अस्पतालमा आउने सबै बिरामी ठिक बनाएर पठाउन पाए हुन्थ्यो भन्ने लागिरहन्छ..

अस्पतालमा आउने सबै बिरामी ठिक बनाएर पठाउन पाए हुन्थ्यो भन्ने लागिरहन्छ..

रञ्जु देवकोटा २० वर्षदेखि नर्सिङ पेशामा छिन्।  उनी झण्डै तीन वर्षदेखि  अन्नपूर्ण अस्पतालमा कार्यरत छिन्। उनी त्यहाँकी ‘मेट्रोन’ हुन्।यसपालिको ‘नर्सका कुरा’मा रञ्जुसँग गरिएको कुराकानी उनकै शब्दमा–

मैले २० वर्षअघि मोडेल अस्पतालबाट नर्सिङ पेशा शुरु गरेकी हुँ। अस्ति भर्खर जस्तो लाग्छ, पहिलो तलब पाउँदा खुशीले उफ्रिएको। समय कति छिटोछिटो बित्छ थाहै नहुने। त्यो वेला नर्सिङ पढाउँदा छोरी बिग्रिन्छन् भन्ने सोच थियो तर दिदीले मलाई नर्सिङ पढ्न प्रेरित गर्नुभयो।

पीसीएल नर्सिङको फाइनल जाँच दिएर बसेकै वेलादेखि मैले काम शुरु गरेकी हुँ। रिजल्ट आउन केही दिन बाँकी थियो। काठमाडौं मोडल अस्पतालमा ‘अप्लाइ’ गरेको नाम निस्कियो अनि काम गर्न शुरु गरेँ। पछि अल्का अस्पतालमा पनि केही समय गरेँ। जहाँ रहे पनि बिरामीको सेवा गर्नु नर्सको कर्म अनि धर्म हो।

सन् २००५ मा मैले बीएन गरेँ। त्यसपछि नर्सिङको व्यवस्थापकीय जिम्मेवारी पनि थपिएको छ। अन्नपूर्ण अस्पतालमा कार्यरत छु। अहिले म रहेकाे विशिष्टीकृत सेवा दिनेअस्पताल हो। यहाँ धेरै शल्यक्रिया हुन्छ। यहाँ आउने बिरामीलाई विशेष खालको सेवा दिनुपर्छ। अलि बढी चनाखो हुनुपर्छ, नर्स। हामी ५५ जना नर्स कार्यरत छौँ, यहाँ। आईसीयूमा काम गर्ने नर्स र वार्डमा काम गर्ने नर्स भनेर हामीले छुट्याएका छौँ। किनभने आईसीयूमा काम गर्न विशेष खालको तालिम लिएर आउनुपर्छ। त्यस्ता तालिम लिइसकेपछि मात्र उनीहरूले आईसीयूमा काम गर्न पाउँछन्।

म कार्यरत अस्पतालमा सवारी दुर्घटनाका कारण अंगभंग भएका, विशेषगरी टाउकोमा चोट लागेका र शल्यक्रिया गर्नुपर्ने थुप्रै बिरामी आउँछन्। कलिलै उमेरमा बाइक र अन्य सवारीका कारण अंगभंग हुने बिरामी देखेर असाध्यै दुःख लाग्छ।

यसबाहेक हामीकहाँ नयाँ एउटा ‘सिस्टम’ पनि छ। राति बिरामीलाई अप्ठेरो पर्यो भने जुनसुकै वेला पनि नर्स ‘स्ट्याण्ड बाइ’ राख्ने गरेका छौँ। उनको काम जसलाई समस्या हुन्छ उसको स्याहार गर्ने मात्र हुन्छ। यस्तो नर्सलाई हामीले ‘नाइटिंगेल’ नाम दिएका छौँ। एक रातमा दुई जना नाइटिंगेल हुन्छन। उनीहरूले पालैपालो ड्युटी गर्छन्। यस्ता नर्सलाई वार्डमा राखिन्छ । तर जहाँ समस्या पर्छ, त्यहाँ पुगिहाल्नुपर्छ। यसले गर्दा हामीलाई निकै सजिलो भएको छ। यसबाहेक नर्सिङमा पनि थुप्रै ‘अपडेट’ भएका हुन्छन्। त्यसका लागि तालिमको अवसर दिनुपर्ने हुन्छ।

कसको कुन ‘एरिया’मा रुचि छ त्यसअनुसार हामी पालैपालो तालिममा पनि पठाउँछौँ। म आफैँ पनि भर्खरै जापान गएर एकमहिने तालिम लिएर फर्केकी हुँ। हाम्रो अस्पताल पढ्ने, सिक्ने, सिकाउने कुरामा अलि अगाडि नै छ। त्यसैले पनि हामी यस्ता खालका तालिममा गइरहन्छौँ, जसले गर्दा यो क्षेत्रमा आएका प्रविधिबारे अपडेट हुन सहयोग पुग्छ। सेवामा पनि गुणस्तर बढ्छ।

प्रत्येक दिन बिहान अस्पतालमा ‘कन्फरेन्स’ हुन्छ त्यसमा डाक्टर नर्स सबै जना बसेर ‘केस’को बारेमा छलफल गर्छौँ। त्यसले गर्दा हामीलाई पनि बिरामी हेर्न सजिलो हुन्छ। कुन बिरामीको के समस्या हो थाहा हुन्छ। हामीकहाँ धेरैजना न्यूरो सर्जरीका लागि आउँछन्, जुन ज्यादै जटिल खालको हुन्छ।

शल्यक्रिया गर्नुअघि उनीहरूलाई हामी ‘काउन्सिलिङ’को काम गर्छौँ। ‘तपाईँलाई यति समय लाग्छ’, ‘टिममा फलानो फलानो हुन्छौँ’,पनि भन्छौँ। ‘हामी ओटी रुममा मास्कमा हुन्छौँ, नचिन्नुहोला तर हामी नै हुन्छौं’ भन्छौँ। ‘ओटी’मा लगेपछि पनि ‘अघि कुरा गर्ने म नै हो चिन्नुभयो’ भन्छौँ। यसो गर्दा उनीहरूमा एक किसिमको साहस आउँदोरहेछ। पछि आईसीयूमा सारेपछि पनि जसले जुन बिरामीलाई काउन्सिलिङ गरेको छ, उही नर्सलाई पठाएर बिरामीको सबै जानकारी लिन लगाउँछौँ।

एउटै नर्स हुँदा उनीहरूलाई पनि कुरा ‘सेयर’ गर्न सजिलो लाग्दोरहेछ। अर्को कुरा बिरामीको के समस्या हो भन्ने नर्सलाई पनि बढी थाहा हुन्छ। कतिपय अवस्थामा बिरामीको मृत्यु हुन्छ दुःख त हामीलाई पनि लाग्छ तर, एक्कासि बाहिरको मान्छे आएर हुलदंगा गर्छन्। हामीलाई पिटौँला झैँ गर्छन्। यस्ताे घटनामा एकपटक म आफैँ पनि परेकी छु।

कुनै पनि डाक्टर वा नर्सले आफूले हेरेको बिरामी निकाे हाेस् भन्ने चाहन्छन्।  यो कुरा बिरामीको आफन्तले बुझ्नुपर्छ जस्तो लाग्छ। म कार्यरत अस्पतालमा सवारी दुर्घटनाका कारण अंगभंग भएका, विशेषगरी टाउकोमा चोट लागेका र शल्यक्रिया गर्नुपर्ने थुप्रै बिरामी आउँछन्। कलिलै उमेरमा बाइक र अन्य सवारीका कारण अंगभंग हुने बिरामी देखेर असाध्यै दुःख लाग्छ।

केही महिना अघिको कुरा हो म ड्युटीमै हुँदा एक जना सडक दुर्घटनाको ‘केस’ आयो। गोरखाका २२ वर्षजतिका जना भाइ थिए। अत्यन्त नाजुक अवस्था थियो। उनको तीन फरक फरक शल्यक्रिया पनि भयो। धेरैले आश मारिसेकेका थिए। हामीले पनि त्यति धेरै आशा गरेका थिएनौँ। तर उनी ‘रिकभर’ भए। तीन महिनाको उपचारपछि उनी अहिले उनी तन्दुरुस्त भएका छन्।

अस्ति भर्खर अस्पतालमा हामीलाई भेट्न आएका थिए। ती भाइलाई देख्दा मेरा आँखाबाट हर्षका आँसु झरे। अस्पतालमा आउने सबै बिरामी ठिक बनाएर पठाउन पाए हुन्थ्यो भन्ने सँधै लागिरहन्छ।