Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डायलासिस निःशुल्क भएर के गर्नु, अरू खर्च धान्नै गाह्राे

डायलासिस निःशुल्क भएर के गर्नु, अरू खर्च धान्नै गाह्राे

अघिल्लो पुस्तामा रेडियो नेपाल सुन्नेमध्ये दाहाल यज्ञनिधिलाई नचिन्ने कमै होलान्। तिनै चिरपरिचित अवाजका धनी दाहाल विगत ६ वर्षदेखि सातामा दुईपल्ट अस्पताल धाउँछन्। अस्पतालको एउटा कक्षको कुनामा राखिएको शय्यामा लमतन्न परेका दाहालको छेवैमा उनीसँग टाँसिएका लामा लामा पाइपसहित मेसिन जडान गरिएको छ। त्यो देख्दा लाग्छ उमेरले सात दशक पुग्नै लागेका उनी मेसिनको सहारामा मात्र बाँचिरहेका छन्।

मृगाैला बिग्रिएको वर्षाैँ भइसक्यो। उनले एकपल्ट प्रत्यारोपण समेत गरिसके तर फेरि पुरानै अवस्थामा आइपुगे। किनकी उनले फेरेको मृगाैला पुनः काम नलाग्ने भयो। अब उनलाई कसैले मृगाैला दिन मिलिरहेको छैन र प्रत्यारोपणका लागि समेत रकम अभाव छ। अहिले उनी डायलासिसको भरमा जीवन बिताइरहेका छन्।

सरकारले मृर्गौला बिग्रेका बिरामीका लागि निःशुल्क डायलासिस गर्ने सुविधा ल्याउनुपूर्व करिब १५\१६ लाख रुपैयाँ खर्च भइसक्यो। ‘अहिले निःशुल्क प्रदान गरिएको सेवा लिँदा पनि मासिक १५\२० हजार खर्च हुन्छ’, उनी भन्छन्, ‘आफूले काम गर्नसक्ने तागत पनि रहेन। जेनतेन गरी डायलासिस गरिरहेकै छु।’ तर कतिञ्जेल? उनीसँग जवाफ छैन।

नेपाल सरकारले मृगौला खराब भएका बिरामीको उपचारमा सहयोग स्वरुप प्रत्यरोपण गर्नुपूर्व गरिने उपचार विधि हेमोडायलासिस निःशुल्क गरेको छ। तर बिरामीले सेवन गर्ने औषधि, रगत जाँच गर्न, सुई लगाउन, समय समयमा रगत फेर्न, दुर्गम गाँउबस्तीबाट सातामा कम्तीमा दुईपल्ट आवत जावतमा लाग्ने खर्च र खानपानलगायतमा हुने खर्च पनि सबैले धान्न सक्दैनन्।

घरमा कमाउने कोही पनि नभएको र डायलासिस गर्नका लागि पनि खर्च धान्न नसक्ने अवस्था भएकी काठमाडौं स्वयम्भूकी चम्पा तामाङले निराश हुँदै भनिन्, ‘विगत ६ वर्षदेखि निरन्तर हप्तामा दुईपल्ट डायलासिस गराउँदै आएकी छु। मृगौला दिने पनि कोही छैन। दिइहाले पनि प्रत्यारोपण गर्नलाई पैसा छैन।’

धादिङका तेज गिदेलमगरको पीडा पनि उस्तै छ। कमाउने र परिवारको सुखका लागि परिश्रम गर्ने युवा उमेरमा नै उनि अस्पतालको शय्यामा थला परेका छन्। हप्तामा दुईपल्ट डायलासिस नगराई बाँच्न नसकिने भएकाले हरेक पल्ट घरबाटै उपचारका लागि अस्पताल धाउँछन उनी। उनलाई मृगौला दिने मानिस नभएकाले विगत तीन वर्षदेखि निरन्तर हेमोडायलासिसको भरमा बाँचिरहेका छन्। तेज हेमोडायलासिसका लागि सातामा दुईपल्ट घरबाटै आउने जाने गर्छन्।

यसरी आउँदा जाँदा मासिक कम्तीमा १५\२० हजार लाग्ने गरेकोले निःशुल्क प्रदान गरिएको सेवा समेत लिन नसकिने आवस्था भएको गुनासो गर्छन्। आफूलाई मृगौला दिन मिल्ने कोही पाएका छैनन् र यदि कसैले दिन मिल्ने भए पनि आफूले मृगौला प्रत्यारोपण गर्दा लाग्ने खर्च समेत जोहो गर्नसक्ने अवस्था नरहेको बताउँछन्। रकम अभाव छ। तै पनि बाँच्ने आशामा आफ्नो शरीरलाइ मेसिनको भरमा प्राण दिइरहेकी छिन्।

काठमाडौंमा डेरा गरेर बस्नलाई महंगो पर्ने र आउँदा जाँदा पनि धेरै नै पैसा चाहिने। तर ज्यान बचाउन हप्तामा दुईपल्ट डायलासिस गर्नैपर्ने। अझ कतिपयलाई सातामा तीनपल्टसम्म पनि डायलासिस जरुरी हुन्छ। विपन्न र निम्न आय भएका बिरामीलाई यो ज्यादै कठिन अवस्था हो। सरकारले प्रदान गर्ने निःशुल्क डायलासिस सेवा प्रत्यारोपणपूर्व गरिने जीवन बचाउने आधार मात्र हो।

विगत सात वर्षदेखि राष्ट्रिय मृगौला उपचार केन्द्रमा हेमोडायलासिस सेवा लिँदै आएकी प्रमिला श्रेष्ठ पनि मेसिनको भरमा बाँचेकी छिन्। नुवाकोट घर भई हाल काठमाडौंमा बसेर सरकारले प्रदान गरेको निःशुल्क सेवाले प्राण धानेकी छिन। हेमोडायलासिस निःशुल्क लिए पनि हप्तामै ८\९ हजार खर्च हुन्छ उनको। उनीसँगै हेमोडायलासिसका लागि आएकी सीता रानाको दुखेसो पनि उस्तै छ। साढे तीन वर्षदेखि हेमोडायलासिसलाई सहारा बनाउँदै बाँचिरहेकी छिन्।

आफूलाई मृगौला दिने कोही नभएको र पैसा पनि नभएकाले यसरी कष्टकर जीवन बाँच्न बाध्य छिन् उनी। बहिनीहरूसँग मागेरै खर्चको जोहो गर्दै अहिलेसम्म बाँचिरहेको सुनाउँछिन्। आफूसँग पैसा भएको बेला मात्र खाने गरको र अरु समयमा औषधि नखाईकनै हेमोडायलासिसको भरमा प्राण धानेको बताउँछिन्। उनी भन्छिन्, ‘हरेक महिना ‘चेकअप गराउनु पर्छ तर, पैसा नहुँदा तीन महिनामा मात्र गराउने गरेकी छु।’

राष्ट्रिय मृगौला उपचार केन्द्रमा मात्र हाल विभिन्न सिफ्टमा गरेर ५ सय जना बिरामीले हेमोडायलासिस सेवा लिइरहेका छन्। देशभरिका विभिन्न अस्पतालबाट सरकारले हेमोडायलासिस सेवा प्रदान गर्दै आएको छ। नेपालको प्रत्यारोपण ऐनअनुसार मृर्गौला दिनका लागि नाता पर्ने हुन जरुरी छ। यसले गर्दा अधिकांश बिरामी आफ्न्तको मृर्गौला लिन नमिल्ने र अरुको सरकारले लिन नदिने कारणले हेमोडायलासिसको भरमा जीवन बचाइराखेका छन्।

आफूले मृगाैला नपाउने भन्ने थाहा हुँदाहुँदै पनि हेमोडायलासिसको भरमा बाँचिरहेका छन् धेरै बिरामी। सरकारले निःशुल्क प्रदान गरेको सेवाका कारण सयौँ बिरामीले राहत महसुस गरेका त छन्। तर निम्न आय भएका बिरामी भने अरु आवश्यक खर्च जुटाउन नसक्दा प्रत्यारोपण त परको कुरा हेमोडायलासिस समेत गराउन नसक्ने अवस्थामा छन्।

प्रस्तुति– बालुराम जोशी

थप समाचार