्थ्यमा सुत्केरी हुने, आमा, नवजात शिशुको मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रम लागू गरिएको हो। स्वास्थ्य संस्थाले बजेट सकिएपछि पछि दिने भन्दै सुत्केरीलाई घर पठाइरहेको बताएका छन् ।
मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले बजेट अभाव भन्दा पनि समन्वय गर्न नसक्दा समस्या भएको बताए। ‘हामीले बजेट बनाउने वेलामा प्रदेश बनेकै थिएन। पछि अस्पतलाको बजेट प्रदेश र स्थानीयमा गयो’,उनले भने, ‘जुन बजेट अस्पतालले चलाउन सक्दैन। त्यसैले आमा सुरक्षा कार्यक्रम प्रभावित भएको हो।’ उनले ती स्वास्थ्य संस्थालाई थप ६९ करोडभन्दा बढी रकम आवश्यक भएको बताए।
सो बजेट स्थानीय निकायबाट अर्थ मन्त्रालयलाई तान्न लगाएर चाहिने स्वास्थ्य संस्थामा पठाउने तयारी गरेको पनि उनले जानकारी दिए ।
सरकारले यो वर्षदेखि आमा सुरक्षा कार्यक्रमको रकम बढाएर दोब्बर बनाए पनि बजेट पुरानै अनुसार पठाएकाेले पनि समस्या भएको उनले बताए। सुत्केरी हुने महिलालाई सरकारले यातायात खर्चकाे नाममा तराईमा ५००, पहाडमा एक हजार र हिमालमा एक हजार पाँचसय दिँदै आएकोमा यस वर्षदेखि दोब्बर बनाएको थियो ।
राजधानीको परोपकार प्रसूति गृहले १८ करोड माग गर्दा चार करोड रुपैयाँ मात्र पाएको छ। अस्पतालले माघ १ गतेदेखि सुत्केरीलाई यातायात खर्च दिन नसक्ने भन्दै मन्त्रालयलाई जानकारी समेत दिइसकेको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’