‘७५ वर्ष पुगेका आमाहरू पनि छाला टाइट बनाइदिनु पर्यो भन्दै आउँछन्’

उमा पौडेल नौ वर्षदेखि बानेश्वरमा रहेकाे क्युटिस केयरमा कार्यरत छिन्। उनी त्यहाँकी कस्मेटिक नर्स हुन्। यसपालिको नर्सका कुरामा उमासँग गरिएको कुराकानी–
नौ वर्षअघि भर्खर प्लस टु दिएर बसेकी थिएँ। ‘टाइम पास’ हुन्छ भनेर छालारोग एवम सौन्दर्य विशेषज्ञ डा धर्मेन्द्र कर्णको क्लिनिकमा काम गर्न आएँ। पहिले क्लिनिक अर्कै नाममा थियो । यहाँ आएपछि यही ‘फिल्ड’मा काम गर्न मन लाग्यो र यही विषय पढ्न रुचि भयो। त्यसैले मैले बानेश्वरमै कलेजमा यही विषय पढ्न थालेँ। त्यही बिचमा तालिम पनि लिए। शुरुमा म प्रशासनतर्फ काम गर्थे ।
अन्य अस्पतालमा र यहाँ काम गर्नुमा अलि फरक छ। किनकी यहाँ ‘इमरजेन्सी’ बिरामी आउँदैनन । यहाँ त धेरै जना रोग सँगसँगै राम्रो कसरी बन्ने भनेर आउँछन्।
हाम्रो क्लिनिक विशेषतः छालारोगसँग सम्बन्धित छ देख्दा छाला मात्र भए पनि यसको क्षेत्र धेरै नै फराकिलो छ। मैले पनि पछि मात्र बुझेकी हुँ। धेरै बिरामी डण्डीफोर, चायापोतो, दादका समस्या समाधान गर्न, दाग हटाउन र कपाल प्रत्यारोपण गर्न आउने धेरै हुन्छन्। योसँगै समस्या नै नभएका तर राम्रो देखिन पर्यो भन्दै सेवा लिन आउनेहरूको संख्या पनि धेरै छ।
म यहाँको पुरानो स्टाफ हुँ। त्यसैले मैले छालारोग र योसँग सम्बन्धित विभिन्न तालिम पनि लिएको छु। विशेषतः मेरो काम भनेको यहाँ लेजर र केमिकल पिलिङमा हुन्छ। यो मेरो विशेषज्ञता हो। यसमा मैले विशेष तालिम पनि लिएकी छु।
हामीकहाँ विभिन्न किसिमका लेजरहरू पनि छन् जो अनुहारमा भएको दाग, चायापोतो र चाउरीपना हटाउन प्रयोग गरिन्छ। यो एक किसिमको मेसिन हो । यसलाई चलाउन विशेष सिप चाहिन्छ। जोकोहीले यो प्रयोग गर्न सक्दैनन्। अझ हामीकहाँ त डाक्टरले मलाई पनि चलाउन दिनुहुन्न। म सबै तयारी गर्दिन्छु तयारीमा निकै समय लाग्छ। अन्तिममा डाक्टरले नै लेजर गर्नुहुन्छ। यसमा तयारी असाध्यै महत्वपूण मानिन्छ ।
यसमा महिलाहरूले बढी सेवा लिइरहेका छन्। त्यसाे त पुरूष पनि आउँछन्। हामीकहाँ ‘डायड लेजर’ छ, जसको काम शरीरमा भएका अनावश्यक रौँ हटाउने हो । यो पनि मेसिनको सहायताले गर्नुपर्ने हुन्छ। यसमा बढी नै केयर गर्नुपर्ने हुन्छ। यसकाे पनि मैले तालिम लिएकी छु । बिरामीलाइ लेजरका लागि तयार पारेर डाक्टरसँगै बसेर हेल्प गर्नुपर्ने हुन्छ ।
पैसा तिरेर राम्रो बन्न आउँदा तुरुन्त रिजल्ट खोज्छन्। तर यसमा समय लाग्छ। कतिपयले धैर्य नै नगरी हामीलाई गाली गर्न आउँछन्। ‘यति पैसा खर्च भइसक्यो। अनुहार राम्रो भएन। दाग गएन’, उनीहरूको गुनासो हुन्छ। हामी सम्झाउँछौँ। समय लाग्छ। जान्छ भनेर।
हामीकहाँ पुरुष भन्दा महिलाहरू नै बढी आउँछन्। सायद यो सौन्दर्यसँग जोडिएर पनि होला। कतिपय त अनेकौँ कस्मेटिक सामग्री लगाएर पूरै अनुहार बिगारेर आउँछन्। यहाँ उपचार गरेर जाँदा जुन परिवर्तन आउँछ, त्यसबाट निकै खुशी हुन्छन्।
पहिले पहिले त बिरामी कम थिए। तर आजभोलि त निकै घुइँचो हुन्छ जनचेतना बढेर पनि होला, सामान्य समस्या हुनेबित्तिकै आउँछन्। अझ रमाइलो कुरा त के भने ७०\७५ वर्ष पुगेका आमाहरू पनि ‘ल नानी मेरो छाला टाइट बनाइदिनु पर्यो’ भन्दै आउँछन्। कतिपय विभिन्न ‘ट्रिटमेन्ट’ पनि गराएर जान्छन्। सोच्छु, राम्री हुन त कसलाई मन नलाग्दो हो र!
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights