Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यकर्मीले पाएनन् एक वर्षदेखिकाे भत्ता

स्वास्थ्यकर्मीले पाएनन् एक वर्षदेखिकाे भत्ता

जाजरकोट, जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले एक वर्षदेखि भत्ता पाएका छैनन्। चाहिनेजति स्वास्थ्यकर्मी नहुँदा अस्पतालमा कार्यरत कर्मचारीले अतिरिक्त समयमा काम गरेको भत्ता एक वर्षदेखि पाउन नसकेका हुन्।

स्वास्थ्यकर्मीले गत असारमा ६ महिना पछिमात्र तलब पाएका थिए। तलबका लागि उनीहरुले आन्दोलन नै गर्नु परेको थियो। स्वास्थ्यकर्मीले अतिरिक्त तलब भत्ता पनि केही दिनभित्र उपलब्ध नगराए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

गत असारसम्मको २९ लाख र साउनदेखि मङ्सिरसम्मको १५ लाख गरी ४४ लाख रूपैयाँ विभिन्न तहका स्वास्थ्यकर्मीलाई भुक्तानी दिन बाँकी रहेको अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले बताए। पाँच चिकित्सक, १२ स्टाफ नर्स, तीन स्वास्थ्य सहायक, दुई फर्मासिष्ट, चार ल्याब टेक्निसियन, दुई रेडियोग्राफर, दुई बिलिङ कर्मचारी र १० कार्यालय सहयोगी गरी ४० स्वास्थ्यकर्मीले २०७४ पुस देखि अतिरिक्त समयमा काम गरेको तलबभत्ता नपाएको अस्पतालका प्रमुख डा. लामाले जनाकारी दिए।

अस्पतालका डा. लामाका अनुसार अस्पताल अहिले प्रदेश सरकार मातहत छ तर तलब नगरपालिकामा आउँछ। यसअघि विभाग मातहतमा हुँदा सबै समस्या त्यहीँबाट समाधान हुन्थे अहिले एकले अर्कालाई जिम्मेवारी देखाएर आफू पन्छिने गरेको उनको भनाइ छ ।

चालू आर्थिक वर्षमा अस्पतालका लागि दुई करोड ३३ लाख रूपैयाँ विनियोजन गरिएको छ ।  तलब, दुर्गमभत्ता, महङ्गी भत्तालगायतमा दुई करोड १२ लाख खर्च हुने गरेको छ। बाँकी रकमले रात्रिसेवालगायतको अतिरिक्त भत्ता अपुग हुने अस्पतालकाे भनाइ छ। वर्षमा करिब ५० लाख अतिरिक्त भत्तामा खर्च हुने प्रमुख लामाले बताए।

नौ विशेषज्ञसहित १३ चिकित्सकको दरबन्दी भए पनि हाल पाँच जना मात्र कार्यरत छन्। छ जना स्वास्थ्य सहायकको दरबन्दी भए पनि दुईजना कार्यरत छन्। एकजनाको पदपूर्ति हुन सकेको छैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार