Health TV Online
Health TV Online
Health TV Online

कैलालीमा एआरटी खाने बढे

कैलालीमा एआरटी खाने बढे

कैलाली : जिल्लामा एक हजार २६१ एचआईभी सङ्क्रमितले एन्टी रेक्टोभाइरल (एआरटी) औषधि खाइरहेका छन् । आर्थिक वर्ष २०७२\७३ मा ९९८, वर्ष २०७३\७४मा एक हजार १५४ र वर्ष २०७४\७५ मा एक हजार २४१ ले यो औषधि खाइरहेका थिए।

जिल्लाको टीकापुर अस्पताल र धनगढीस्थित सेती अञ्चल अस्पतालमा रहेको एआरटी सेन्टरमार्फत यी बिरामीलाई उक्त औषधि उपलब्ध गराउने गरिएको छ। यस बाहेक गोदावरी नगरपालिकाको मालाखेती अस्पतालबाट पनि गएको साउनदेखि एचआईभीसङ्क्रमितलाई एआरटी औषधि खुवाउन थालिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक महेश चन्दले जानकारी दिए।

एआरटी औषधि खानेमध्ये सबैभन्दा बढी महिलाको सङ्ख्या ६५४ छ। वयस्क पुरुष ४८४, समलिङ्गी १४ जना र बालबालिकाको सङ्ख्या १०९ छ। यो रोगप्रति बढेको चेतनाका कारण सङ्क्रमितहरू पहिलेको तुलनामा खुलेर आउन थालेको र रोग निदान तथा उपचारमा सरकारले अपनाएको नीतिका कारण पछिल्ला वर्षमा यो रोगबाट मृत्यु हुने क्रम घटेको पाइएको एचआईभी एड्स रोकथामको क्षेत्रमा कार्यरत एड्स हेल्थ केयर सेन्टरका माधव पन्तले बताए।

जिल्लामा गतवर्ष जम्मा छ हजार ४८१ जनाको एचआईभी जाँच गरिएकोमा ११५ जना सङ्क्रमित फेला परेका थिए। गएको साउनदेखि कात्तिकसम्म थप ६९३ जनाको जाँच गरिएकोमा २८ जना सङ्क्रमित फेला परेका छन्। एचआईभी देखिनेमध्ये सबैभन्दा बढी भारतमा काम गरेर फर्किने पुरुष कामदार र तिनका परिवार रहेको पाइएको एआरटी सेन्टरका लोकराज पनेरुले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार