Health TV Online
Health TV Online
Health TV Online

सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव, सञ्चालक र कर्मचारी सम्पर्कविहीन

सुत्केरीको मृत्युपछि अस्पतालमा तनाव, सञ्चालक र कर्मचारी सम्पर्कविहीन

लहान : चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर अगाडि प्रदर्शन गरेका छन्।

हेल्थ केयरमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटिपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगरपालिका–११ निवासी २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका परिवार तथा स्थानीयवासीले प्रदर्शन गरेका हुन्। लापरवाही गर्ने चिकित्सकमाथि कारवाहीको माग गरिएको छ।

मृतकका आफन्तले प्रदर्शन गर्न थालेपछि हेल्थ केयरको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। आफन्तको प्रदर्शनसँगै अस्पतालका सञ्चालक र कर्मचारीहरू सम्पर्कविहीन भएको लहान इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।

भएकाे के थियाे ?

व्यथाले च्यापेपछि बुधबार साँझ लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भर्ना गरिएकी सञ्जुलाई त्यहाँबाट चिकित्सकले विराटनगर वा धरान लैजान सल्लाह दिएका थिए। परिवारले अन्यत्र लैजाने तयारी गरेका वेला एक एम्बुलेन्स चालकले ओम गुरुकुलमा लैजान सल्लाह दिएका थिए।

उनैले आफ्नै एम्बुलेन्समा सञ्जुलाई त्यहाँ ल्याएको आफन्तले बताए। अस्पतालमा भर्ना भएको केही समयपछि त्यहाँका चिकित्सकले सञ्जुकाे शल्यक्रिया गरी बच्चा निकालेका थिए ।

बच्चा जन्मेको केहीबेरपछि सञ्जुको स्वास्थ्य बिग्रिएको थियो। चिकित्सकले रगत चढाउन शुरु गरे पनि विस्तारै उनको अवस्था नाजुक बन्दै गएको थियो। चिकित्सककै सल्लाहमा अक्सिजन लगाएर थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याउन लाग्दा बाटोमै उनको मृत्यु भएको आफन्तकाे भनाइ छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार