Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जति उमेर बढ्दै गयो त्यति नै स्तन क्यान्सरको जोखिम पनि बढी

जति उमेर बढ्दै गयो त्यति नै स्तन क्यान्सरको जोखिम पनि बढी

डा प्रफुल्ल शाक्य

त्यसो त स्तन क्यान्सर जुनसुकै उमेरमा पनि हुनसक्छ । तर अधिकांसको कुरा गर्दा महिलाको उमेर जति बढ्दै जान्छ त्यति नै यो रोग लाग्ने सम्भावना पनि बढी भएर जान्छ । सामान्यतया ४० वर्ष पुगेपछि स्तन क्यान्सरको जोखिम प्रत्येक वर्ष बढ्दै जान्छ भनेर भनिन्छ । तर यसो भन्दैमा सानो उमेरमा क्यान्सर हुँदैन भन्ने होइन । अहिले हामीले २०\ २२ वर्षमै स्तन क्यान्सर भएको पनि देखेका छौं र उपचार पनि गरेका छौं । तर यस्तो केस कम मात्र हुन्छ ।

अहिले स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सरको रुपमा अघि आएको छ । नेपालमा पनि केही वर्षयता स्तन क्यान्सर भएर उपचारमा आउनेको संख्या हेर्दा निकै बढ्दो छ । सामान्यतया ४० देखि ५० वर्ष उमेर समूहका महिलाहरुमा स्तन क्यान्सर धेरै हुने भनिन्छ । संख्याको कुरा गर्दा यो समूह ठूलो छ ।

हरेक केटी मान्छे स्तन क्यान्सरको जोखिममा हुन्छन् । हुन त पुरुषमा पनि स्तन क्यान्सर हुनसक्छ तर एकदमै कम मात्रामा । स्तन क्यान्सर जति सानो उमेरमा भयो त्यो उपचार गरेर निको भएपछि फेरि फर्केर आउने सम्भावना पनि त्यत्तिकै रहन्छ । त्यसैले सानो उमेरमा स्तन क्यान्सर भएकाले नियमित जाँच गरिरहनुपर्छ । यसो गर्दा केही गरी फेरि क्यान्सर भएमा छिटो पत्ता लागेर उपचार गर्न सकिन्छ ।

स्तन क्यान्सर किन हुन्छ भन्ने हामीसँग कुनै ठोस उत्तर छैन्। केही वंशाणुगत कारण बाहेक स्तन क्यान्सरको कारण पत्ता लागेको छैन्। त्यसैले यसबाट बच्नका लागि गर्न सकिने भनेको समयमै पहिचान र समयमै उपचार नै हो । अरु हाम्रो हातमा छैन् । जति छिटो उपचारमा आयो त्यति नै रोग निको हुने सम्भावना बढी हुन्छ । स्तनमा देखिएका स साना परिवर्तनमा चनाखो भएर जाँच गराउने गरेमा स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा पत्ता लगाउन सकिन्छ । त्यसका लागि आफै सचेत हुनुपर्छ । तर हामीकहाँ अप्ठेरो मान्ने तथा लाज मान्ने कारणले पनि धेरै युवतीहरु स्तनका आएका परिवर्तनबारे खुलेर कुरा गर्न सक्दैनन । जसले गर्दा रोग बढ्दै जान्छ । जति रोग बढ्दै जान्छ त्यति नै उपचारमा समस्या मात्र हैन निको गराउन पनि गाह्रो हुन्छ ।

लक्षण देखिएपछि त छँदैछ । हरेक महिलाले आफू ४० वर्षपुगेपछि नियमित स्तनको स्क्रिनिङ गर्न जरुरी हुन्छ । यसले क्यान्सर भए नभएको पत्ता लगाउन सहयोग गर्छ । यसका लागि चिकित्सकको सल्लाह अनुसार म्यामोग्राफी, अल्ट्रासाउन्ड गर्न सकिन्छ । स्तन क्यान्सरलाई समयमै थाहा पाउन सके र समयमै उपचार गरेमा निको हुन सक्छ । तर यसका लागि लक्षणहरुबारे जानकार हुनुपर्छ । यदि स्तनमा गाँठागुँठी वा गिर्खा देखिएको छ, त्यस्तै गिर्खा काखी वा घाँटीमा पनि छ, स्तनको छाला सुन्तलाको बोक्राजस्तो भएको छ भने यो क्यान्सर हुनसक्छ । यसैगरी स्तनको मुन्टा भित्र पसेको छ, पिप वा तरल पदार्थ बगेको छ भने यो पनि क्यान्सरको लक्षण हुनसक्छ । त्यसैले तुरुन्त ढिला नगरी अस्पताल गई परीक्षण गराउनुपर्छ ।

रोग लागिहालेमा स्तन क्यान्सरको सम्पूर्ण उपचार नेपालमै सम्भव छ । पहिले पहिले जस्तो बाहिर धाउनुपर्दैन । उत्कृष्ट र दक्ष स्तन क्यान्सर विशेषज्ञहरु नेपालमै छन् । यति मात्र होइन । पहिले पहिले स्तन क्यान्सर भएपछि पुुरै स्तन नै काटेर फाल्ने गरिन्थ्यो । तर अहिले त स्तन बचाएर तथा फाल्नै परेमा फेरि पहिलेकै जस्तै स्तन बनाएर पनि शल्यक्रिया गर्न सकिने प्रविधि भित्रिएको छ भने त्यही कामका लागि विषेषज्ञ डाक्टर पनि उपलब्ध छन् । अब क्यान्सरकै कारण महिलाले आफनो सौन्दर्यसँग जोडिएको स्तन गुमाउनुपर्ने बाध्यता छैन् । म फेरि पनि के भन्न चाहन्छु भने स्तन क्यान्सर जोकोहीलाई पनि हुनसक्छ । यसबाट बच्ने एउटै उपाय नियमित जाँच, समयमै निदान र समयमै उपचार मात्र हो । यति गर्न सकियो भने स्तन क्यान्सर भइहालेमा पनि निको भएर स्वस्थ जीवन यापन गर्न सकिन्छ ।

अर्को महत्वपूर्ण कुरा हरेक महिलाले आफूलाई ऐनामा हेरर सेल्फ ब्रेस्ट एक्जामिन गर्न सक्छन् । यो बाहिरी अंग भएकाले तपाइँ आफैले आफनो स्तनमा आएको परिवर्तन पत्ता लगाउन तथा अनुभव गर्न सक्नुहुन्छ । त्यसैले महिनाको एकपटक अनिवार्य आफनो स्तनको आफै जाँच गर्ने गरौं । यसका लागि कसरी परीक्षण गर्ने भनेर स्वास्थ्यकर्मीसँग पराशर्म लिन सकिन्छ।

(नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा कार्यरत स्तन क्यान्सर सर्जन डा शाक्यसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानीमा आधारित)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।