Health TV Online
Health TV Online
Health TV Online

मेरूदण्ड भाँचिएपछि आठ वर्षदेखि ओछ्यानमा थला

मेरूदण्ड भाँचिएपछि आठ वर्षदेखि ओछ्यानमा थला

डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका–७ का ४९ वर्षीय हरिमान रोकाय जीवनमरण दोसाँधमा छन्। उनी ओछ्यानमै थला परेको आठ वर्ष भयो। शरीरलाई चलायमान बनाउने मेरुदण्ड (ढाड)नै भाँचिएपछि उनी थला परेका हुन्।

२०६८ वैशाख १ गते छतको छेउमा सुतिरहेको बेला त्यहाँबाट खसेर उनको मेरुदण्ड भाँचिएको थियो। स्थानीय अहेवले ७२ घण्टभित्रै उपचारका लागि जिल्ला बाहिरका ठूला अस्पताल लगे उनको ज्यान बच्ने बताएपछि आफन्तको सहयोगमा उपचारका लागि नेपालगञ्ज लगियो।

नेपालगञ्जमा उपचार सम्भव नभएपछि काठमाडौं शिक्षण अस्पताल लगियो। अस्पतालमा तीन दिनसम्म बस्दा चिकित्सकले उपचार नहुने भन्दै जोरपाटीमा रहेको अस्पतालमा लैजान सुझाव दिए। त्यसपछि जोरपाटीमा रहेको अस्पतालमा १४ दिनसम्म उपचार गराएको हरिमानले बताए।

त्यसपछि थप उपचारका लागि भैँसेपाटीमा रहेको एक अस्पतालमा पठाइयो। भैँसेपाटीमा तीन महिना उपचार गराएपछि पनि राम्रोसँग उपचार हुन सकेन। चिकित्सकले अझै अस्पतालमा बसेर उपचार गर्नुपर्ने बताए पनि खर्च अभावका कारण सासमात्र लिएर घर फर्किनुपरेको उनले जानकारी दिए।

काठमाडौंको महंगाे बसाइ, औषधि उपचार खर्च धान्न नसक्दा उपचार हुननसकेको उनले बताए। आठ वर्ष पहिला परिवारमात्रै नभई विपन्न, असहाय छिमेकीको समेत सहारा बन्ने उनी अहिले अर्काको सहारामा जीवनमरणको दोसाँधमा छन्। उपचारका लागि राजधानीका विभिन्न अस्पतालमा गए पनि आर्थिक अभावका कारण लाखौँ पैसा तिर्न नसक्ने भएकाले उपचार नगरेर फर्किएको उहाँका भाइ विष्णुमान रोकायले जानकारी दिए।

‘निको हुने आशामा सात लाख खर्च भइसक्यो तर अवस्था उस्तै छ। चिकित्सकले २५\३० लाख भयो भने उपचार हुन्छ भनेका छन् यत्रो पैसा घरखेती बेचेर पनि आउँदैन’, उनी रूँदै भन्छन्, ‘आफूलाई असह्य पीडा त छँदैछ मेरै कारणले परिवारलाई झन् दुःख भएको छ। मर्न पाए सुख हुन्थ्यो।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार