Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर उपचारमा ‘मोलिक्युलर ट्युमर बोर्ड’ काे महत्त्व

क्यान्सर उपचारमा ‘मोलिक्युलर ट्युमर बोर्ड’ काे महत्त्व

हेल्थ टिभी अनलाइन : क्यान्सर उपचारमा सम्भावित सबै उपचार र विकल्पहरु खोजेर उच्च स्तरीय सेवा दिने उद्धेस्यले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा नेपालमै पहिलोपटक मोलिक्युलर ट्युमर बोर्ड गठन भएको छ । क्यान्सर बिरामीको उपचारमा सम्भावित सबै विकल्पहरु खोज्ने तथा विश्वमा चलिरहेका उच्च स्तरीय उपचार सेवा दिनु नै यस बोर्डको मुख्य उद्धेस्य हो । विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरुको सहभागितामा क्यान्सर उपचारमा उच्चतम प्रतिफल ल्याउनका लागि गठन भएको उक्त मोलिक्युलर ट्युमर बोर्ड को महत्व के छ ? यसले के काम गरिरहेको छ भन्ने विषयमा बोर्डकी संयोजक डा सुस्मिता शर्मासँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी :

के हो मोलिक्युलर ट्युमर बोर्ड ? के काम गर्छ यसले ?

पछिल्लो समय क्यान्सर उपचारमा नयाँ नयाँ विधि र प्रविधि भित्रिएका छन् । जसले गर्दा क्यान्सरको उपचारमा उच्च सफलता पनि पाउन थालिएको छ । क्यान्सर उपचारलाई अझ बढी सफल बनाउनका लागि हामीले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा मोलिक्युलर ट्युमर बोडको गठन गरेका छौं । क्यान्सरको उपचारमा कहिलेकाहीं सिटी स्क्यानमा हेर्दा ट्युमर देखियो तर कन्फुजन हुन्छ, कहिलेकाहीं बायोप्सी रिपोर्टमै अलमल हुन्छ के गर्ने भन्ने ? यस्ता जटिल खालका रोग पत्ता लगाउन र उपचारको निर्णयमा कहिलेकाहीं एक्लो डाक्टरलाई गाह्रो हुन्छ । यो बेला धेरै जना विशेषज्ञहरु बसेर केस छलफल गरेर कसरी अघि बढ्ने होला भन्ने गहन छलफल हुने गर्छ । यसकै लागि बोर्ड बनाइएको हो । यसमा मेडिकल अंकोलोजिस्ट, सर्जिकल अंकोलोजिस्ट, प्याथोलोजिस्ट, जेनेटिक काउन्सिलर, रेडियोलोजिस्ट, नर्स लगायतका विज्ञहरुको सहभागिता हुन्छ । यस बोर्डले के गर्छ भने क्यान्सर उपचारमा बिरामीको अवस्था र क्यान्सरको प्रकृति अनुसार विभिन्न विज्ञहरुको सरसल्लाह लिएर मात्र उपचार सुरु गर्छ ।

ट्युमर बोर्ड भनेको क्यान्सर उपचारका जटिल केसहरुमा के कस्ता उपचार विधिहरु प्रयोग गर्ने ? कसलाई कस्तो खालको उपचारको आवश्यकता हुन्छ भन्ने छलफल गर्ने र एउटा सामूहिक निर्णय गरेर उपचार सुरु गर्न बनेको बोर्ड हो । यसमा क्यान्सर उपचारमा जोडिने विभिन्न विभागहरु जस्तै रेडियोलोजी, किमोथेरापी, प्याथोलोजी लगायतका विभागका विज्ञहरु बसेर आ आफनो राय सल्लाह दिने गरिन्छ । यस्तो अभ्यास विकसित देशहरुमा र ठूला अस्पतालहरुमा हुने गर्छ । जुन हामीले पनि यहाँ सुरु गरेका छौं ।

यसैगरी मोलिक्युलर ट्युमर बोर्ड भनेको चाहिं बिरामीहरुको मोलिक्युलर टेस्टहरु हेर्ने र त्यही अनुरुपका जेनेटिक काउन्सिलर, प्याथोलोजिस्ट, क्यान्सरका विज्ञहरु बसेर कुन बिरामीको कुन विकार हो त्यही अनुसार उपचार गर्न छलफल र राय सल्लाह दिने गरिन्छ । एक्लै निर्णय लिन कतिपय क्यान्सरमा अप्ठेरो हुन्छ । यसरी धेरै जना आ आफनो क्षेत्रका विज्ञहरु बसेर छलफल गर्दा बिरामीको रोगको सही पहिचान मात्र हैन उपचारमा पनि सजिलो हुने गर्छ ।

क्यान्सर भनेको पहिले पहिले फोक्सोको क्यान्सर, स्तन क्यान्सर भनेपछि सबैलाई एउटै खालको उपचार हुन्थ्यो । तर अहिले फोक्सो क्यान्सरमा पनि विभिन्न कारणले हुनसक्छ र स्तन क्यान्सर पनि विभिन्न कारणले हुन्छ त्यसको उपचार पनि फरक फरक हुन्छ । बिरामीको कुन जिनमा खराबी हो सोकोबारेमा जानकारी लिएर सोही अनुसार उपचार गर्न सजिलो हुन्छ । जेनेटिक रोग पनि किन भयो ? हाम्रो रहनसहनका कारण हो की? खानपानका कारण होकी ? सो पत्ता लगाएर फरक फरक उपचार गर्नुपर्ने हुन्छ । जेनेटिक टेस्टमा म्युटेसन देखियो भने कस्तो विकार हो अब कसरी उपचार गर्ने सबै प्याथोलोजिस्ट, जेनेटिक विज्ञ, क्यान्सर विज्ञ सबै बसेर हेछौं र अब कसरी कुन उपचार गर्ने भन्ने छलफल हुन्छ ।

अहिले फरक फरक क्यान्सर विभिन्न कारणले हुन्छ । जीनमा डिफेक्ट किन आयो त ? भन्ने हेछौं । एउटा विकार भएकोमा एउटा औषधिले छुन्छ । अर्कोलाई अर्कोले, बिरामी पिच्छेको उपचार फरक गर्नुपर्ने हुन्छ । बिरामीको ‘जिनोमिक’ आधारमा उपचार गर्दा धेरै नै रामो रिजल्ट आउँछ जुन हामीले यहाँ जेनेटिक अंकोलोजीका रूपमा सुरु गरिसकेका छौं ।

इम्युनोथेरापी, टारगेटेट थेरापी, यी बिरामीको डिफेक्टको आधारमा दिइने उपचार हुन्। हामीकहाँ अझै पनि जेनेटिक काउन्सिलर कम छन्। त्यसैले अहिले हामीले इन्डियाको एउटा ल्याबसँग सहकार्य गरेर यो काम गरिरहेका छौं । यो अन्तत: बिरामीकै फाइदाका लागि नै हो ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार