Health TV Online
Health TV Online

केशमा चाया परेर दिक्क हुनुभएको छ?, यसरी पाउनुहोस् मुक्ति

केशमा चाया परेर दिक्क हुनुभएको छ?, यसरी पाउनुहोस् मुक्ति

केशमा चाया पर्नु आम मानिसको समस्या हो। बालिबालिकादेखि युवायुवती तथा वृद्धवृद्धा सबैलाई यो समस्याले सताएको पाइन्छ। चाया सबैको केशमा हुन्छ। कसैमा सामान्य हुन्छ कसैमा धेरै। चाया कतिपयको प्रतिष्ठाको विषय नै हुन्छ। कतिपय युवायुवती चाया परेकै कारण बाहिर जमघटमा निस्किन हिच्किचाउँछन्।

बुझ्नुपर्ने कुरा के भने चाया कुनै कीटाणु वा रोग होइन। यो त हाम्रै शरीरको ग्रन्थीबाट निस्किने विकार हो। केशको सरसफाइमा ध्यान नपुग्दा यसले दुःख दिने हो। यसका लागि चाया कसरी उत्पन्न हुन्छ भन्ने बुझ्न जरुरी छ।

टाउकोमा रौँ (केश) रहेका ठाउँमा चिल्लो निकाल्ने ग्रन्थी प्रशस्त मात्रामा हुन्छ। त्यही चिल्लो पदार्थ सुकेपछि पत्र पत्र बन्छ। चाया दुई किसिमको हुन्छ– एउटा चिल्लो र लिसो प्रकारको, अर्को सुख्खा फुरफुर उड्ने। प्रायः बच्चाहरूमा एक किसिमको पाप्रा तालुमा लागेको देखिन्छ भने युवायुवतीमा ग्रन्थीहरु धेरै सक्रिय हुने कारण बढी देखिन्छ।

चायाको उपचार गर्न मानिसहरुले बजारमा पाइने विभिन्न किसिमका औषधि, तेल र स्याम्पु प्रयोग गर्ने गरेको पाइन्छ। बजारमा पाइने जस्तोसुकै सेम्पु वा तेलले यो समस्या हटाउन सक्दैन। बरु केशमा विभिन्न समस्या थप्न सक्छ। यसबाट मुक्ति पाउने उपाय सरसफाइ नै हो। चायाको समस्या धेरै नै छ भने दैनिक रूपमा टाउको सफा गर्नुपर्छ। चाया हटाउन विशेष खालको मल्हम वा औषधिको प्रयोग गर्नुपर्ने पनि हुन सक्छ। केश कोर्दा पनि नरम किसिमको काइँयो प्रयोग गर्नुपर्छ।

धेरै चाया पर्ने, खसेर कपडामा समेत सेतै देखिने र छालामा पाप्रा नै जम्ने किसिमका समस्या देखिए चिकित्सककोमा जानुपर्छ। फंगल इन्फेक्सन देखिए वा चिलाइरहने समस्या आए ढिलो नगरी छालारोग विशेषज्ञसँग परामर्श लिनु वा जँचाउनु उत्तम हुन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?