Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्तन क्यान्सर र पोषण

स्तन क्यान्सर र पोषण

कविता महर्जन

विश्वमा नसर्ने रोगहरु मध्य क्यान्सरबाट धेरै मानिसहरु प्रभावित भएका छन् । क्यान्सर शरीरको कुनै पनि भागमा लाग्न सक्ने साथै थुप्रै प्रकारका हुन्छन् । ग्लोबोक्यान २०२० अनुसार विभिन्न क्यान्सर मध्ये नेपालमा स्तन क्यान्सरको संख्या बढ्दाे  छ । जसमध्ये ७० देखि ८०% महिलाहरुमा भने वंशाणु इतिहास नरहेको अध्ययनले देखाएको छ । यो रोग लाग्नुमा हर्मोनको गडबडी, वंशाणु, बढ्दाे, महिला(लिङ्ग), विकिरण, जीवन शैली हुन सक्ने बताईएको छ । यस रोगको उपचार विधि शल्यक्रिया, रेडियो थेरापी, केमोथेरापी, हर्मोन थेरापी र ईम्युन टारगेटेड थेरापीहरु सँगै मेडिकल न्यूट्रिशन थेरापी पनि उत्तिकै महत्वपूर्ण रहन्छ । प्रकृतिले दिएका खानेकुरा सबैका लागि समान छन् तर उपचार क्रममा स्वास्थ्य अवस्था फरक–फरक हुने भएकोले ध्यान पुराउन आवश्यक देखिन्छ ।

३० देखि ४० प्रतिशत क्यान्सर लाग्नुमा अस्वस्थ खानपानको भूमिका रहन्छ जस मध्य धुमपान र मद्यपान प्रमुख हुन सक्छ । स्तन क्यान्सरलाई पूर्ण रुपमा खानाले मात्रै हुन्छ भन्न सकिंदैन । यद्यपि धेरै चिल्लो भएको र अधिक शक्ति बर्धक खानाले तौल बृद्धि भएमा स्तन क्यान्सर हुने सम्भावना बढी रहन्छ । त्यसैले सन्तुलित भोजन अन्तर्गत आउने खानेकुराहरु शरिरको आवश्यकता अनुसार उपभोग गर्नु जरुरी छ । व्यस्त जीवनशैलीका कारण घर भन्दा बाहिर खाने प्रचलन बढ्दाे छ याे अवस्थामा ध्यान दिनु पर्दछ ।

त्यसैले स्तन क्यान्सरबाट जोगिनको लागि दैनिक खाने खानाहरु सन्तुलित भएमा औषधिय गुण रहन्छ । दैनिक भोजनमा सिजन अनुसारको फलफूल र तरकारीहरु समावेश गर्नु स्वास्थ्यलाई फाईदा रहन्छ । तर तरकारी बनाउँदा आवश्यक भन्दा बढी चिल्लो र मसलाको प्रयोग नगरौं । खाद्य सम्बन्धि रोग लाग्न नदिन खाद्य गुणस्तर मापदण्डको महवपूर्ण भूमिका रहन्छ । अब्यवस्थित किटनाशक औषधिका कारणले पनि क्यान्सर लाग्ने अनुसन्धानले प्रष्टाईसकेको छ ।

स्तन क्यान्सरका उपचार विधिमा खानपान व्यवस्था 

१-  स्तन क्यान्सर र शल्यक्रियाः स्तनको शल्यक्रिया गर्दा नियमित खाने खानाहरु सबै खान सकिन्छ । तर स्तन क्यान्सर सँग–सँगै अरु दीर्घकालीन रोगहरु लागेको छ भने रोगको प्रकृति हेरेर खाना बार्नु पर्दछ ।
२-  स्तन क्यान्सर र रेडिएसन थेरापीः यस उपचारको विधिमा रहेका बिरामीहरुले साधारण तय खाने खाना सबै खान सकिन्छ ।

३- स्तन क्यान्सरमा, केमो, हर्मोन र ईम्युन टारगेटेड थेरापीः केमो, हर्मोन र ईम्युन टारगेटेड थेरापीमा रहेका बिरामीहरुले औषधिको असर सँगै रगत जाँचको रिर्पोट र शारिरीक मापन अनुसार खानपान मिलाउनु पर्ने हुन्छ । यस थेरापीमा रहँदा साधारणतया देखिने असरहरु जस्तै दिसा लाग्नु, कब्जियत हुनु, स्वाद परिवर्तन हुनु, भोक धेरै लाग्नु, आदि । केमोथेरापीमा नियमित योजना बद्ध औषधि लगाउनु पर्ने भएकोले रगत जाँच गराइन्छ । खानाको मात्रा कम भएको अवस्थामा कमजोरी बद्नुका साथै औषधिको असर पनि लामो समय सम्म रहने गर्दछ । त्यसैले औषधिको असर अनुरुप खाद्य व्यवस्थापनको महत्वपूर्ण भूमिका रहन्छ । उदाहरणको लागि खाद्य परिमार्जित गर्ने तरीकाः जस्तै दिसा पातलो भएमा कम रेशा भएको खाना खुवाउनु पर्दछ, तरकारीको सुप वा जुस, फलफूलको जुस, घरमा बनाएको ताजा दही, नरम भात, उसिनेको आलु, बोक्रा नभएको दाल तथा गेडागुडी रस, खुवाउन सकिन्छ ।

स्तन क्यान्सरबाट बच्न र बचाउन

शारिरीक तौल :   उचाई अनुसार तौललाई नियन्त्रण गर्न सकेमा धेरै रोगहरुबाट जोगिन सकिन्छ । त्यसैले शरिरीक तौल ठीक अवस्थामा छ वा छैन भन्ने जाँच (बि. एम. आई) द्धारा हेर्न सकिन्छ । नून्य र अधिक दुवै अवस्थामा रोग लाग्ने खतराको संकेत होे । तौल नियन्त्रणमा राख्नु अति आवश्यक छ । त्यसैले रोग लाग्न नदिन सन्तुलित भोजन र पानी, सक्रिय जीवन शैली, तनाव रहित र अनुशासन हुनु आवश्यक देखिन्छ । प्रमुख खानालाई निम्न तरीकाबाट व्यवस्थित गर्न सकिन्छ ।

खाद्य समूह

बिहानको खाना फलफूल दिउँसोको खाजा बेलुकीको खाजा सलाद इच्छा अनुसार सक्रिय जीवन शैलीः कामको व्यस्तताका कारण प्रायः मानिसहरुमा शारिरीक सक्रियता कम भई सकेको छ । साधारणतया कामलाई हलुका, मझौला, र कडा गरी तीन समूहमा विभाजन गर्न सकिन्छ । आफ्नो कामको प्रकृति हेरेर खानाको मात्रा थप घट गरी खानपानको व्यवस्था गर्नु पर्दछ ता की तौल नियन्त्रण गर्न सहज हुन्छ ।

हरियाे सागपातः नेपालीहरुको खानामा हरियाे  सागपातले विशेष ठाउँ ओगटेको छ । हरियाे सागपातमा भिटामिन, खनिज तत्व, रेशा साथै विभिन्न प्रकारका जस्तै पौष्टिक तत्व हुन्छन्। जसले गर्दा क्यान्सरको खतरा कम गर्दछ । हरियाे  सागपातमा भिटामिन के को मात्रा धेरै हुने भएकोले रगतलाई जम्न मद्दत गर्ने गर्दछ । तर उपचार क्रममा रगत पातलो गर्ने औषधि सेवन गर्दै हुनु हुन्छ भने आवश्यक मात्रामा भन्दा कम खानु वा छोड्नु पर्ने पनि हुन सक्दछ । दैनिक भिटामिन ‘के’ बयष्क महिलाको लागि ९० एम.सि.जी र पुरुषको लागि १२० एम.सि. जी आवश्यक पर्दछ । यहि मापन भित्र रहेर हरियाे सागपातको सेवन गर्नु पर्दछ ।

प्रशोधित खानाः विश्वमा प्रविधिको बिकास सँगै मानव जन–जीवनमा निकै परिवर्तन आएको छ । प्रशोधित खानाको स्वाद मिठो र आफ्नो चाहना अनुसार खान सक्ने पहुँच भएकोले धेरै मात्रामा सेवन हुने सम्भावना बढी रहन्छ । प्रशोधित खाना धेरै खाने गरेमा नसर्ने रोग लाग्न सक्ने अध्ययनले देखाएको छ । यस प्रकारको खानामा नून, मसला, संरक्षण तत्व, साथै बृहत पौष्टिक तत्व धेरै हुने भएकोले स्वास्थ्यलाई हानी पु¥याउन सक्दछ । त्यसैले प्रशोधित खाना खान मन लागे पनि आफैले नियन्त्रण गर्नु पर्दछ ।

जलयोजनः मौसम, हावापानी र सक्रियता अनुसार पानीको आवश्यकता फरक–फरक पर्दछ । तराई, पहाड, र हिमालमा बस्ने मानिसहरुलाई पानीको मात्रा आवश्यकता भिन्न हुने भएकोले सोही अनुसार पानी पिउनु पर्दछ । साधारणतया दुई देखि साढे दुई लिटरलाई सामान्य मान्न सकिन्छ । जलयोजन लागि पानीको साथ–साथै दाल गेडागुडीको रस, तरकारीको रस, रसिलो फलफूलहरु र जुस पिउन सकिन्छ । फलफूल अनुसार जुसको क्यालोरी निर्भर हुन्छ । तरल पदार्थ रोक लागाउनु पर्ने र पोटासियमलाई नियन्त्रण गर्नु पर्ने बिरामीहरुले डाईटिसिनको सल्लाह लिएर मात्रै सेवन गर्नु होला ।

चिल्लोको सहि छनोटः साधारण तय चिल्लोलाई दुई किसिममा विर्गीकरण गर्ने सकिन्छ, जम्ने र नजम्ने । शरिरलाई नजम्ने चिल्लो पर्याप्त मात्रामा चाहिन्छ । विभिन्न थरीका चिल्लोहरु जस्तै तेल, ध्यू, नौनी, तेलहन, एभोकाडो, विशेष माछा पाईने ओमेगा ३, मध्य नजम्ने चिल्ला स्वास्थ्यको लागि लाभदायी हुन्छ । जम्ने चिल्लो चिज,रातो मासु, नरिवल तेल, ध्यू, आदिमा पाईन्छ । शरीरकाे आवश्यक क्यालोरीको २५ देखि ३० % चिल्लोबाट हुनु पर्दछ जसमध्ये १०% जम्ने चिल्लोको आवश्यक पर्दछ । उदाहरणको लागि १८०० किलो क्यालोरीको ३० % चिल्लो लिंदा ६ ग्राम जम्ने चिल्लो खान सकिन्छ ।

खाना सबैका लागि समान छन् तर आफ्नो आवश्यकता अनुसार उपभोग गर्न सकेमा सुनमा सुगन्ध भने झै हुन्छ ।

(महर्जन नेपाल क्यान्सर अस्पतालकी कन्सल्टेन्ट डाइटिसियन हुन्। )

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।