Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अनिच्छित गर्भ रहनु भन्दा परिवार नियोजनका साधन प्रयोग गर्नु नै उत्तम हैन र ?

अनिच्छित गर्भ रहनु भन्दा परिवार नियोजनका साधन प्रयोग गर्नु नै उत्तम हैन र ?

कल्पना आचार्य \काठमाडौं : नेपालमा परिवार नियोजनका साधन प्रयोग गर्नका लागि अझै पनि धेरै जनाले झन्झट मानेको पाइन्छ । जसका कारण अनिच्छित गर्भ रहन गई मानसिक र शारीरिक तनाव सिर्जना गर्ने गरेका धेरै उदाहरणहरु हाम्रै समाजमा पाइन्छन्। सन्तानको इच्छा पुगेका वा गर्भ राख्न नचाहेका किशोरी तथा महिलाका लागि परिवार नियोजनको साधन नै अति उत्तम उपाय मानिन्छ । सन्तानको इच्छा पुगेकाले स्थायी बन्ध्याकरण गर्न सक्छन् भने सन्तानको योजना केही पर सारेकाले वा सन्तान बनाउनै नचाहेकाले परिवार नियोजनका साधनको प्रयोग गरेर गर्भ रहनबाट बच्न सक्छन् । तर केही समयका लागि मानिएको झन्झटले कहिलेकाही गर्भ रहन गएपछि गरिने असुरक्षित गर्भपतनका कारण महिला तथा किशोरीको ज्यानै जाने गरेको छ। यी कुरालाई मध्यनजर गर्न नसक्दा नेपालमा वर्षेनी कयौं महिलाले ज्यान गुमाउन बाध्य भएका छन्।

सन् २०१६ मा कृपा नामक संस्थाले गरेको एक अध्ययन अनुसार नेपालमा बर्षेनि ३ लाख २३ हजार महिलाले गर्भपतन गर्छन् । जसमध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउँछन् । अर्थात् बर्सेनि एक लाख ८७ हजार ३४० महिला र किशोरी ज्यानको जोखिम मोलेर गर्भपतन गराउँछन् । यसले पनि के देखाउँछ भने परिवार नियोजनका साधन प्रयोग गर्ने कुरामा महिला र पुरुष दुबै जना संवेदनशिल नभएको पाइन्छ । नेपालमा गर्भपतनले कानूनी मान्यता पायो भन्दैमा यसलाई परिवार नियोजनको साधन जस्तै ठान्नु भनेको आफैलाई जोखिममा राख्नु हो।

नेपालको संविधानले पनि परिवार नियोजन सेवालाई प्रत्येक महिलाको प्रजनन स्वास्थ्य अधिकारको रुपमा सुनिश्चित गरेको छ । यो अधिकार अन्तर्गत रहेर महिलाले आफनो परिवारको योजना बनाउन सक्छिन। परिवार नियोजनका साधनको सहि छनोटले अनिच्छित गर्भ राख्नु पर्ने बाध्यताको अन्त हुन्छ । त्यसैले समयमा नै उचित र आफनो लागि सही परिवार नियोजनका साधन सम्बन्धी परामर्श गरी याे सेवा लिनु बुद्धिमानी हुन्छ ।

परिवार व्यवस्थित गर्नका लागि हरेकले परिवार नियोजनका बारेमा जान्नु आवश्यक छ । यसका बारेमा नबुझ्दा एकातिर गर्भपतन गराउनु पर्ने बाध्यता आउन सक्छ भने अर्कातिर जोखिम लिएर भए पनि नचाहिएको बच्चा जन्माउनु पर्ने बाध्यता हुन सक्छ । श्रीमान श्रीमती वा महिला तथा पुरुषको इच्छा अनुसार कति समयको अन्तरमा बच्चा जन्माउने ? कति सन्तान जन्माउने वा नजन्माउने भनी गरिने योजना नै परिवार नियोजन हो । यसका लागि महिला तथा पुरुषले परिवार नियोजनका विभिन्न स्थायी तथा अस्थायी साधनहरु प्रयोग गर्न सक्छन् । नेपालमा सरकारले सबै तहका स्वास्थ्य संस्थामा परिवार नियोजनका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

विश्वभर वर्षेनी २ करोड ५० लाख महिलाले असुरक्षित गर्भपतन गराउने गरेको ल्यान्सेट जर्नलमा उल्लेख छ । जसमा अधिकांश विकोसोन्मुख देशका रहेका छन्। हरेक वर्ष ४४ हजार महिलाको असुरक्षित गर्भपतनका कारण मृत्यु हुने गरेको तथ्य छ । विश्वमा कुल मातृ मृत्युको ७ दशमलब ९ प्रतिशत मृत्यु असुरक्षित गर्भपतनका कारण भएको पाइएकाे छ ।

नेपालको संविधानले परिवार नियोजन सेवालाई प्रत्येक महिलाको प्रजनन स्वास्थ्य अधिकारको रुपमा सुनिश्चित गरेको छ । यो अधिकार अन्तर्गत रहेर महिलाले आफनो परिवारको योजना बनाउन सक्छिन। परिवार नियोजनका साधनको सहि छनोटले अनिच्छित गर्भ राख्नु पर्ने बाध्यताको अन्त हुन्छ । त्यसैले समयमा नै उचित र आफनो लागि सही परिवार नियोजनका साधन सम्बन्धी परामर्श गरी याे सेवा लिनु बुद्धिमानी हुन्छ ।

नेपालमा परिवार नियोजनका क्षेत्रमा ठूलो लगानी भएको भए पनि जम्मा ४३ प्रतिशतले मात्र आधुनिक परिवार नियोजनका साधन प्रयोग गरेको पाइन्छ । परिवार नियोजनका साधनको अपरिपूर्त माग २४ प्रतिशत रहेको छ । सन् २०१६ को नेपाल जनसांखिक स्वास्थ्य सर्वेक्षण अनुसार आधुनिक साधनको प्रयोग दर ४३ प्रतिशत, अपरिपूर्त माग २४ प्रतिशत रहेको पाइएको हो ।

अर्को कुरा नेपालमा परिवार नियोजनका लागि पुरुष खासै अघि नसर्ने गरेको पाइन्छ । स्थायी बन्ध्याकरणमा पनि महिलाहरु नै अघि सर्नु पर्ने बाध्यता रहेको बताउँछन् विज्ञहरु । जबकी महिलाको भन्दा पुरुषको बन्ध्याकरणमा धेरै नै सहज हुने गर्छ । यसैगरी शारीरिक सम्पर्कका बेला कन्डम लगाउन पनि पुरुषहरु त्यति रुचि नराख्ने पाइएको विभिन्न अध्ययनहरुले देखाएका छन्। पुरुषहरु पछि हट्दा महिलाहरु नै परिवार नियोजनका साधन प्रयोग गर्न अघि सर्नु परेको पाइन्छ । जबकी यसको भागिदारमा दुबै समान हुन्छन्।

अनिच्छित गर्भधारण नै गर्भपतन गराउनुपर्ने प्रमुख कारण हो । यदि अनिच्छित गर्भधारणको दर घटाउन सकियो भने यसबाट हुने जोखिम र मातृ मृत्यु दरमा कमी ल्याउन सकिन्छ । त्यसका लागि सही परिवार नियोजनका साधनकाे प्रयोग नै जरुरी हुन्छ ।

४१ प्रतिशत प्रजनन उमेरका महिलालाई मात्र नेपालमा गर्भपतनले कानूनी मान्यता पाएको जानकारी छ । जबकी यसले कानूनी मान्यता पाएको १९ वर्ष भइसकेको छ । नेपालमा कुल मातृमृत्यु मध्ये ७ प्रतिशत मातृ मृत्यु असुरिक्षत गर्भपतनका कारण हुने गरेको सरकारकै तथ्यांकले देखाउँछ ।

गुणस्तरीय परिवार योजना सेवाको पहुँचले आमा र बच्चाको स्वास्थ्यमा मात्र नभई सामाजिक तथा विकासकाे क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने बताउँछन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.आरपी बिच्छा । उनले परिवार योजनामा एक रुपैयाँ लगानी गर्दा स्वास्थ्य र शिक्षाका क्षेत्रमा ३ रुपैयाँ भन्दा बढीको प्रतिफल आउने गरेको समेत प्रमाणित भएको जनाए ।

असुरक्षित शारीरिक सम्पर्कका कारण अनिच्छित गर्भ रहने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थामा असुरक्षित गर्भपतन र असुरक्षित रुपमै सुत्केरी हुने सम्भावना पनि बढ्छ र यसबाट मातृ तथा शिशुको मृत्युदर बढी हुने सम्भावना पनि बढी हुन्छ । यसले स्वास्थ्य क्षेत्रमा दुरगामी असर पार्न सक्छ । त्यसैले पनि शारीरिक सम्पर्क गर्दा यदि गर्भ चाहेको हैन भने परिवार नियोजनका साधन प्रयोग गर्न झन्झट नमानौं यसबारे आफनो पार्टनरसँग खुलेर कुरा गरौं ।
जसले गर्दा पछि आउने गलत परिणामबाट बच्न सकियोस्। इच्छाविपरीत रहेका गर्भले महिलाहरूलाई मानसिक र शारीरिक असर समेत गर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन्। अनिच्छित गर्भधारण नै गर्भपतन गराउनुपर्ने प्रमुख कारण हो । यदि अनिच्छित गर्भधारणको दर घटाउन सकियो भने यसबाट हुने जोखिम र मातृ मृत्यु दरमा कमी ल्याउन सकिन्छ । त्यसका लागि सही परिवार नियोजनका साधनकाे प्रयोग नै जरुरी हुन्छ ।

परिवार योजना सेवालाई जोडीले उचित र ठीक समयमा अपनाउन सकेमा यसबाट आमा, नवजात शिशु, बाल स्वास्थ्यमा सुधार ल्याउन तथा आर्थिक सुधार गरी एचआइभी, संक्रमण रोकथाम, लैगिंक समानताका लागि एउटा महत्वपूर्ण उपाय साबित हुनसक्छ । परिवार योजना कार्यक्रमको गुणस्तरीय र प्रभावकारी कार्यान्वयनले १० प्रतिशत बाल मृत्युदर र ३० प्रतिशतसम्म मातृ मृत्युदर घटेको विभिन्न तथ्यहरुले देखाइसकेका छन्। त्यसैले पनि एक महिला, जोडी वा परिवारलाई मात्र परिवार नियोजन आवश्यक हुने भन्दा पनि देशकै आर्थिक विकासका लागि पनि परिवार नियोजनको अति नै महत्वपूर्ण भूमिका हुन आउँछ । सुखी परिवारका लागि परिवार नियोजनका साधनको प्रयोग गर्न नहिच्किचाऔं । परिवार नियोजन देश विकासका लागि उत्कृष्ट लगानी हो भने यसले जीवन पनि बचाउँछ भन्ने कुराको हेक्का राखौं ।