‘बिरामीको मुस्कान नै नर्सको खुशी हो’

‘बिरामीको मुस्कान नै नर्सको खुशी हो’

तनहुँकी अञ्जु सुवेदी काठमाडौंस्थित वीर अस्पतालमा कार्यरत छिन्। नाक–कान–घाँटी विभागमा नर्सिङ  इञ्चार्ज रहेकी नर्स अञ्जुका कुरा यो पटकको नर्सका कुरामा

सानैदेखि कसैको दुःख देख्न सक्दैनथेँ। गरिब, दुःखी, असहाय र अशक्तहरूको सेवा गर्न मन लाग्थ्यो। स्कुल पढ्दा फलोरेन्स नाइटिंगेलको पाठ पढेपछि म उनीबाट प्रभावित भएँ। नर्सको पहिरन र उनीहरूले बिरामीको सेवा गरेको देखेर प्रभावित हुन्थेँ। त्यही वेलादेखि म पनि नर्स बनेर बिरामीको पीडामा मलम लगाउन सक्छु भन्ने सोचेको थिएँ।

२०६७ सालमा तनहुँ भिमादस्थित जनज्योति उच्च माध्यमिक विद्यालयबाट एसएलसी गरेँ। साथीहरू ‘यो पढुँ, ऊ पढुँ’ भन्दै थिए। मचाहिँ कतै मन नडुलाई पोखरास्थित पोखरा क्याम्पस पुगेँ, नर्सिङ पढ्न थालेँ। त्यतिवेला एसएलसी पास गरेका केटीहरूमा नर्सिङप्रति आकर्षण थियो। पढाइमा मलाई छुट्टै किसिमको ऊर्जा महशुस हुन्थ्यो। मैले नर्सिङ पढेर केही गर्नु पर्छ भन्ने लाग्थ्यो।

६ वर्षअघि पीसीएल सकेर भरतपुर अस्पताल पुगेँ। विभाग थियो, प्रसूति। काम गर्न शुरु गर्दा सानै थिएँ। परिपक्व थिइनँ। प्रसूति गराउने काम सहज थिएन। सुत्केरी गराउने क्रममा धड्कन तलमाथि भएर बच्चलाई केही होला भन्ने डर लाग्थ्यो। त्यहाँ दुई वर्ष काम गरेँ।

त्यसपछि नेपालगञ्ज नर्सिङ क्याम्पस पगेर नर्सिङमा स्नातक अध्ययन गर्न थालेँ। तीन वर्षे पढाइसके पश्चात् २०७२ सालको भुकप्मले थिलथिलो पारेको गोरखा सदरमुकाममा रहेको जिल्ला अस्पतालमा काम गर्न पुगेँ। सानो अस्पताल भए पनि जनरल, प्रसूति, बच्चाको विभाग, अप्रेसन थिएटर सबै थियो। त्यहाँ रहँदा प्रसूति तथा बच्चाको विभागमा रहेर काम गरेँ।

०७५ सालदेखि म वीर अस्पतालको नाक–कान–घाँटी विभागमा नर्स अधिकृतको रूपमा कार्यरत छु। सरकारी, देशकै पुरानो र जेठो अस्पताल भएकाले देशका कुनाकुनाबाट बिरामी उपचारार्थ आउँछन्। यहाँ आउने बिरामी प्रायः धेरै पीडामा परेर आउँछन्। अझ कतिपय त अस्पताल आएर डाक्टर–नर्सले छुनेवित्तिकै निको हुने विश्वास गर्छन्।

कतिपय बिरामीलाई बुझाउने अनेकौँ प्रयास गर्दा पनि कुरै बुझ्दैनन्। भनेको नमान्दा साह्रै दुःख लाग्छ। त्यस्तो अवस्थामा हामी स्वास्थ्यकर्मी आपसमा मिलेर बिरामीलाई सरल र सहज तरीकाले बुझाउने प्रयास गर्छौँ। आफूले हेरेको बिरामी पछि फर्केर खोज्दै आएको देख्दा निकै आनन्द महशुस हुन्छ। यो पेशामा अझ राम्रो गर्ने जोश आउँछ।

डाक्टर वा नर्स हुन् स्वास्थ्यकर्मीको मुख्य उद्देश्य भनेको बिरामीलाई कसरी निको पारेर घर फर्काउने हो। अस्पततालमा डाक्टर वा नर्स एक्लैले कुनै पनि काम गर्न सक्दैन। बिरामीको उपचार गर्ने क्रममा डाक्टर र नर्सले उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्। डाक्टर र नर्स भनेको एक रथका दुई पाङ्ग्रा जस्तै हुन्।

रोजेको पेशामा रहन पाउँदा निकै खुशी छु। मेरो परिवारको पूरा साथ सहयोग माया हौसला पाएर यहाँसम्म आइपुगेकी छु। परिवारको साथ सहयोग नभएको भए सायद यो पेशामा असहज हुन्थ्यो होला। यो पेशा लागेकालाई अहिले सम्मानको दृष्टिले हेरिन्छ। त्यसैले पनि सही क्षेत्रमा लागेको रहेछु भनेर गर्व महशुस हुन्छ।

थप समाचार

‘बिरामीको मुस्कान नै नर्सको खुशी हो’

‘बिरामीको मुस्कान नै नर्सको खुशी हो’