Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आइसीयूका बिरामीलाई फिजियोथेरापी किन आवश्यक छ ?

आइसीयूका बिरामीलाई फिजियोथेरापी किन आवश्यक छ ?

फिजियोथेरापी एउटा यस्तो पद्धति हो जसको क्षेत्र निकै फराकिलो छ । यो वैज्ञानिक प्रमाणहरुमा आधारित एउटा उपचार पद्धति हो । यसको भूमिकाको कुरा गर्दा रोगको रोकथामदेखि उपचार र पुनस्र्थापना र कसरी निरोगी रहने भन्नेसम्मको हुन्छ । यसमा औषधिबिना विभिन्न मेशिन तथा म्यानुअली एक्सरसाइज गराई शारीरिक रुपमा सक्रिय बनाउने काम गरिन्छ । जसले दुखाइ कम त गर्छ नै कुनै पनि रोग छिटो निको हुन र बिरामीपछि पनि छिटो पुनस्र्थापना भई पुरानै अवस्थामा सक्रिय भएर फर्किन मद्दत गर्छ । फिजियोथेरापीले शारीरिक र मानसिक दुवै हिसाबमा शरीरलाई फाइदा पुराउने काम गर्छ।

सुरुमा बिरामीलाई के भएको हो हेरेर सहजीकरण गर्ने र बिस्तारै बिरामीलाई क्वालिटी अफ लाइफ दिनका लागि विभिन्न थेरापीहरु गराएर उनीहरुलाई सहज बनाउने काम यसमा हुन्छ । फिजियोथेरापी को मुख्य उद्धेस्य भनेकै शारीरिक तन्दुरुस्ती , मानिसको हिडडुल गर्ने र दैनिक क्रियाकलाप गर्न सक्ने क्षमतालाई विकास गरी उनीहरुलाई आत्मनिर्भर बनाउनु हो ।

पहिले पहिले फिजियोथेरापी भन्ने वित्तिकै ढाड कम्मर दुख्दा मात्र गर्ने भन्ने थियो भने अहिले त्यस्तो छैन् । फिजियोथेरापी ढाड कम्मर दुख्दा जति चाहिन्छ त्यति नै आवश्यक आइसीयूमा उपचार गराइरहेका विभिन्न रोगको शल्यक्रिया गरेका बिरामीलाई पनि चाहिन्छ । अर्थोपेडिक, न्यूरो जस्तै स्ट्रोक हुँदा स्पाइनल इन्जुरी हुँदा , प्यारालाइसिस हुँदा, कार्डियो पल्मोनरी मुटुको समस्या हुँदा दममा पनि फिजियोको त्यत्तिकै महत्व छ । अहिले विषयगत रुपमा त्यही विषयमा विशेषज्ञता हासिल गरेर आएका विशेषज्ञ फिजियोथेरापिस्टहरु पनि छन् । जसले रोग र समस्या अनुसारका बिरामीलाई मात्र विशेषज्ञता सेवा दिने गर्छन । जस्तो म आफू कार्डियोपल्मोनरी फिजियोमा विशेषज्ञता गरेर आएको छु । त्यसैले मैले आइसीयूका धेरै बिरामी र उनीहरुको समस्या बढी हेर्छु । यसैगरी बच्चाको पेडियाट्रिक फिजियोथेरापिस्ट छुट्टै हुन्छन् । महिलासम्बन्धी समस्याको लागि गाइने फिजियोथेरापिस्ट न्यूरोको लागि त्यही विषय पढेका फिजियोथेरापिस्ट हुन्छन्।

झन आइसीयूमा रहेका बिरामीलाई छिटो निको पार्न त फिजियोथेरापिस्टको ठूलो हात हुन्छ । हुनत आइसीयूमा मल्टीडिसिप्लीनरी अप्रोचबाट मात्र बिरामीलाई निको पार्न सम्भव हुन्छ । त्यसमा फिजियोथेरापी पनि महत्वपूर्ण विधा हो । आइसीयूमा धेरै दिन बस्दा अक्सिजन चाहिने साथै बिरामीलाई सुतिरहँदा मसलहरु कमजोर हुने, जोर्नीहरु दुख्ने हुन्छ । त्यस्ता बिरामीलाई औषधि र अन्य उपचारसँगै फिजियोथेरापीको सहयोगबाट बिस्तारै सक्रिय हुन कोशिस गराउँदा बिरामी छिटो निको हुने हुन्छ । यो हाम्रो ह्याम्स अस्पतालको बिरामी छिटो निको भएर जाने गरेको रेकर्डले पनि बताउँछ । किनकी हामी आइसीयूमा भएका बिरामीका लागि छुट्टै विशेषज्ञ फिजियोथेरापी सेवा दिने गर्छौ । उनीहरुमध्ये कतिलाई सास फेर्न गाह्रो भएको हुन्छ उनीहरुलाई सास फेर्न सजिलो पार्ने व्यायामहरु सिकाउने गर्छौ ।

लामो समय आइसीयूमा बस्दा बिरामीलाई सास फेर्न समस्या हुनुका साथै शारीरिक र मानसिक रुपमा कमजोर भएका हुन्छन् । यो बेला फिजियोथोरपिस्टले बिरामीले सास फेरेको तरिका , शरीरमा कति अक्सिजन छ छाती कस्तो छ लगायतका रिपार्ट हेरी सोही अनुसार थेरापी गराउने गर्छन । जसले बिरामीलाई फाइदा पुगेर अस्पताल बसाई पनि कम हुन्छ । त्यसैले फिजियोथेरापीको महत्व एउटा कुनै रोगमा मात्र सिमित नभएर रोगमुक्त भएर सक्रिय जीवनयापन गर्न सबैलाई त्यत्तिकै आवश्यक छ भन्न सकिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।