Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना कालमा झनै बढ्यो ढाड दुख्ने समस्या

कोरोना कालमा झनै बढ्यो ढाड दुख्ने समस्या

हेल्थ टिभी अनलाइन : कोरोना कालमा ढाड दुख्ने समस्या बढेको भन्दा धेरैलाई अचम्म लाग्नसक्छ । कोरोना भाइरस र ढाड दुख्नुमा के सम्बन्ध छ भन्ने पनि लाग्नसक्छ । तर यहाँ चर्चा गर्न खोजिएको कुरा हो कोरोनाका कारण गरिएको अनलाइन कक्षा तथा वर्क फ्रम होम कन्सेप्टका कारण धेरै जना घरमै छन् जसका कारण प्रयाप्त हिंडाई र शारीरिक गतिविधि कम हुँदा यसको असर ढाड तथा नशामा समेत पुग्न गएको हो ।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन्दै दुईपटक गरेर झण्डै ५ महिना त लकडाउन नै गर्यो यो समयमा तपाइँ हामी धेरै जना घरमै भयौं । कोरोनाको डरका कारण शारीरिक गतिविधीलाई पनि ध्यान दिइएन। कयौंले गरिरहेका व्यायामहरु पनि छोडेका छन्। जसले गर्दा शरीर निष्क्रीय भएर मसलहरु कमजाे भएर जाम हुने तथा ढाड दुख्ने अथवा सड्किने समस्या बढ्दै गएको छ । हामीले अहिले लकडाउन खुलेपछि हाम्रो स्पार्क अस्पतालमा हरेक दुई जनामध्ये एक जनामा ढाड सड्कीएर समस्या भएर आएका बिरामी हेरिरहेका छौं । लामो समय शरीर निष्क्रीय हुँदा सामान्य पानीको बाल्टी उठाउँदा पनि ढाड सड्किने समस्या बढेर आउने बिरामीको संख्या ह्वात्तै बढेको छ ।

अर्को कुरा अफिसको काम घरबाटै गर्नेहरुले पनि लामो समयसम्म पोजिसन नमिलाई एकै स्थानमा बसेर काम गर्दा पनि ढाडको समस्या देखिएको छ । बच्चाहरुको लामो समयसम्मको अनलाइन कक्षाले उनीहरुको ढाडमा पनि समस्या हुने थालेको छ । कतिपय बच्चाहरु बेडमा पल्टेर वा पोजिसन मिलाएर नबस्दा यसले उनीहरुको ढाडको बनावट नै बांगिने समस्या देखिन थालेको छ । कतिपय बच्चाहरु अनलाइन कक्षा नहुँदा पनि लामो समय त्यही स्थानमा बसेर सोही पोजिसनमा गेम खेल्ने वा मोबाइल हेर्ने गरिरन्छन् जसले गर्दा उनीहरुमा पनि समस्या देखिन थालेको हो । जबकी जोकोही पनि एकै स्थानमा धेरै बेरसम्म बस्न हुँदैन। बसेको स्थानबाट एक एक घण्टामा उठेर ५ \१० मिनेट यताउता गर्ने वा जिउ तन्काउने गर्न जरुरी हुन्छ ।

कोरोना महामारीसँग डराएर कुनै पनि शारीरिक व्यायामहरु नगर्दा झनै मसलहरु जाम भएर कुनै पनि सामान्य काम गर्दा ढाड सड्कीने वा दुख्ने हुनसक्छ । लामाे समय रेस्ट गरेकाे शरीरले एक्कासी काम गर्दा मसलले थेग्न सक्दैन र समस्या देखिन थाल्छ । यसका साथै यो बेला धेरै जना घरमै भएका बेला खानाको मात्रा पनि बढ्ने गरेको छ । एकातिर खाना धेरै हुँदा मोटोपना पनि बढेको छ । मोटोपनामा पनि ढाड दुख्ने सड्कीने समस्या बढी हुन्छ । ढाड सड्केर आएका मध्ये २० प्रतिशतमा त नशा च्यापिएकाे समस्या देखिएको छ ।

त्यसैले जस्तोसुकै अवस्थामा पनि शारीरिक रुपमा सक्रिय रहन जरुरी हुन्छ । एक्सरसाइज गर्न बाहिर नै निस्कन पर्छ भन्ने छैन् । आफनै घर वरपर पनि यताउता हिड्न, डोरी खोल्न, दौडिने गर्न सकिन्छ । जसले गर्दा ढाड दुख्ने तथा अन्य मसलहरु कमजोर भएर देखिने लक्षणहरुबाट बच्न सकिन्छ । यसका साथै पानी प्रसस्त पिउने, स्वस्थकर खानेकुरा खाने, भिटामिन डीका लागि बिहानकाे घाम ताप्न जरूरी छ ।

  • डा.सुनिल पाैडेल

    दुखाइ रोग विशेषज्ञ डा. पाैडेल स्पार्क हेल्थ हाेम अस्पतालका मेडिकल डाइरेक्टर हुन्।