दरबन्दी छ, विशेषज्ञ डाक्टर छैनन् रामपुर अस्पतालमा
पाल्पा : जिल्लामै ठूलो सरकारी अस्पतालका रूपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामी मारमा परेका छन्।
५० शय्याको अस्पतालको रूपमा विकसित हुँदै गरेको यो अस्पतालमा भौगोलिक विकटतासँगै पर्याप्त सुविधा नहुँदा विशेषज्ञ डाक्टर यहाँ बसेर जनतालाई सेवा दिन चाहँदैनन्।
विशेषज्ञ डाक्टर छोटो समय बस्ने जाने क्रम यहाँको नियति नै बनेको छ। डेन्टल सर्जनसहित १४ जना डाक्टरको दरबन्दी रहेको अस्पतालमै नियमित बसेर सेवा दिने एकजना पनि विशेषज्ञ डाक्टर नभएको स्थानीयवासीको गुनासो छ।
दुईजना मेडिकल अधिकृत र एकजना डेन्टल सर्जनको भरमा अस्पताल चलेको छ। अस्पतालमा नवौँ र दशौँ तहका विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त छ। विशेषज्ञ तहका डाक्टर अस्पतालमा नहुँदा यहाँका बिरामीले औषधोपचारमा निकै समस्या झेल्दै आएका अस्पतालका पूर्वसञ्चालक समिति अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए।
‘डाक्टर देखिन आउँछन्, एक–दुई महिना बित्न नपाउँदै अन्यत्र जान्छन्’, उनले भने, ‘बिरामीलाई सेवा दिन भन्दा पनि सकेसम्म सुगम स्थानमा बसेर जागिर टिकाउने प्रवृत्ति डाक्टरहरूमा देखिएको छ।’ अस्पतालमा ५९ मध्ये हाल ३२ कर्मचारी मात्रै कार्यरत छन्।
जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा रहेको अस्पतालमा आएका बिरामीलाई विशेषज्ञ डाक्टरकै अभावमा अन्यत्र पठाउने गरिन्छ। रामपुर अस्पतालमा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका नागरिक सेवा लिन आउँछन्।
२०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई सेवा दिँदैआएको यस अस्पताल २०६७ सालमा १५ शय्यामा स्तरोन्नति भएको थियो। २०७० मा ५० शय्यामा स्तरोन्नति गर्ने घोषणा गरिए पनि अहिलेसम्म पनि १५ शय्यामै सीमित छ।
नयाँ भवनको निर्माण कार्य सम्पन्न भएपछि हाडजोर्नी, फिजिसियन सर्भिस, रेडियोलोजिष्ट लगायतका अत्याधुनिक सेवा सञ्चालन हुने दाबी अस्पतालले गरेको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’