‘बिरामीसँग सबैभन्दा नजिकका भनेका नर्स नै हुन्छन्’

‘बिरामीसँग सबैभन्दा नजिकका भनेका नर्स नै हुन्छन्’

२० वर्षअघिदेखि नर्सिङ पेशामा रहेकी सबिता पौडेल हाल ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा नर्सिङ सुपरभाइजर एवं नर्सिङ प्रशिक्षक छिन्। उनै नर्स सबिताका कुरा यो पटकको नर्सका कुरामा–

सानैदेखि अरुको सेवा गर्ने, बिरामी र अशक्तहरूको सेवा गर्ने इच्छा पलाउँथ्यो। कोही दुःखमा परेको मानिस देखे कसरी सेवा गर्ने होला भन्ने कुरा मनमा खेलिरहन्थ्यो। सानैदेखि देखेको सपना पूरा गर्ने माध्यम योबाहेक केही हुँदेन जस्तो लागेर नर्सिङ पढेँ। पढाइ सकेर यो पेशामा लागेको पनि  २० वर्ष भयो।

क्यान्सर अस्पतालमा काम गर्नु र अन्य अस्पतालमा काम गर्न धेरै नै फरक छ। जनरल अस्पतालमा बिरामी विभिन्न खालका समस्या लिएर आउँछन्। त्यही अनुसार उपचार गराउँछन् अनि जान्छन्। तर म कार्यरत अस्पतालमा आउने भनेको क्यान्सरसम्बन्धी जाँच र उपचारकै लागि मात्र हुन्छ। यो क्यान्सरको विशिष्टीकृत अस्पताल हो। यहाँ विशेष उपचार हुन्छ।

चिकिसकले बिरामी हेरेर औषधि लेखेर गएपछि उनीहरूको सम्पूर्ण जिम्मा नर्सको काँधमा आउँछ। बिरामीसँग सबैभन्दा नजिकका भनेका नर्स नै हुन्छन्। उनीहरूको कुरा सुन्ने, समस्या बुझेर त्यही अनुसार ह्यान्डल गर्ने काम गर्नुपर्छ। नर्सहरू २४ घण्टा नै बिरामीसँग हुन्छन्।

त्यसैले यो अस्पतालमा काम गर्न क्यान्सर सम्बन्धी तालिम र ज्ञान पनि हुन जरुरी हुन्छ। हामीकहाँ बिरामी एक पटक आएपछि लामो समयसम्म ‘फलोअप’मा आइरहनु पर्छ। जसले गर्दा उनीहरुसँग हाम्रो ‘अट्याचमेन्ट’ हुन्छ। साथै क्यान्सरका उपचारकै क्रममा पनि विभिन्न जटिलता आइरहेका हुन्छन्। त्यसलाई ‘ह्यान्डल’ गर्नुपर्छ। त्यसमा पनि नर्सको विशेष भूमिका हुन्छ ।

चिकिसकले बिरामी हेरेर औषधि लेखेर गएपछि उनीहरूको सम्पूर्ण जिम्मा नर्सको काँधमा आउँछ। बिरामीसँग सबैभन्दा नजिकका भनेका नर्स नै हुन्छन्। उनीहरूको कुरा सुन्ने, समस्या बुझेर त्यही अनुसार ह्यान्डल गर्ने काम गर्नुपर्छ। नर्सहरू २४ घण्टा नै बिरामीसँग हुन्छन्।

क्यान्सरका बिरामी अस्पतालमा पसेदेखि नै नर्सको काम शुरु हुन्छ। क्यान्सर भन्नेबित्तिकै मृत्यु नै हो भन्ने भ्रम हाम्रो समाजमा छ। त्यो भ्रम चिर्ने काम हामी नर्सले गर्छौँ। कतिपय सुरुमै क्यान्सर लाग्यो भनेर आत्तिन्छन्, जसले गर्दा प्रेसर र सुगर बढेर जटिलता निम्तिन्छ। त्यसैले हामीले ‘क्यान्सर लाग्दैमा मरिँदैन यसको उपचार छ, ठिक हुन्छ’ भन्दै निको भएका बिरामी देखाउँदै ‘काउन्सिलिङ’ गछौँ। यसले उनीहरूलाई ठूलो सान्त्वना मिल्छ।

क्यान्सरमा गरिने उपचार मध्ये किमोथेरापीमा धेरै बिरामीको कपाल झर्छ। महिलाहरूको कपाल सौन्दर्यसँग पनि जोडिन्छ त्यसैले पनि उनीहरू यो समयमा बढी ‘इमोसनल’ हुन्छन्। यो समयमा हामीले किमो चढाउनु भन्दा पहिले नै काउन्सिलिङ गर्छौँ। ‘कपाल झर्न सक्छ झरे पनि फेरि बिस्तारै आउँछ’ भन्छौँ। , कतिपय अवस्थामा हामीले वीक पनि दिने गर्छौँ।

कतिपयमा क्यान्सरको पीडा भन्दा पनि कपालको पीडा धेरै हुन्छ। यो समयमा उनीहरूलाई बढी परामर्श चाहिएको हुन्छ। क्यान्सर लागेका बिरामी म अब मर्छु होला भनेर बारम्बार सोध्छन्। त्यसबेला हामी सम्झाउँछौँ।

अन्तिम अवस्थाका बिरामीलाई हामी डाक्टरको सल्लाह अनुसार कडा औषधि नदिएर सामान्य ‘पेन म्यानेज्मेन्ट’ मात्र गरेर राख्छौँ। उनीहरूको मृत्यु सहज बनाइदिने हाम्रो प्रयास हुन्छ। तर विदेशमा भएका आफन्त आएर ‘किन औषधि नदिएको, भेन्टिलेटरमा किन नराखेको’ भनेर हामी सँग कराउँछन्। हामी सिधै यस्तो हो भन्न सक्दैनौँ तर बिस्तारै बिरामीको अवस्था बताउँछौँ। त्यसपछि मात्र उनीहरू बुझ्छन्।

अस्पतालमा अनेक किसिमका क्यान्सरका बिरामी आउँछन्। तीमध्ये केही महिनाअघि मात्र ४२ वर्षकी एक महिला आइन्। उनलाई ‘ब्रेस्ट’ क्यान्सर भएको थियो। खासमा उनको रोग वंशाणुगत रहेछ। उनकी आमा, दिदी ,बहिनीलगायत धेरैको मृत्यु क्यान्सरकै कारण भएको रहेछ। यसकारण पनि उनी आफू तयार थिइन्, क्यान्सर हुनसक्छ भन्नेमा। आत्मबल पनि निकै राम्रो थियो।

उनी केही दिनअघि मात्र बितिन्। भर्खरको घटना भएर होला त्यो दृश्य अझै मेरो आँखामा आइरहेको छ। असाध्यै नरमाइलो लाग्यो मलाई त्यो दिन। यति छिटो उनको मृत्यु होला जस्तो लागेको थिएन। कतिपय अवस्थामा जति नै प्रयास गरे पनि बिरामीलाई बचाउन सकिँदैन त्याे बेला असाध्यै नरमाइलो  लाग्छ ।