Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

के हो सीओपीडी, कसरी बच्न सकिन्छ ?

के हो सीओपीडी, कसरी बच्न सकिन्छ ?

हेल्थ टिभी अनलाइन : आज विश्व सीओपीडी दिवस। विश्वभर नै यो दिवस रोगकावारेमा जनचेतना जगाउन मनाइन्छ। सीओपीडी अर्थात् क्रोनिक ‘अब्सट्रक्टिभ पल्मोनरी डिजिज’ भनेको सर्वसाधारणले बुझ्ने भाषामा एक किसिमको दमको रोग हो, जुन श्वासप्रश्वाससँग सम्बन्धित छ। मुख्य कुरा सीओपीडीका बिरामीलाई खोकी लागिरहने र सास फर्न गाह्रो हुने समस्या हुन्छ ।

हालसम्म विश्वमा मानिसको मृत्युको कारण मध्ये चौथौ सीओपीडीलाई लिइन्छ। तर अबको केही वर्षमा तेस्रो कारण बन्दैछ। विभिन्न तथ्यांकअनुसार नेपालमा ६० वर्ष नाघेका १० प्रतिशत वद्धवृद्धामा सीओपीडीको समस्या छ भन्ने अनुमान गरिएको छ। उमेर बढ्दै जाँदा लाग्ने भए पनि धूमपान गर्नेमा भने सानै उमेरदेखि पनि यो समस्या देखिन सक्छ ।
कम र मध्यम आयस्रोत भएका राष्ट्रमा सीओपीडीको समस्या बढी पाइएको छ । मृत्युको संख्या पनि यी राष्ट्रहरुमा नै धेरै छ। एकपटक यो रोग लागिसकेपछि निको हुँदैन उपचारले सहज बनाउने मात्र हो र यो यस्तो रोग हो जसले सास फेर्न यति गाह्रो गराउँछ कि बिरामी अस्पताल नगई सुखै छैन। धेरै बिरामीलाई अक्सिजन नै दिनुपर्ने हुन्छ।

विभिन्न कारणले यो रोग लाग्छ र सास फेर्ने नली खुम्चिन्छ। अनि सास फेर्न गाह्रो हुन्छ। लगातार तीन महिनासम्म खोकी लागिरहनु, कफ निस्किन गाह्रो हुनु, जाडो समयमा बढी समस्या हुने, भर्याङ चढ्न गाह्रो हुनु, घाँटी घ्यारघ्यार गर्नु र सास फुल्नु सीओपीडीका लक्षण हुन्।

धूमपान प्रमुख कारण भए पनि अन्य कारणले पनि सीओपीडी हुन सक्छ । यसमा फोक्सोले शरीरमा अक्सिजनको आपूर्ति राम्रोसँग गर्न सक्दैन जसले गर्दा समस्या हुन्छ। प्रदूषित वातावरणमा काम गर्ने व्यक्तिमा पनि यो समस्या बढी हुन्छ। जस्तै– धुलोमा काम गर्ने, कोइलाखानीमा काम गर्ने आदि । चुरोट खाने वा शहरी भेगमा वातावरणीय प्रदूषणको समस्या त छँदैछ, गाउँघरमा दाउरा गुइँठा बाल्ने चलन छ। यो पनि सीओपीडीको एक कारण हो।

भान्साकोठामा धुँवाको उचित व्यवस्था नभएपनि सीओपीडी देखिन सक्छ। यसबाहेक बाल्यकालमा छातीको संक्रमण, टीबी लगायतका कारणले गर्दा पनि यसको जोखिम रहन्छ। यो समस्याबाट बच्न धुवाँबाट सकेसम्म टाढा बस्नुपर्छ। खाना पकाउन दाउरा बाल्नुभन्दा अरू विकल्प खोज्नुपर्छ। भान्सामा खाना बनाउने बेलामा झ्यालहरू खुला राख्नुपर्छ।

सीसीओपीडी दीर्घकालिन रोग हो यसलाई निको पार्न सकिँदैन, नियन्त्रण गर्न मात्र गर्ने हो। अहिले सुँघ्ने र तान्ने औषधिहरू छन्, जसले बिरामीलाई धेरै नै राहत हुन्छ। तर, धेरैले यसको प्रयोग सही तरिकाले गर्न नै जान्दैनन्। त्यसैले चिकित्सकको सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्छ।

यसबाट बच्न सर्वप्रथम त धूमपान गर्नुभएन। वातावरणमा प्रदूषण फैलाउन भएन। प्रदूषित वातावरणबाट टाढा रहनुपर्छ। रोग लागि नै हाल्यो भने औषधिको सही प्रयोग गर्नुपर्छ।

(छातीरोग विशेषज्ञ डा रमेश चोखानीसँग कुराकानीमा आधारित(

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।