Health TV Online
Health TV Online
Health TV Online

थाइल्याण्ड : सुर्तीजन्य पदार्थको ‘प्लेन प्याकेजिङ’ गर्नेमा एसियामा पहिलो राष्ट्र

थाइल्याण्ड : सुर्तीजन्य पदार्थको ‘प्लेन प्याकेजिङ’ गर्नेमा  एसियामा पहिलो राष्ट्र

सुर्तीजन्य पदार्थको ‘प्लेन प्याकेजिङ’ गर्नेमा थाइल्याण्ड एसियाको पहिलो राष्ट्र बनेको छ। विश्व स्वास्थ्य संगठनको अनुसार थाइल्याण्ड कम र मध्यम आय हुनेमध्ये पहिलो राष्ट्र हो, जसले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ गरेको हो।

‘विश्वमा रोक्न सकिने मृत्युको एक मुख्य कारण सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न थाइल्याण्डले साहस गरेको छ र यो कार्य प्रसंशायोग्य छ’, दक्षिण–पूर्वी एसियाको विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंह भन्छिन्, यो कार्यले आफ्नो जनताको हितप्रति रहेको चासो पनि दर्शाउँछ।’

गत हप्तादेखि थाइल्याण्डमा प्लेन प्याकेजिङ कानुन लागु भएको हो। थाई सरकारले ‘टोबाको कन्ट्रोल एक्ट २०१७’ अन्तर्गत २० वर्ष मुनिकाले सुर्तीजन्य पर्दाथ खरिद गर्न नपाउने, चुरोटको खिल्ली अथवा प्याकेटबाट निकालेर बेच्न नपाउने र सुर्तीजन्य पदार्थको विज्ञापन र प्रायोजन पनि गर्न नपाउने उल्लेख छ।

प्लेन प्याकेजिङमा कम्पनीको ‘लोगो’, रङ्ग, ‘ब्राण्ड इमेज’ र प्रचारसम्बन्धी कुनै किसिमको जानकारी राख्न पाइँदैन। थाइल्याण्डको नयाँ कानुन अनुसार सेप्टेम्बर २०१९ सम्म सबै किसिमको सुर्तीजन्य पदार्थमा प्लेन प्याकेजिङ हुनेछ भने हाल ८५ प्रतिशत भागमा चेतावनी मूलक सन्देश रहेको छ।

नयाँ धूमपान गर्ने र गरिरहेकोलाई लक्षित गरेर बनाएको प्लेन प्याजिङको कानुनले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने प्रयासलाई अझ बढी अगाडि बढाउने अनुमान रहेको छ। थाइल्याण्डमा ११ मिलियन व्यक्ति सुर्तीजन्य पदार्थको प्रयोग गर्छन् भने ३५–५४ वर्ष भएको ५० प्रतिशत पुरुष र प्रत्येक पाँचमध्ये एक वयस्कले धूमपान गर्ने गरेका छन्।

युवावर्गले अझ बढी सुर्तीजन्य प्रयोग गर्ने भएको हुँदा यो अझ बढी चिन्ताको विषय बनेको छ। १३–१७ वर्ष उमेर भएका ६ मध्ये एकले धूमपान गरेको पाइन्छ। विश्वभर सुर्तीजन्य पदार्थको प्रयोगले ७० लाख भन्दा बढीको मृत्यु हुने गरेको छ। यो संख्या सुर्तीजन्य पदार्थ प्रयोग गर्नेमध्येको आधा हो।

सुर्तीजन्य पदार्थको प्रयोग नसर्ने रोग जस्तै हृदयाघात, मस्तिष्काघात, क्यान्सर, जटिल श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेहको मुख्य कारण पनि बनेको छ। थाइल्याण्डमा  ७० प्रतिशत मृत्यु नसर्ने रोगबाट हुने गरेको छ।

सुर्तीजन्य पदार्थ स्वास्थ्य समस्या मात्र नभएर सामाजिक र आर्थिक समस्या पनि हो। सुर्तीजन्य पदार्थ प्रयोगकर्ता जसको मृत्यु अकालमा नै हुन्छ, याे कारणले परिवारमा आर्थिक समस्या हुने, स्वास्थ्यको हेरचाहमा बढी खर्च हुने र आर्थिक विकासमा पनि समस्या आउने गरेको छ।

सन् २००९ मा सुर्तीजन्य पदार्थको कारणले थाइ सरकारले ७५ अर्ब भाट को घाटा बेहोर्नु परेको थियो। नसर्ने रोगको बढ्दो महामारी टाढा राख्न विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसियाको यो एक प्राथमिकतामा रहेको कार्यक्रम हो।

क्षेत्रीय निर्देशक सिंहका अनुसार विश्व स्वास्थ्य संगठन सुर्तीजन्य पदार्थको घातक प्रभावबाट वर्तमान र भविष्यका पिँढीकाे रक्षाका लागि थाइल्याण्ड र अन्य सदस्य राष्ट्रलाई समर्थन गर्न प्रतिबद्ध छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार