मधुमेह नियन्त्रणमा नर्सको भूमिका
एलिना शाक्य, नर्सिङ इन्चार्ज
मधुमेह जीवनशैलीसँग सम्बन्धित रोग हो । एकपटक मधुमेह भइसकेपछि यसलाई नियन्त्रण गर्नका लागि डाक्टरले लेखिदिएको औषधि मात्र खाएर पुग्दैन । यसका लागि औषधिसँगै, उचित खानपान, शारीरिक व्यायाम तथा तनावमुक्त हुन पनि जरुरी हुन्छ । यदि मधुमेहमा यी कुराको ख्याल गरिएन भने सुगर नियन्त्रण हुन गाह्रो हुन्छ ।
आज मैले यहाँ चर्चा गर्न खाजेको विषय मधुमेह नियन्त्रण गर्नका लागि नर्सको भूमिका कस्तो हुन्छ भन्ने हो । मधुमेह पुष्टि भइसकेपछि बिरामीले कम्तीमा पनि सुरुमा महिना महिनामा र पछि तीन तीन महिनामा चिकित्सकलाई भेट्नुपर्ने हुन्छ । यसबेला चिकित्सकले जाँचेर औषधि लेखिसकेपछि नर्सहरुकै काम सुरु हुन्छ । मधुेमह होस वा अन्य रोग बिरामीसँग सबैभन्दा बढी समय बिताउने भनेकै हामी नर्सहरु हौं । हामीले नै बिरामीलाई औषधि कसरी खाने, कुन बेला खाने, तथा खानपान कसरी मिलाउने भन्नेबारे जानकारी दिन्छौं ।
मधुमेह अझ बढी खानपानमा ध्यान दिनपर्ने रोग भएकाले यसमा हामी नर्सहरुले अझ बढी खानपान तथा जीवनशैली कस्तो अपनाउने भन्नेबारेमा जानकारी दिनुपर्ने हुन्छ । यदि बिरामीले राम्ररी बुझ्नुभएन र आफूखुशी गर्नुभयो भने सुगर नियन्त्रण हुन सक्दैन । त्यसैले पनि कुनै पनि बिराको सुगर नियन्त्रण गर्न नर्सको असाध्यै ठूलो भूमिका रहन्छ । हामीले प्रत्येक बिरामीलाई सुगर बढ्दा यस्ता यस्ता लक्षण देखिन्छन्,यसले कस्तो असर गर्छ तथा खानपान र व्यायाम यसरी गर्ने भन्नेबारेमा पूर्ण जानकारी दिन्छौं । यस्तो जानकारी दिनका लागि हामीले बिरामीलाई छुट्टै राखेर चार्ट नै बनाएर सम्झाउने गछौं । साथै कसैले एकपटकमा बुझेनन भने फेरि फेरि पनि बुझाउने गछौं ।
खासगरी मधुमेह भएका बिरामीमा सुगर कम हुने अवस्था अर्थात ‘हाइपोग्लासिमिया’ हुने गर्छ । यो अवस्था भनेको बिरामीको शरीरमा सुगर लेबल कम हुनु हो । यसरी सुगर कम हुँदा बिरामीलाई चिटचिट पसिना आउने, कमजोर हुने, वान्ता हुने तथा वेहोस हुने गर्छन । यस्तो अवस्थामा समयमै समस्या पत्ता लागेन भने बिरामी कोमामा जाने तथा ज्यानै समेत जान सक्छ । यस्तो खालको अवस्थाकाबारेमा पनि हामी नर्सले जानकारी दिन्छौं । यदि मधुमेह भएका बिरामीले औषधिको मात्रा मिलाएनन्, खानपानको रुटिन मिलेन वा इन्सुलिनको मात्रा बढी भयो भने यस्तो अवस्था आउनसक्छ । यस्तो अवस्था आइहालेमा बिरामीले ग्लुकोज ३ देखि ४ चम्चा खानुपर्छ । ग्लुकोज खाँदा तुरुन्त शरीरलाई चाहिने सुगर मिल्छ र बिरामीलाई राहत महशुस हुन्छ । एकपटक यसरी ग्लुकोज खाइसकेपछि पनि सहज भएन भने आधाघण्टा पछि फेरि ३ देखि ४ चम्चा ग्लुकोज खान सकिन्छ । यस्तो गर्दा बिरामीलाई राहत महशुस हुन्छ । ग्लुकोज पानीमा हालेर खान पनि सकिन्छ । पानी छैन् भने यत्तिकै पनि खान सकिन्छ । यी आउनसक्ने खतराका कुराहरु पनि हामी नर्सहरुले नै बारम्बार हरेक भिजिटमा सम्झाउने काम गछौै ।
हामी सबैलाई थाहा नै छ मधुमेह नियन्त्रण मात्रै होइन, समग्र स्वास्थ्य क्षेत्रमा नै नर्स बिनाको सेवा कल्पनासम्म गर्न सकिँदैन ।
(नर्स एलिना शाक्य आरुस लाइफस्टाइल अस्पतालकी नर्सिङ इन्चार्ज हुन् ।)
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै
डा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग
ड्रग रेसिस्टेन्ट क्षयरोग : क्षयरोग अन्त्यमा ठूलो चूनौती बन्दै
स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारका लागि आवेदन माग