शुक्लाफाँटाका स्वास्थ्य संस्थामा चौबिसघण्टे बर्थिङ सेन्टर
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा रहेका चार स्वास्थ्य संस्थामा चौबिसघण्टे बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। पिपलाडी, झलारी, पिताम्बर स्वास्थ्यचौकी र बन्साहा शहरी स्वास्थ्य क्लिनिकमा चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गरिएको हो।
सबै बर्थिङ सेन्टरमा दक्ष जनशक्ति र अन्य भौतिक पूर्वाधारको विकास गरिएको छ। दुर्गमका बासिन्दालाई सेवा दिन बर्थिङ सेन्टर सञ्चालन गरिएको हो। सबै बर्थिङ सेन्टरमा प्रयोगशाला समेत स्थापना गरिएका छन्।
बर्थिङ सेन्टरमा मासिक रूपमा २५ भन्दा बढी महिलाले प्रसूति गराएकाे नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तीर्थराज भट्टले बताए। नियमित गर्भ जाँच गराउने र प्रसूति हुन आउने महिलालाई प्रोत्साहन भत्ताको रकम दिन थालिएपछि घरमै सुत्केरी हुने महिलाको सङ्ख्या नगन्य रहेको उनले बताए। नियमित गर्भजाँच गराउनेलाई ८०० रूपैयाँ र बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई एक हजार रूपैयाँ प्रोत्साहन रकम प्रदान गरिँदै आएको छ।
गर्भजाँच गराउन आउने महिलाको सङ्ख्या मात्रै दैनिक १० देखि १५ सम्म रहेको छ। गर्भवती भएकामध्ये बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाको सङ्ख्या ९५ प्रतिशत रहेको छ । जटिल प्रकारको प्रसूतिका लागि बर्थिङ सेन्टरबाटै एम्बुलेन्सको व्यवस्था गरी सुविधायुक्त अस्पतालमा पठाउने गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’