Health TV Online
Health TV Online

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन

पछिल्लो समय सुर्तीजन्य पदार्थमा ई -सिगरेट \भेप धेरै देशको टाउको दुखाइ बन्न थालेको छ । अझ चुरोटको विकल्पको रूपमा ई–सिगरेटलाई लिएर त्यही अनुसार प्रयोग गर्न थाल्नु झनै खतरनाक देखिएको छ । चुरोटको विकल्प ई सिगरेट होइन भनेर विज्ञहरुले भनिरहेका छन् तर पनि प्रयोगकर्ता समक्ष यो कुरा पुग्नै नसकेको जस्तो देखिन्छ । चुरोट भन्दा ई -सिगरेट कम हानिकारक हुन्छ भन्नु नै गलत भएको बताउँछिन ह्याम्स अस्पतालकी कन्सल्टेन्ट पल्मोनोलोजिस्ट डा रक्षा पाण्डे । उनी भन्छिन, ‘कसैले चुरोटको विकल्प ई -सिगरेट हो भनेर प्रयोग गर्छ भने यो सरासर गलत हो । ई सिगरेटमा त झन निकोटिन र अन्य केमिकल हुन्छ जसले लत बसाउन मद्दत गर्छ ।’

के हो ई सिगरेट ?

ई -सिगरेट अर्थात भेप एक इलेक्ट्रोनिक सिगरेट हो जसमा तरल अवस्थामा रहेको निकोटिनलाई तताएर वाफको रुपमा लिने गरिन्छ । यसलाई वाफका रुपमा लिने भएकाले भेप पनि भन्ने गरिन्छ । बोलीचालीमा धेरैले यसलाई भेप भनेर बुझ्छन्। बाफमा निकोटिन सहित विभिन्न फ्लेभर र विषाक्त मानिएका रसायनहरु समावेश हुन्छन्।

चुरोट र ई -सिगरेट  मध्ये कुन राम्रो भन्ने प्रश्न नै गलत भएको डा पाण्डेको भनाई छ । उनी भन्छिन, ‘दुई विष छ यो विषमध्ये कुन राम्रो भन्ने प्रश्न गरे जस्तो भयो यो त ।’ त्यसैले दुबै हाम्रो स्वास्थ्यका लागि हानिकारक छन् भन्ने बुझ्न जरुरी छ । उनले ई -सिगरेटको माध्यमबाट चुरोटको लत छोड्न सकिन्छ भन्ने भ्रम भएको र यसको पछि नलाग्न पनि सल्लाह दिन्छिन् । उनले चुरोट छोड्न ई- सिगरेटले मद्दत नगर्ने भन्ने एक अध्ययन नै सार्वजनिक भइसकेको समेत जनाइन्। हुन् त सन् २००६ मा ई सिगरेट बनाउने कम्पनीले चुरोट छोड्न मद्दत गराउने एक डिभाइसका रुपमा यसलाई बनाए पनि यो प्रमाणित नभएको उनको भनाई छ । तर अहिले त्यही ई -सिगरेटको लतमा धेरै युवा पर्न थालेपछि सबैको टाउको दुखाइ बनेको छ ।

अरुको अगाडी चुरोट तान्न अप्ठेराे मान्ने युवा जमात पनि खुलेआम भेपको धुवाँ उडाउन भने संकोच मानेको देखिंदैन । अझ डरलाग्दो कुरा प्रयोगकर्तामध्ये ५५ प्रतिशतलाई त भेप हानिकारक हो भन्ने पनि थाहा छैन्। ग्ल्यामरस रुपमा जसरी विज्ञापन गरे पनि ई -सिगरेट स्वास्थ्यका लागि हानिकारक छ र यसको सेवन गर्न हुँदैन भन्ने कुरा बुझ्न र बुझाउन जरुरी भइसकेको छ । 

केही वर्षयता विशेष गरी माध्यमिक विद्यालय र कलेज जाने केटाकेटीका लागि ई -सिगरेट फेसन जस्तै बन्न थालेको छ । आफूलाई मोडर्न देखाउनका लागि धेरैले यसको प्रयोग गरेको पाइए पनि पछि यसमा भएको निकोटिन लत नै बन्न जान्छ । बिस्तारै उनीहरु चुरोटको पनि सेवन गर्न थाल्छन्। अझ ई -सिगरेटले त युवा पुस्तालाई अझ बढी असर गरिरहेको छ । पहिलो त उनीहरुलाई निकोटिनको लत बसाइरहेको छ अर्को उनीहरुको सानै उमेरदेखि फोक्सो खराब गरिरहेको छ । अरुको अगाडी चुरोट तान्न अप्ठेराे मान्ने युवा जमात पनि खुलेआम भेपको धुवाँ उडाउन भने संकोच मानेको देखिंदैन ।

नेपालमा गरिएको एक सर्वे अनुसार कलेज जाने १८ वर्षदेखि २४ वर्ष मुनिका युवा जमातमध्ये २१ प्रतिशतले एकचोटी वा सोभन्दा बढी ई सिगरेटको प्रयोग गरेको पाइएको छ । उक्त सर्वेक्षणमा १८ देखि २४ वर्ष उमेर समूहका ४ सय जनालाई सहभागी गराइएको थियो । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष सहभागी थिए । यसैगरी सोही अध्ययनले पहिलो पटक भेप सेवन गर्नेहरुमध्ये २८ प्रतिशतले निरन्तर सेवन गरेको पाइएको डा पाण्डेले बताइन् । यसमध्ये पनि ८० प्रतिशतले आफनो साथीको लहै लहैमा लागेर यसको सेवन सुरु गरेको पाइएको छ । सर्वेक्षण अनुसार अझ डरलाग्दो कुरा त ई सिगरेट खरिद गर्नेहरुमध्ये २५ प्रतिशतले अनलाइनबाटै यसको खरिद गर्ने गरेको पाइएको छ । अन्य ७५ प्रतिशतले मार्टहरुमा गएर किन्ने गरेको पाइएको छ । प्रयोगकर्तामध्ये ५५ प्रतिशतलाई त भेप हानिकारक हो भन्ने पनि थाहा छैन्। सानो समूहमा गरिएको अध्ययन भए पनि यसले अहिले हाम्रो समाजमा बढ्दै गइरहेको ई सिगरेटको महामारीलाई आँकलन गर्न सकिने डा पाण्डेको भनाई छ ।

अर्का पल्मोनोलोजिस्ट डा राजु पंगेनी भन्छन, ‘भेपमा प्रयोगकर्तालाई लत बसेको थाहा नै हुँदैन। यसमा निकोटिन तरल रुपमा हुन्छ । साथै १५ हजार भन्दा बढी फ्लेभर छन् । यही फ्लेभरको पछि लाग्दा विस्तारै निकोटिनको लत बसिसकेको हुन्छ तर प्रयोगकर्तालाई थाहा नै हुँदैन । यही नै कम्पनीवालाहरुको चलाखीपन हो ।’ यसमा त झन निकोटिन मात्रै नभई भिटामिन ईसँगै गाँजाका तत्त्व पनि राखेर बनाइन्छ । अब भन्नुस त यो कसरी कम हानीकारक भयो, उनी थप्छन ।

डा पंगेनीका अनुसार भेपमा भएको केमिकलले प्रयोगकर्तालाई क्षणिक आनन्द दिइरहेको त हुन्छ तर त्यही लत बसिसकेको हुन्छ जसले फोक्सो ड्यामेज गर्ने मात्र होइन मुटु,मस्तिष्क, मिर्गौला, पाचनप्रणाली सबैतिर असर गरिरहेकाे हुन्छ । निद्रा नपर्ने तथा छटपटी हुने पनि यसका साइड इफेक्ट हुन। ई- सिगरेटमा तताउनका लागि जुन केमिकलहरु प्रयोग हुन्छन ती तत्व तान्नका लागि हानिकारक हुने पनि उनको भनाई छ । ई- सिगरेट प्रयोगकर्ताको फोक्सोमा हुने इन्जुरी चुरोट सेवनकर्ताको भन्दा पनि बढी डरलाग्दो हुने उनको भनाई छ ।

ग्लोबल सेन्टर फर गुड गर्भरनेन्स इन टोबाको कन्ट्रोलका अनुसार हालसम्म ई सिगरेटबाट हुने हानीलाई मध्यनजर गर्दै नेपाल लगायत ३७ देशहरुले ई सिगरेटको बिक्री वितरणमा निषेधको नियम लगाएको पाइन्छ । अष्ट्रेलिया, अर्जेन्टिना, भुटान, भारत, ब्राजिल, कम्बोडिया सिंगापुर, श्रीलंका, टिमोरलिस्टे  लगायतका ३७ देशले ई सिगरेटको बिक्री वितरणमा निषेध लगाएका छन् ।

नेपालको कुरा गर्दा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ३ बमोजिम इलेक्ट्रोनिक सिगरेटको उपभोग गर्न नपाउने उल्लेख छ । उक्त निर्देशिकाको उपदफा ३ मा स्पस्ट रुपमा लेखिएको छ – कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्धन तथा विज्ञापन गर्न पाउने छैन् ।

तर नेपालमा प्रतिबन्ध लगाएको भनिए पनि भने ई सिगरेटको नियन्त्रण र नियमन गर्ने व्यवस्था धमिलो भएका कारण ई सिगरेट बनाउने व्यापारीहरु हाबी भएको डा पाण्डेको भनाई छ । हामीकहाँ पसल पसलमा छ्यापछ्याप्ती सजिलै ई सिगरेट किन्न पाइन्छ, कसरी निषेध छ भन्नु तर यसको कडाई गर्ने बेला आइसकेको छ । त्यसका लागि स्पष्ट रुपमा यसका बारेमा बोल्ने कानून चाहिन्छ ।

उता राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त बहादुर केसीसँग यस विषयमा कुरा गर्दा उनले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशिकाले स्पस्ट रुपमा ई सिगरेटलाई निषेध गरेको भए पनि उद्योग मन्त्रालयसँगको समन्वयको कमीका कारण पूर्ण रुपमा कार्यान्वयनमा आउन नसकेको स्विकार गरे । डा केसीले पछिल्लो समय बढ्दै गएको ई सिगरेटको खपतलाई लिएर आफूहरु पनि चिन्तित भएको बताएका छन् । आयात र उत्पादन निषेध गर्ने काम उद्योग मन्त्रालय अन्तर्गत पर्ने भएकाले यसको लागि स्वास्थ्य मन्त्रालय मार्फत पत्राचारको प्रक्रिया अघि बढिसकेको उनले बताए । उनले भने, ‘कानूनमा भएको कुरा मन्त्रालय मन्त्रालयवीच समन्वय गरेर कार्यान्वयनमा जानै पर्छ । अब पनि ई सिगरेट नियन्त्रण गर्न तर्फ लाग्न सकिएन भने युवा पुस्तामा यसले महामारी नै ल्याउने संकेत देखिएको छ ।’

डा केसीले केही वर्षयता ई सिगरेटलाई गलत रुपमा ब्याख्या गरी व्यापारीहरुले युवा जमातलाई टार्गेट गरेर विभिन्न फ्लेभरमा डिभाइस तयार गरिरहेको र त्यसको लतमा युवा नजानिंदो ढंगबाट निकोटिनको लतमा फस्दै गएको जनाए । उनले गत आर्थिक वर्षमा मात्र ३२ लाख ई सिगरेटको डिभाइस नेपाल भित्रिएको तथ्यांक रहेको भन्दै यसको कस्तो भयावह स्थिती छ भन्ने सजिलै अनुमान लगाउन सकिने बताए ।

स्टेप सर्भे २०१९ अनुसार नेपालमा २८ दशमलब ९ प्रतिशत १५ देखि ६९ उमेर समूहका व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाइन्छ । तीमध्ये ४८ दशमलब ३ प्रतिशत पुरुष र ११ दशमलब ६ प्रतिशत महिला रहेका छन् । नेपालमा वर्षेनी २७ हजार १३७ जनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने क्यान्सर जस्ता रोगबाट हुने गरेको छ भने १६ प्रतिशतले सुर्तीजन्य पदार्थको कारण हुने क्यान्सरको उपचारका लागि आफनो घर खेत बेच्न बाध्य हुने गरेको तथ्यांक छ । नेपालमा एकातिर सुर्तीजन्य पदार्थको सेवनका कारण यो अवस्था छ भने परम्परागत रुपमा खाइने सुर्तीजन्य पदार्थसँगै अब बदलिएको रुपमा ई सिगरेटले निम्त्याएको चुनौती थपिएको छ ।

ई सिगरेटको विज्ञापन यसरी गरिएको हुन्छ की यो पूर्ण रुपमा सुरक्षित छ र यो खाँदा स्वास्थ्यमा केही असर गर्दैन । तर ग्ल्यामरस रुपमा जसरी विज्ञापन गरे पनि ई सिगरेट स्वास्थ्यका लागि हानिकारक छ र यसको सेवन गर्न हुँदैन भन्ने कुरा बुझ्न र बुझाउन जरुरी भइसकेको छ । साथै ई सिगरेटलाई सिगरेटको विकल्पको रुपमा लिइनु नै गलत बुझाई भएको छ । यो बुझाई बदल्ने बेला भइसकेको छ अन्यथा यसले युवा समूहमा ई सिगरेटको लतको महामारी नल्याउला भन्न सकिन्न ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन